जनकपुर–अयोध्या रेल सेवा व्यावसायिक रूपमा सुरु



काठमाडौं
नेपाल र भारतबीच धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यले सुरु गरिएको सरयू–कमला एक्सप्रेस रेल सेवा आजदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको छ । जनकपुरधाम र भारतको अयोध्यालाई जोड्ने यस रेल सेवाबाट दुवै देशका तीर्थयात्री तथा सर्वसाधारणलाई आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ ।
उद्घाटन भएको एक सातापछि रेल सेवा नियमित रूपमा सञ्चालनमा आएको नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए । उनका अनुसार अयोध्याबाट शनिबार बिहान जनकपुरधाम आइपुगेको रेलमा जनकपुरधामबाट अयोध्या जान ४०० जनाले टिकट लिएका छन् ।
टिकट लिएका यात्रुलाई लिएर रेल जनकपुरधामबाट अयोध्याका लागि प्रस्थान गरेको उनले बताए । रेल सेवा व्यावसायिक रूपमा सुरु भएसँगै यात्रुलाई टिकट लिन पनि सहज हुने विश्वास गरिएको छ ।

अब यात्रुले भारतको अनलाइन टिकट प्रणालीबाट टिकट बुक गर्न सक्नेछन् । नेपालबाटै टिकट लिन चाहनेले भने जनकपुरधाम रेल्वे स्टेसनबाट खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

विभिन्न श्रेणीका डिब्बा राखिएकाले यात्रुले आफ्नो आवश्यकता र आर्थिक अवस्थाअनुसार टिकट छनोट गर्न सक्नेछन् ।

हप्तामा दुई दिन सञ्चालन हुने
नेपाल रेल्वे कम्पनीका अनुसार रेल प्रत्येक सोमबार बिहान ५ः३० बजे अयोध्याबाट जनकपुरधामका लागि प्रस्थान गर्नेछ । त्यसैगरी, प्रत्येक शनिबार दिउँसो १ः१० बजे जनकपुरधामबाट अयोध्याका लागि छुट्नेछ ।

रेलमा यात्रा गर्न नेपाली नागरिकले नेपाल सरकारबाट जारी गरेको परिचयपत्रमध्ये कुनै एक देखाउनुपर्नेछ । यात्रुले नेपाली नागरिकता, राहदानी वा मतदाता परिचयपत्रका आधारमा टिकट लिन सक्नेछन् ।

जनकपुरधाम–अयोध्या रेलमा कुल १७ वटा डिब्बा रहनेछन् । तीमध्ये वातानुकूलित दोस्रो श्रेणीका दुई, वातानुकूलित तेस्रो श्रेणीका तीन, तेस्रो इकोनोमी श्रेणीका तीन, स्लिपर श्रेणीका सात र एसएलआरका दुई डिब्बा रहेका छन् ।

६०४ किलोमिटर दूरी पार गर्दै अयोध्या पुग्ने
जनकपुरधामदेखि अयोध्यासम्म करिब ६०४ किलोमिटर दूरी रहेको छ । रेलले भारतको बिहार र उत्तर प्रदेशका विभिन्न प्रमुख सहर हुँदै यात्रा पूरा गर्नेछ ।

रेलमार्गमा जयनगर, मधुवनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्याधामलगायत स्थानमा यात्रु चढ्ने र ओर्लने व्यवस्था गरिएको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक पराजुलीले बताए ।

रेलमार्गमा पर्ने विभिन्न सहरका बासिन्दाले समेत यस सेवाबाट लाभ लिन सक्ने कानुन व्यवसायी राजकुमार महासेठले बताए । उनका अनुसार यसले जनकपुरधाम र अयोध्याका यात्रुलाई मात्र नभई भारतका विभिन्न सहरमा आवतजावत गर्ने यात्रुलाई पनि सुविधा पुग्नेछ ।

विशेषगरी माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् श्रीरामको जन्मभूमि अयोध्याबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध रहेको छ । रामायण संस्कृतिसँग जोडिएका यी दुई धार्मिक स्थललाई रेल सेवामार्फत जोड्दा धार्मिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नेपाल र भारतबीच लामो समयदेखि कायम धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई थप बलियो बनाउन पनि सरयू–कमला एक्सप्रेसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

छुटाउनुभयो कि ?

गुल्मीमा अवैध घरेलु मदिरा तथा कच्चा पदार्थ बरामद

गुल्मीमा अवैध घरेलु मदिरा तथा कच्चा पदार्थ बरामद

गुल्मीगुल्मीको रेसुङ्गा नगरपालिका–२, उदिनढुङ्गास्थित एक होटलबाट प्रहरीले अवैध घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने कच्चा ...
जनकपुर–अयोध्या रेल सेवा व्यावसायिक रूपमा सुरु

जनकपुर–अयोध्या रेल सेवा व्यावसायिक रूपमा सुरु

काठमाडौंनेपाल र भारतबीच धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यले सुरु गरिएको सरयू–कमला एक्सप्रेस रेल सेवा...
सभामुख अर्याल बुटवलमा: लायन्स आँखा अस्पतालको निरीक्षण

सभामुख अर्याल बुटवलमा: लायन्स आँखा अस्पतालको निरीक्षण

बुटवलप्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी अर्याल) ले बुटवल लायन्स आँखा अस्पतालको निरीक्षण गर्दै स्थानीयस्तरमै गुणस्तर...
तिलोत्तमा मेलामा दर्शकको घुइँचो : आयोजक उत्साहित

तिलोत्तमा मेलामा दर्शकको घुइँचो : आयोजक उत्साहित

रुपन्देहीरुपन्देहीको तिलोत्तमामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा दर्शकको आकर्षण बढ्दै गएको छ । शनिबार मेलामा भएको उल्ल...