आज तिहारको कुनै पर्व छैन: पञ्चाङ्ग निर्णायक समिति
नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज तिहारको कुनै पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ।
औँसीसहित कार्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा शनिबार परेको पनि समितिले तिहारका सम्बन्धमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ। आज तिहारको कुनै पर्व नपरे पनि औँसी आफैँमा पर्व हो। प्रत्येक महिनाको औँसीलाई पर्व मानिन्छ। औँसीमा विशेषगरी पितृकर्म हुने गर्छ।
यो वर्ष तिथिको घटबढका कारण औँसीमा सूर्योदय भएको आजको दिन कुनै पर्व नपरेको समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिए। तिथिका आधारमा यस्तो संरचना केही वर्षका अन्तरालमा हुने गरेको उनको भनाई छ।
यस्तो संरचना परेकैले पाँच दिनमा सकिने दोस्रो चाड तिहार यस वर्ष छ दिनसम्म लम्बिएको छ। कार्तिक कृष्ण त्रयोदशीका द...








