
गुल्मी
गुल्मीको रेसुङ्गा नगरपालिका–२, उदिनढुङ्गास्थित एक होटलबाट प्रहरीले अवैध घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा सनिबार बेलुकी कमला श्रीसले सञ्चालन गर्दै आएको ‘अनमोल होटल’ मा छापा मारेको हो। उक्त क्रममा २५ लिटर तयारी घरेलु मदिरा र मदिरा उत्पादनमा प्रयोग गरिने ३५० लिटर कच्चा पदार्थ बरामद गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बरामद गरिएको मदिरा तथा कच्चा पदार्थ आवश्यक प्रक्रिया पूरा गरी नष्ट गरिने जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।