अख्तियार विधेयकको ऐनामा कानुन निर्माणको परिदृश्य
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक दुई महिनादेखि रोकिएको छ । विवादित विषयमा सहमति जुटाउन गठित हृदयराम थानी नेतृत्वको उपसमितिले सर्वसम्मतिको प्रतिवेदन समितिमा बुझाएको भए पनि सभापति रामहरि खतिवडाले सन्देहास्पद भूमिका निर्वाह गरिरहेका छन् ।
उनले सभापतिका रूपमा विधेयकलाई थप प्रक्रियामा नलैजानुको औचित्य स्थापित गर्न पनि सकेका छैनन् । जबकि, उनी नेतृत्वको समितिले यही विधेयकसँगै अघि बढेको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयकको प्रतिवेदन भने प्रतिनिधिसभामा पेस गरिसकेको छ ।
अख्तियार विधेयक समितिको कमजोर निर्णय क्षमता, विधेयकहरू वर्षौंसम्म संसदीय प्रक्रियामा अल्झिने प्रवृत्ति, कानुन निर्माणमा संसद्को सार्वभौम भूमिका र सरकारको हस्तक्षेपकारी चासो प्रतिबिम्बित गर्ने उदाहरण बनेको छ । यो विधेयकको आलोकमा कानुन निर्माणमा संस...








