
बुटवल
विकासको बढ्दो स्वरूप संगै मानिसलाई इतिहास ,प्रकृति ,धार्मिक, सांस्कृतिक ,पुरातात्विक जस्ता विषयहरु अत्यन्त महत्वपूर्ण हुन्छन्।
मानिसले यी विविध पक्षहरूसँगै रमाउने वातावरणको अपेक्षा राखेको हुन्छ। जसका लागि प्राकृतिक सम्पदाहरू, धार्मिक सम्पदाहरू, ऐतिहासिक सम्पदाहरु, सांस्कृतिक सम्पदाहरु, पुरातात्विक सम्पदाहरु लाई आधुनिक प्रविधिसँगै श्रव्य, दृश्य अध्ययन , अवलोकन गरी मानिस रमाउन चाहन्छन्।
जसका लागि आधुनिक प्रविधिमा यात्रा गरी प्रकृतिको मजा लिँदै धार्मिक, सांस्कृतिक, पुरातात्विक , प्राकृतिक पक्षहरूको अवलोकन गर्दै आनन्दित दिने गन्तव्य बनेको छ केवलकार।
रूपन्देहीको बुटवल उपमहानगरपालिका वार्ड नं १ देउराली डाँडाबाट पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वार्ड नम्बर २ नुवाकोट गढीसम्म पुग्ने २ कि.मि. दुरीको सिद्धार्थ केवलकार सुचारु भईरहेको छ। केवलकारमा सामुद्रिक सतहदेखि ८ सय मिटर उचाइमा रहेको नुवाकोट गढी रहेको छ। केवलकारको प्रस्थान बिन्दुबाट स्टेसनको अवतरण बिन्दुमा पुग्दा करिब ५ डिग्री सेल्सियस तापक्रम फरक पर्छ। रुपन्देही लगायत नेपालको तराई, विभिन्न वरिपरिका जिल्ला ,बाहिरी जिल्ला ,राजधानी लगायत अन्य शहरसँगै भारतका उत्तरी क्षेत्रहरू, स्वदेशी तथा विदेशीहरू लागि समेत यो अति अनुकूल र चौतर्फी हिसाबले उपयोगी वनेको छ।

नुवाकोट गढीमा मनोरम ,शान्त वातावरण, हरियाली र शीतलताको अनौठो आनन्द लिन सकिन्छ। यहाँ बुटवलको भन्दा करिब ५ डिग्री सेल्सियस तापक्रम कम छ। राजा शुद्धोधनका गुरु त्रिकालदर्शी त्रिकाल देवलको यहाँ स्थित आश्रमबाट विश्व शान्तिका अग्रदुत गौतम बुद्धले बाल्यकालको शिक्षा आर्जन गरेको स्थल मात्र नभई सेनकालिन कालभैरव कामना मन्दिर तथा नेपाली वीरताको गाथासँग जोडिएको गढी, तोपहाने डाँडा ,भ्युटार तथा रानीकुवा जस्ता ऐतिहासिक धार्मिक एवं प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यो स्थान आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि महत्त्वपूर्ण गन्तव्यको रुपमा रहेको छ। यस स्थानबाट उत्तरतर्फ हिमशृङ्खलाबद्ध रहेको हिमाल पहाड र सुन्दर बस्ती देख्न सकिन्छ। दक्षिणतर्फ बुटवल भैरहवा लगायत तराईका विशाल भूभाग र सुन्दर सहर एकै नजरमा अवलोकन गर्न सकिन्छ।
गढी राष्ट्रिय गौरव बोकेको सम्पदा हो। परापूर्वकालदेखि नै सामरिक एवं पुरातात्विक महत्व राख्दै आएको यस ऐतिहासिक गढीको निर्माण सेनवंशीय शासनकालमा भएको हो। यसै कालखण्डमा यस क्षेत्रमा अन्य ऐतिहासिक सम्पदाहरूको समेत निर्माण भएको पाइन्छ ।
