ट्रम्पविरुद्ध अमेरिका र युरोपभरि फैलियो ‘नो किंग्स’ प्रदर्शन
काठमाडौँ
इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच दुई वर्षदेखि चलिरहेको युद्ध रोक्न मियो बनेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक साताअघि मात्रै सर्वत्र चर्चा भएको थियो । कैयौं देशले उनलाई नोबेल शान्ति पुरस्कार दिनुपर्नेसमेत बताएका थिए ।तर यो प्रशंसा एक साता पनि टिक्न सकेन । यति बेला अमेरिकामा उनै ट्रम्पविरुद्ध लाखौं सर्वसाधारण सडकमा उत्रिएका छन् । आइतबार अमेरिकाका मात्रै २ हजार ६ सयभन्दा धेरै ठाउँमा ट्रम्पको विरोधमा प्रदर्शन भएको छ ।
यस्ता र्यालीमा अमेरिकाभित्र करिब ७० लाख व्यक्ति सहभागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यति मात्र होइन, युरोप र ल्याटिन अमेरिकी देशमा पनि ट्रम्पविरुद्ध हजारौं नागरिक सडकमा उत्रिएका छन् । कोलम्बियामा त अमेरिकी दूतावासमा आक्रमण नै भएको छ । प्रदर्शनकारीले अमेरिकी दूतावासमा तोडफोड र आगजनीको प्रयाससमेत गरेका छन् । कैयौं प्रदर...








