सभामुख अर्याल बुटवलमा: लायन्स आँखा अस्पतालको निरीक्षण



बुटवल
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी अर्याल) ले बुटवल लायन्स आँखा अस्पतालको निरीक्षण गर्दै स्थानीयस्तरमै गुणस्तरीय र विशेषज्ञ आँखा उपचार सेवा विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।

शनिबार अस्पतालको निरीक्षणका क्रममा सभामुख अर्यालले आँखाको परीक्षणसमेत गराएका थिए । उनको स्वागतमा अस्पतालले औपचारिक कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा बोल्दै सभामुख अर्यालले सामान्यदेखि जटिल प्रकृतिका आँखाको उपचारका लागि समेत बुटवलका नागरिक अन्य सहर धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए । त्यसका लागि अस्पताललाई आधुनिक प्रविधि, आवश्यक उपकरण र दक्ष जनशक्तिसहित सुविधासम्पन्न बनाउनुपर्ने उनको भनाइ थियो ।
उनले स्थानीयस्तरमै विशेषज्ञ सेवा उपलब्ध गराउन अस्पतालको क्षमता विस्तार अपरिहार्य रहेको उल्लेख गर्दै बिरामीलाई सामान्य उपचारदेखि जटिल उपचारसम्म अन्यत्र रिफर गर्नुपर्ने बाध्यता हटाउनुपर्ने बताए ।
बुटवलमै गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउन आवश्यक उपकरण तथा जनशक्तिको व्यवस्थापनमा सबै पक्षबीच सहकार्य आवश्यक रहेको उनले बताए । अस्पतालको भौतिक तथा सेवा विस्तारका लागि रुपन्देहीबाट प्रतिनिधित्व गर्ने सांसद, प्रदेशसभा सदस्य, स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक सहयोग जुटाउन आफूले पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
सभामुख अर्यालले बुटवल लायन्स आँखा अस्पताललाई लुम्बिनी प्रदेशकै प्रमुख आँखा उपचार केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा अस्पतालका अध्यक्ष महेशप्रसाद श्रेष्ठले अस्पतालले लामो समयदेखि रुपन्देहीसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका नागरिकलाई आँखा उपचार सेवा प्रदान गर्दै आएको बताए । उनले बढ्दो बिरामीको चाप र उपचार सेवाको आवश्यकतालाई मध्यनजर गर्दै अस्पतालको सेवा तथा क्षमता विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए ।

श्रेष्ठले अस्पताललाई आधुनिक सुविधासम्पन्न बनाउँदै सामान्य आँखाको परीक्षणदेखि जटिल प्रकृतिका उपचारसम्म स्थानीयस्तरमै उपलब्ध गराउने लक्ष्य रहेको बताए । त्यसका लागि आधुनिक उपकरण, विशेषज्ञ चिकित्सक तथा दक्ष स्वास्थ्यकर्मीको व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।

उनले अस्पतालको सेवा विस्तार र गुणस्तर सुधारका लागि सरकार, स्थानीय तह, जनप्रतिनिधि, सामाजिक संघसंस्था तथा लायन्स अभियानसँग आबद्ध सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गरे । बुटवललाई आँखा उपचारको भरपर्दो केन्द्रका रूपमा विकास गर्न सबैको साझा प्रयास हुनुपर्नेमा उनले जोड दिए ।

त्यस्तै, अस्पतालका सल्लाहकार जीवनप्रसाद ओझाले अस्पतालको सेवा र योगदानबारे धारणा राखेका थिए । उनले अस्पतालले आँखा उपचारको क्षेत्रमा पुर्‍याउँदै आएको योगदान र आगामी दिनमा सेवालाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकताबारे चर्चा गरेका थिए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विवेक उपाध्यायले अस्पतालबाट प्रदान हुँदै आएका उपचार सेवा, उपलब्ध सुविधा, विशेषज्ञ सेवा तथा अस्पतालको वर्तमान अवस्था र आगामी योजनाबारे जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै लायन्स क्लब अफ बुटवलका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठले आँखा स्वास्थ्य सेवाको पहुँच विस्तारमा बुटवल लायन्स आँखा अस्पतालले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । उनले अस्पतालको सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन आधुनिक उपकरण, दक्ष जनशक्ति तथा पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए । स्थानीय नागरिकलाई सहज र सुलभ रूपमा गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउन सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा रुपन्देहीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरू अमृता विक, श्रद्धा कुँवर र मञ्जु भुसाल तथा रुपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य तौफिक अहमद खानको समेत सहभागिता रहेको थियो ।

छुटाउनुभयो कि ?

गुल्मीमा अवैध घरेलु मदिरा तथा कच्चा पदार्थ बरामद

गुल्मीमा अवैध घरेलु मदिरा तथा कच्चा पदार्थ बरामद

गुल्मीगुल्मीको रेसुङ्गा नगरपालिका–२, उदिनढुङ्गास्थित एक होटलबाट प्रहरीले अवैध घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने कच्चा ...
जनकपुर–अयोध्या रेल सेवा व्यावसायिक रूपमा सुरु

जनकपुर–अयोध्या रेल सेवा व्यावसायिक रूपमा सुरु

काठमाडौंनेपाल र भारतबीच धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यले सुरु गरिएको सरयू–कमला एक्सप्रेस रेल सेवा...
सभामुख अर्याल बुटवलमा: लायन्स आँखा अस्पतालको निरीक्षण

सभामुख अर्याल बुटवलमा: लायन्स आँखा अस्पतालको निरीक्षण

बुटवलप्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी अर्याल) ले बुटवल लायन्स आँखा अस्पतालको निरीक्षण गर्दै स्थानीयस्तरमै गुणस्तर...
तिलोत्तमा मेलामा दर्शकको घुइँचो : आयोजक उत्साहित

तिलोत्तमा मेलामा दर्शकको घुइँचो : आयोजक उत्साहित

रुपन्देहीरुपन्देहीको तिलोत्तमामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा दर्शकको आकर्षण बढ्दै गएको छ । शनिबार मेलामा भएको उल्ल...