तराईमा अत्यधिक गर्मीसँगै तातो लहरको जोखिम
काठमाण्डौ - जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहर (हीट वेभ) तथा अत्यधिक गर्मी हुने भएकाले सावधानी अपनाउन आग्रह गरेका छन् ।
विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा योभन्दा बढी रहने सम्भावना छ । हिजो भैरहवाको तापक्रम ४१ डिग्री तापक्रम र नेपालगञ्जको ४० डिग्री सेल्सियस थियो । मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै ठाउँमा तीन दिनसम्म मध्यम तातो लहर हुने विभागले जनाएको छ ।
विभागले बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी बर्दघाट सुस्तापश्चिम, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीका नागरिकलाई तातो हावा चल्न सक्ने भएकाले सतर्क रहन अनुरोध गरेको छ । ...







