
काठमाडौं
होल्डिङ सेन्टर खाली गर्न प्रशासनले दिएको समयसीमा नजिकिँदै गर्दा भक्तपुरको बोडेमा आश्रय लिइरहेका सुकुम्बासी परिवारको दैनिकी थप कष्टकर बनेको छ । सरकारले शुक्रबारदेखि खाना उपलब्ध गराउन बन्द गरेपछि त्यहाँ रहेका केही परिवार भोकै बस्न बाध्य भएका छन् भने बालबालिकाको विद्यालय जाने क्रमसमेत प्रभावित भएको छ ।
यसअघि शान्ति सेवा गृहले उपलब्ध गराउँदै आएको खाना शुक्रबारदेखि रोकिएको हो । सरकारले शुक्रबारदेखि होल्डिङ सेन्टर खाली गर्न सूचना जारी गरेसँगै खाना पनि बन्द भएपछि परिवारहरू थप समस्यामा परेका हुन् । केही परिवारले आफैँ खानाको व्यवस्था गरे पनि केही भोकै बस्नुपरेको होल्डिङ सेन्टरमा रहेका सुमन चौधरीले बताए । ‘कसैले आफैँ व्यवस्थापन गरे । कोही भोकै छन्,’ उनले भने ।
खानाको व्यवस्था नभएपछि विद्यालय जाने उमेरका बालबालिकासमेत शुक्रबार विद्यालय जान सकेनन् । होल्डिङ सेन्टरमा रहेका ११ जना विद्यालय जाने उमेरका बालबालिकामध्ये तीन जना मात्रै विद्यालय गएको कृष्णमाया राइगाइले बताइन् । बाँकी आठ जना खाना र बसोबासको अन्योलका कारण विद्यालय जानबाट रोकिएका हुन् ।
‘निकाल्ने भन्ने त्रासले नातानातिनीलाई स्कुल पठाउन पाइएन । यहाँ ११ जना स्कुल जाने बालबालिका छन् । तीन जना गएका छन्, आठ जना जानै पाएनन् । भोकै पठाउन पनि सकिएन,’ उनले भनिन् ।
काठमाडौं उपत्यकाका नदी किनारका बस्तीबाट हटाइएका परिवारलाई बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा राखिएको थियो । तर त्यहाँबाट पनि हट्नुपर्ने भएपछि उनीहरू कहाँ जाने भन्ने अन्योलमा छन् । प्रशासनले जिल्ला प्रशासन कार्यालय भक्तपुरमार्फत बुधबार लिखित सूचना टाँसेर मंसिर ११ गते दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो । यसअघि मंसिर २ गते एक साताभित्र ठाउँ छाड्न मौखिक निर्देशन दिइएको थियो । केही परिवारले होल्डिङ सेन्टर छाडे पनि अहिले त्यहाँ १९ परिवारका ५९ जना बसिरहेका छन् ।
जिल्ला प्रशासन कार्यालयले भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५२ क र ५२ ख अनुसार गरेको छानबिनमा सात परिवार भूमिहीन नभएको निष्कर्ष निकालेको छ । तीन पुस्ताभित्र जग्गाजमिन रहेको वा २०६६ माघ २८ गतेपछि जग्गा कारोबार गरेको पाइएमा भूमिहीन नमानिने प्रशासनको भनाइ छ ।
बाँकी १२ परिवारको हकमा भने जग्गाजमिन नदेखिएको भन्दै उनीहरूलाई भूमिहीनको निस्सा दिने र स्थायी ठेगाना भएका जिल्लाका भूमि समस्या समाधान समितिमार्फत जग्गाको अवस्था यकिन गर्ने प्रक्रिया अघि बढाउने प्रशासनले जनाएको छ । भूमिहीन देखिएका परिवारलाई होल्डिङ सेन्टर छाडेर स्थायी ठेगाना भएको जिल्लामा जान पनि भनिएको छ । त्यसका लागि एक महिनाको घरभाडाबापत १५ हजार रूपैयाँ र यसअघि व्यवस्थापनका लागि तोकिएको २५ हजार रूपैयाँसमेत उपलब्ध गराइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले बताएका छन् ।
तर होल्डिङ सेन्टरमा रहेका परिवारले भने लालपुर्जा वा स्थायी बसोबासको व्यवस्था नभएसम्म ठाउँ नछाड्ने अडान राख्दै आएका छन् । प्रशासनले उपलब्ध गराएको आर्थिक सहयोगले तत्कालको समस्या समाधान भए पनि स्थायी बसोबासको टुंगो नलागेसम्म आफूहरूको भविष्य सुरक्षित नहुने उनीहरूको चिन्ता छ ।
प्रशासनको समयसीमा र परिवारको अडानबीच बोडेमा रहेका ५९ जनाको आगामी बसोबास अन्योलमा परेको छ । खाना बन्द भएपछि दैनिक गुजारा र बालबालिकाको पढाइसमेत प्रभावित भएको छ । स्थायी बसोबासको व्यवस्था नभएसम्म कहाँ जाने भन्ने प्रश्नको जवाफ उनीहरूले पाउन सकेका छैनन् ।