प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको शपथग्रहण, कुलमानलाई हटाउने निर्णयमा माओवादीको विरोध
काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दुई हप्ताभित्र उद्योगधन्दामा भइरहेको लोडशेडिङको समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनुभएको छ । हिजो प्राधिकरणको कार्यभार सम्हाल्दै शाक्यले भारतबाट बिजुली ल्याएर भए पनि लोडसेडिङ हुन नदिने बताउनुभयो ।
नवनियुक्त कार्यकारी निर्देशक शाक्यलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालयमा शपथग्रहण गराउनुभयो । शाक्य चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको हो ।
शपथग्रहण कार्यक्रममा ऊर्जामन्त्री खड्काले उद्योगीसँग प्राधिकरणले लिनुपर्ने बक्यौता मन्त्रिपरिषद्को निर्णयलाईसमेत मध्यनजर गरी तत्काल असुल गर्ने प्रक्रिया अगाडि बढाउन एवम् ग्राहकलाई लोडशेडिङ नहुने अवस्था बनाउन निर्देशन दिनुभयो । सरकारले प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएको हिजो औपचारिक जानकारी समेत गराएको...








