औद्योगिक प्रदर्शनीमा बहस: अनियन्त्रित विषादी प्रयोगले उपभोक्ताको थाली जोखिममा


बुटवल
फलफूल र तरकारीमा बढ्दो तथा अनियन्त्रित किटनाशक विषादी प्रयोगका कारण नेपाली उपभोक्ताको स्वास्थ्य गम्भीर जोखिममा परेको सरोकारवालाले चेतावनी दिएका छन् । नियामक निकाय कमजोर हुँदा विषादीको मनपरी प्रयोग बढ्दै गएको र यसको प्रत्यक्ष असर मानव स्वास्थ्य, वातावरण र कृषि प्रणालीमै देखिन थालेको उनीहरूको निष्कर्ष छ ।

रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा सञ्चालन भइरहेको १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ अन्तर्गत आयोजित कार्यशाला गोष्ठीमा विज्ञहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन् । उनीहरूका अनुसार तत्काल उत्पादन बढाउने नाममा गरिएको विषादी प्रयोगले दीर्घकालमा गम्भीर रोग, वातावरणीय असन्तुलन र किसानलाई रसायनमै निर्भर बनाउने खतरनाक अवस्था सिर्जना गरिरहेको छ ।
कार्यक्रममा प्रस्तुत कार्यपत्रहरूमा किसानले पर्याप्त जानकारी बिना किटनाशकलाई औषधि ठानी प्रयोग गर्दा क्यान्सर, स्नायु रोग, हर्मोन असन्तुलन तथा बालबालिकाको शारीरिक र मानसिक विकासमा समेत असर पर्ने तथ्य सार्वजनिक गरिएको थियो ।
प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोखरेलले निरन्तर एउटै विषादी प्रयोग गर्दा कीरामा प्रतिरोध क्षमता विकास हुने बताए । “यसले अझै कडा र महँगा रसायन प्रयोग गर्न बाध्य बनाउँछ,” उनले भने, “माटोमा रहेका लाभदायी सूक्ष्म जीव नष्ट हुँदा माटोको उर्वराशक्ति घट्छ र बालीको प्राकृतिक प्रतिरोध क्षमता कमजोर बन्छ ।”

कृषि निर्देशनालयका बाली संरक्षण अधिकृत मिलन गैरेले किटनाशकको असर किसान, खेतमा काम गर्ने मजदुर र उपभोक्ता सबैमा समान रूपमा पर्ने जोखिमपूर्ण अवस्था रहेको बताए । “खानामा रहेको विषादीको अवशेषले तुरुन्तै असर नदेखिए पनि दीर्घकालमा गम्भीर स्वास्थ्य समस्या निम्त्याउँछ,” उनले भने ।
अनुसन्धानकर्ता शारदा पाण्डेले वातावरणीय असर झनै चिन्ताजनक रहेको उल्लेख गरिन् । उनका अनुसार किटनाशकका कारण मौरी, चरा, माछालगायत उपयोगी जीव नष्ट हुँदै गएका छन्, जसले जैविक सन्तुलन बिगार्नुका साथै परागण प्रक्रियामा समेत नकारात्मक असर पुर्‍याइरहेको छ ।

राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्र, भैरहवाका वरिष्ठ अधिकृत खेमराज पन्तले किटनाशक पूर्ण रूपमा बन्द गर्नुभन्दा पनि यसको सही व्यवस्थापन आवश्यक रहेको बताए । “एकीकृत कीट व्यवस्थापन, जैविक विषादी, सही मात्रा र सही समयमा प्रयोग नगरेसम्म विषादीको फाइदा दीर्घकालीन हुँदैन,” उनले स्पष्ट पारे ।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष तेजकुमार पाठकले उपभोक्ता सचेत नहुँदासम्म समस्या अझै बढ्ने भन्दै सरकारी निकायलाई नियमित अनुगमन र कडाइ गर्न आग्रह गरे । कृषि शिक्षक तथा विद्यार्थीहरूले खाद्यान्न पसलमै विषादी बिक्री हुने अवस्थाप्रति आपत्ति जनाउँदै जैविक विषादीलाई सहज, सुलभ र प्रोत्साहन गर्ने सरकारी नीति आवश्यक रहेको धारणा राखे ।
यसैबीच, ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने नारासहित सञ्चालन भइरहेको प्रदर्शनीमा कृषि, पर्यटन र प्रविधिलाई प्राथमिकता दिइएको छ । संघका अनुसार ३९ जिल्लाको सहभागिता रहेको प्रदर्शनीमा करिब ८ लाख दर्शक भित्र्याउने र ३० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ ।

कृषि उपज, महिला उद्यमशीलता र स्वदेशी उत्पादन प्रवर्द्धनमा केन्द्रित प्रदर्शनीभित्र आयोजित गोष्ठीले “उत्पादन बढाउने नाममा उपभोक्ताको स्वास्थ्य जोखिममा पार्न हुँदैन” भन्ने सन्देश स्पष्ट रूपमा अघि सारेको सहभागीहरूको भनाइ छ ।

छुटाउनुभयो कि ?

आज हरितालिका तीज: बाढीका कारण छैन रौनक

आज हरितालिका तीज: बाढीका कारण छैन रौनक

काठमाडौँभदौ लागेसँगै गाउँघरमा तीजका गीत घन्किन्थे । दिदीबहिनीहरू माइती जाने तयारीमा जुट्थे । दाजुभाइ चेलीबेटीलाई लिन जाने ...
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल

बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल

काठमाडौंबेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोन्सन र उच्चतहका युरोपेली सुरक्षा अधिकारीहरू रुसी आक्रमणबाट बच्न सफल भएका छन् । उन...
सफल क्याम्पस प्रमुख कहलिएका प्रधानाध्यापक ज्ञवाली सर्वोत्कृष्ट कालिका मावि उँचो राख्ने योजनामा

सफल क्याम्पस प्रमुख कहलिएका प्रधानाध्यापक ज्ञवाली सर्वोत्कृष्ट कालिका मावि उँचो राख्ने योजनामा

बुटवलवि.सं.२०२६ सालमा गुल्मीको रुरुक्षेत्र ५ वम्घामा जन्मिएका विष्णुहरी ज्ञवालीले ०५२ सालमा श्री जनबोध उच्च माविबाट शिक्षक से...
डा.न्यौपानेद्वारा लिखित बुद्धकालीन देवदह पुस्तकको परिचर्चा

डा.न्यौपानेद्वारा लिखित बुद्धकालीन देवदह पुस्तकको परिचर्चा

बुटवलडाक्टर कृष्ण न्यौपानेद्वारा लिखित बुद्धकालीन देवदह नामक पुस्तकको परिचर्चा सम्पन्न भएको छ।शनिबार रुपन्देहीको तिलोत्तमा स्...