
पाल्पा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेवा थप प्रभावकारी हुने बताएका छन् ।
तानसेन नगरपालिकाको आयोजना तथा एसिया फाउण्डेसनको सहयोगमा शनिबारदेखि तानसेनमा सुरु भएको अन्तरपालिका सिकाइ आदानप्रदान कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले स्थानीय तहबीच अनुभव साटासाट गर्ने र एकअर्काबाट सिक्ने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिए ।
उनले विभिन्न पालिकाले आफ्नो क्षेत्रमा हासिल गरेका उपलब्धि र अपनाएका सफल कार्यशैली अन्य पालिकाले पनि अवलम्बन गर्न सके विकास र सुशासनमा सकारात्मक परिणाम प्राप्त हुने बताए ।
मुख्यमन्त्री आचार्यले संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय तथा सहकार्य हुन नसके नागरिकले अपेक्षा गरेअनुसार सेवा प्रवाह गर्न कठिन हुने उल्लेख गरे । तीनै तहका सरकारबीच आपसी समझदारी, समन्वय र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
स्थानीय सरकार सबलीकरण कार्यक्रमअन्तर्गत आयोजित अन्तरपालिका सिकाइ आदानप्रदान कार्यक्रममा दमक, मिथिला, भीमेश्वर, वालिङ, गल्याङ, तानसेन, टीकापुर र भजनी नगरपालिकाका प्रतिनिधि सहभागी छन् ।
दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा विभिन्न पालिकाले गरेका असल अभ्यास, हासिल गरेका उपलब्धि, कार्यानुभव तथा स्थानीय सरकारबीचको सहकार्यका विषयमा छलफल भइरहेको आयोजकले जनाएको छ । कार्यक्रम आइतबार सम्पन्न हुनेछ ।