पत्रकार महासङ्घद्वारा वर्तमान परिवेश चुनौती र समाधान विषयक अन्तरक्रियाः आत्मसमीक्षा र सत्कर्मले समाधान हुनेमा वक्ताहरूको जोड


रूपन्देही
नेपाल पत्रकार महासंघ रूपन्देही शाखाले आयोजना गरेको देशमा रहेको वर्तमान परिवेश ,चुनौती र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले विगतमा भएका कमी कमजोरीको समीक्षा गरी हटाउँदै अबका दिनमा सबै आआफ्नो स्थानबाट सत्कर्ममा लागेमा परिणाम राम्रो आउने बताएका छन् ।

बिहीबार बुटबलमा सम्पन्न कार्यक्रममा बोल्दै वक्ताहरूले इतिहासमा नसुनेको ,नदेखेको र नभोगेको अवस्था अहिले देखिएको र यसबाट उठेर अगाडि बढ्न आवश्यक रहेको बताएका हुन्।

नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेले विगतमा भएका कमी कमजोरी सच्याउँदै अगाडि बढ्नुको विकल्प नरहेको बताए। पाण्डेले भदौ २३ र २४ गतेको आन्दोलनमा देखिएको परिदृश्यहरू शंकास्पद रहेकोले समयक्रमसँगै सत्यतथ्य बाहिर आउनेमा आफूहरू विश्वस्त रहेको धारणा राखेका छन्। उनले उपमहानगरको कार्यालय आगजानी तोडफोड ,जनप्रतिनिधिहरूको आगजानी तोडफोड, विभिन्न वडा कार्यालयहरू ,बुटबलमा रहेका अन्य सरकारी कार्यालयहरू ,प्रतिष्ठित व्यवसायीहरूको आगजानी र तोडफोड ,राजनीतिक दलका नेताहरूकोमा आगजानी तोडफोड हृदय विदारक रहेको बताए। यस्तो परिस्थितिबाट धुलो टकटकाएर पुनः अगाडि बढ्नुको विकल्प नरहेको धारणा राखे।

नगर उपप्रमुख सावित्रादेवी अर्यालले अहिले उपमहानगर मात्र नभएर देशनै स्तब्ध भएको अवस्था छ,तथापि सबै आआफ्नो स्थानबाट उठ्नु र सहकार्यमा लाग्नुको विकल्प नरहेको बताइन्।
उनले संविधानको मर्म बमोजिम नगरसँगै राष्ट्रलाई गति दिने काममा लाग्नु आजको आवश्यकता रहेको धारणा राखिन्।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलले अहिलेसम्म इतिहासमा नभएको नसुनेको र नभोगेको परिघटना नेपालमा घटेको र संविधान लोकतन्त्र रहेको र सही बमोजिम चल्न आवश्यक रहेको बताए।
पोखरेलले संविधान र लोकतन्त्र रहेपनि अहिलेको परिदृश्य संविधानबमोजिम नभएको र परिचालन गराउन लाग्नुपर्ने धारणा राखे।
उनले विगतको समीक्षा गर्न आवश्यक रहेको बताउँदै पुराना भनिएका दलहरूको नेतृत्व हस्तान्तरण गर्ने धारणा नरहंदा पनि यो अवस्था आएको भन्दै सच्चिनुपर्ने सुनिनुपर्ने बताए।

निर्वाचन आयोगले घोषणा गरेको समयमा निर्वाचन हुनेमा पनि आफूहरू विश्वस्त हुन नसकेको धारणा राखेका छन् ।अबका समयमा म नभई हामी भन्ने सोचका साथ कमीकमजोरी सच्याउँदै पारदर्शी रूपले अगाडि बढ्न आह्वान गरेका छन्।

राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख सन्तोष आचार्यले समाजमा सम्मान, संरक्षण र परिपूर्तिमा आधारित रहेर अगाडि बढ्नुपर्ने बताएका छन्। उनले जनप्रतिनिधि, राजनीतिक दल ,व्यावसायिक प्रतिष्ठान, सरकारी सम्पत्तिमा भएको क्षति अत्यन्त दुःखद रहेको भन्दै अरुले नभई हामी आफैले समस्या समाधान गर्नेतर्फ अग्रसर हुन आवश्यक रहेको धारणा राखे।