नव नेपाल निर्माणको महान अभियानको यात्रामा समेत यस गढीको चर्चा इतिहासको पानामा सुनौला अक्षले लेखिएका छन्। नेपाल र इस्ट इन्डिया कम्पनीको सरकारबीच भएको युद्धमा समेत कँर्नेल उजिर सिंह थापाको नेतृत्वमा रहेको फौजले नुवाकोट गढीलाई मुख्य आवासीय र रणनैतिक किल्लाका रूपमा प्रयोग गरी बुटवल जितगढीबाट लडेको युद्धमा साम्राज्यवादको विस्तार गर्न अघि बढेका बेलायती फौजलाई हराई नेपालीहरूको बहादुरीको पहिचान दिएका थिए। यसरी इतिहासको ती महान तीन कालखण्डमा प्रयोग भएको एकमात्र यस नुवाकोट गढीसँग घनिभूत सम्बन्ध रहेका हाम्रा वीरपूर्वजहरूको सम्मान तथा इतिहाससम्बन्धी खोज एवं अनुसन्धान गर्न नुवाकोट गढी लगायत काठेगढी डाँडा, तोपहाने डाँडा ,नुवाकोट भन्ज्याङ ,उजिरसिंह पार्क तथा रानीकुवा महत्वपूर्ण स्थान साबित भएको स्थान हो।
दिपंकर बुद्धको भविष्यवाणीको संयोगले महा तपस्वी सुमेध ब्राह्मण बुद्धत्वको अविछिन्न परम्परामा साधना गरी शाक्यमुनि गौतम बुद्धको रूपमा पुनर्जन्म हुनुभएको बुद्ध दर्शनमा उल्लेख गरिएको छ ।
करिब २५ सय ६९ वर्षअघि कपिलवस्तुका राजा शुद्धोधनकी रानी मायावती आफ्नो दरबार तिलौराकोटबाट वैशाख पूर्णिमाका दिन देवदह माइत जाने क्रममा लुम्बिनी उद्यानमा आइपुग्दा मङ्गल सालको छहारीमा सिद्धार्थ गौतमको जन्म भएको थियो। तत्पश्चात उत्तरतर्फ सात पाइला हिँडेर “अग्गोहमस्मी लोकस्य “अर्थात् “संसारको अग्रपुरुष म नै हुँ”भनी घोषणा गर्नुभयो। उहाँको त्यस सात पाइलाप्रतिको सम्मान स्वरूप यस केवलकारको तल्लो स्टेसनमा ६ वटा कमलको फूल र माथिल्लो स्टेसनमा सातौं कमलको फूल निर्माण गरिएको छ।
यस केवलकारको माथिल्लो स्टेसन नुवाकोटमा सेनकालीन काल भैरवकामना मन्दिर छ, जुन सेन राजाहरूको आराध्यदेव हुन्। यहाँ काल भैरवकामनाको दर्शन गरी मनोकामना मागियो भने मागेको फल प्राप्त हुन्छ,भाकल गरी गरेको मङ्गलकार्यबाट सिद्धि प्राप्त हुन्छ। भने जनविश्वास मानिदै आएको छ।
पुरातात्विक सम्पदा सूचीमा सूचीकृत सेनकालीन काल भैरव कामना मन्दिर ,नुवाकोटगढी, कोटघर लगायतका धार्मिक पर्यटकीय स्थलहरूको अवलोकनको लागि आवतजावत गर्न यस केवलकारले सहज गरेको छ। यहाँ निर्मित दरबार र आम जनता समेतले प्रयोग गर्ने रानीकुवाले राजदरबार र जनता बीचको सम्बन्ध दर्शाउँछ ।सांस्कृतिक डबलीले सामाजिक जीवनसँगको सामिप्यताको उदाहरण दिएको छ। मध्यपश्चिम क्षेत्रको पहाडी भूभागबाट नुनदेखि सुनसम्म किन्न तराई आउने तथा गोरखपुर केन्द्रमा भर्ती हुन जाने ऐतिहासिक तथा प्राचीन पदमार्ग नजिक तथा खस्यौली बटौली बजारको सिरमा निर्मित धार्मिक तथा सांस्कृतिक सम्पदाको बगैंचामा सहजै जान सकिने सिंढी साबित भएको यस सिद्धार्थ केवलकारले छिमेकी मुलुक भारतसँगको प्राचीन कालदेखिको सम्बन्धलाई नयाँ पुस्ता समक्ष हस्तान्तरण गराउने तथा सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गर्न रोज्नुभएको मार्गलाई स्मरण गराउने सत्यतामा रहेको छ। भगवान गौतम बुद्धका कुलगुरु ऋषि काल देवलको क्षेत्र एवं ऐतिहासिक नुवाकोट गढी र काल भैरवकामना मन्दिर परिसरमा बृहत केवलकार परियोजना बनाई प्रदेशकै आर्थिक गतिविधिलाई सहयोग पुर्याउन योगदान दिइरहेको सिद्धार्थ केवलकार महत्वपूर्ण सम्पत्तिको रुपमा रहेको छ।