इलाका प्रशासन कार्यालय रूपन्देहीका प्रमुख रामचन्द्र अर्यालले अहिले हरेक विधा ,तह र तप्काका नागरिकको मनोबल गिरेको अवस्थामा सकारात्मक हिसाबले एकले अर्कोको मनोबल बढाउने गरी क्रियाकलाप गर्न आवश्यक रहेको धारणा राखेका छन् ।
उनले अहिले सरकारी क्षेत्रमा पनि भवनमा आगजानी तोडफोड, कागजात ,कम्प्युटर टेबल ,कुर्ची लगायत सबै खरानी भएको अवस्था छ। निजी क्षेत्रमा र राजनीतिक नेता लगायतमा क्षति भएको अवस्था छ। यसमा सबैको साझा समस्या मानेर हातेमालो गरी पुनः अगाडि बढ्नुनै विकल्प रहेको बताए ।
उनले भदौ २३ र २४ गतेको रुपन्देहीको परिघटनामा प्रशासन र सुरक्षा संयन्त्र पनि नाजवाफ रहेको र पीडामा रहेको बताउँदै अबका समस्या सबैको साथ सहयोगमा अगाडि बढ्नुपर्ने धारणा राखे।

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले सबै नेपालीलाई परेको पीडामा सद्भावपूर्ण व्यवहार ,सकारात्मकताका साथ अगाडि बढ्न आवश्यक रहेको धारणा राखे। उनले अहिलेसम्म पनि सुरक्षाको अभाव खड्किएको भन्दै संयमित रहेर अगाडि बढ्न पर्ने धारणा राखेका छन्।

पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डेले अहिले विद्यमान परिस्थितिमा अबका दिनमा कसरी अगाडि बढ्ने, देश र नागरिकको हितमा उच्च मनोबल राखी कसरी अगाडि बढ्ने र समस्या समाधानका योजनाहरू के कस्ता हुन सक्छन् भन्ने विषयमा कार्यक्रम आयोजना गरिएको र केही भएपनि सकारात्मक परिणाम आउने अपेक्षा गरिएको बताएका छन्।

कार्यक्रममा उद्योग व्यापार परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेल ,इन्जिनियर एसोसिएसन लुम्बिनी प्रदेशका अध्यक्ष इन्जिनियर महेश्वर लम्साल ,प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष श्यामलाल पोखरेल, नेपाल बार एसोसिएसन बुटवलका अध्यक्ष अधिवक्ता गोविन्द मरासिनी, पत्रकार भवानी पाण्डे र प्रकाश डुम्रे ,बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, रूपन्देही उद्योग व्यापार संघका अध्यक्ष विष्णु पाण्डे ,व्यापार संघका महासचिव फर्शुराम पन्थ, उपभोक्ता हित संरक्षण संघ रूपन्देहीका अध्यक्ष समुन्द्र जिसी , शैक्षिक परामर्श संघ रुपन्देहीका संस्थापक अध्यक्ष देव कुंवर, पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष विश्वास ढकाल ,सचिव खनाल ,औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष उपेन्द्र अग्रवाल ,तिलोत्तमा खेलकुद संघका अध्यक्ष लोक पुन, बुटबल सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष गकुल विश्वकर्मा, देवदह व्यापार सङ्घका अध्यक्ष कोषबहादुर गुरुङ लगायतले बोल्दै कल्पनाभन्दा बाहिर रहेको भदौ २३ र २४ गतेको पछाडि आम नागरिकमा परेको समस्यामा म नभनी हामी भन्ने धारणा राखी सकारात्मक विचार, वोली र व्यवहारबाट अगाडि बढ्न आवश्यक रहेको र यसले केही हदसम्म समाधान गर्न सक्ने धारणा राखेका थिए ।

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...