मन्त्रिपरिषद् निर्णय विपरीत आफ्नै खर्चमा ३९ जनालाई चिन घुमाउँदै निगम


काठमाडौं
नेपाल वायुसेवा निगमले आफ्नै खर्चमा ३९ जनाको डफ्फा बोकेर चीनको ग्वान्झाउमा पहिलो उडान गर्ने भएको छ ।

आज बिहीबार राति १० बजे हुने उद्घाटन उडानमा निगमले पर्यटन मन्त्रालयका सचिव, सहसचिव, निगमका सञ्चालक तथा पदाधिकारी, विभिन्न ट्राभल एजेन्सीका प्रतिनिधि, कलाकार, पत्रकार तथा प्रभावशाली व्यक्ति भन्दै क्याप्टेन विजय लामासम्मलाई ग्वान्झाउ भ्रमण गराउने भएको हो । क्याबिन क्रुबाहेक ८ जनालाई सांस्कृतिक कार्यक्रममा सहभागी गराउने भन्दै लान लागिएको छ ।
निगमले ग्वान्झाउ लैजाने टोलीले चार दिनसम्म चीन भ्रमण गराउने छ । उनीहरू २९ तारिखमा नेपाल फर्कनेछन् ।
सुशीला कार्की मन्त्रिपरिषद्ले ५ असोजमा पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा खर्च कटौती सम्बन्धमा गरेको निर्णयमा नेपाल सरकार, प्रदेश सरकार स्थानीय तह, संस्थान, प्रतिष्ठान र नियामक निकायको खर्चमा अत्यावश्यक अवस्था बाहेक विदेश भ्रमणमा रोक लगाउने भन्ने उल्लेख छ ।
त्यस्तै नेपाल सरकारको प्रतिनिधित्व सम्बन्धित नियोगबाट हुन सक्ने अवस्था भए सम्बन्धित नियोगलाई नै अख्तियारी दिने निर्णय पनि भएको छ ।
सरकारको प्रतिनिधित्व अनिवार्य भएको अन्तर्राष्ट्रिय सभा सम्मेलनमा राष्ट्र प्रमुख वा सरकार प्रमुखको नेतृत्वमा हुने प्रतिनिधिमण्डल बढीमा १० जना र नेपाल सरकारको स्रोतमा हुने अन्य प्रतिनिधिमण्डलमा बढीमा ३ जनामात्र सदस्य रहने भन्ने निर्णय पनि सरकारले गरेको छ ।
तर, नेपाल सरकारको लगानी भएको संस्थान वायुसेवा निगमले गर्न लागेको ग्वान्झाउ उडान अत्यावश्यक नभएर प्रवर्द्धनात्मक हो । यस्तो उडानमा नेपाल सरकार तथा अन्य निकायका तीन दर्जनभन्दा बढी मानिसलाई निगमकै खर्चमा भ्रमण गराउन लागिएको हो ।

ग्वान्झाउ भ्रमणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, सहसचिवहरू मुकेश डंगोल र रामकृष्ण लामिछाने रहेको निगम स्रोतले जानकारी दिएको छ ।

त्यस्तै निगम सञ्चालक समिति उपाध्यक्ष विक्रम राई, सदस्यहरू सुधीरशमशेर राई, रामप्रसाद खतिवडा र अमृतमान श्रेष्ठ पनि भ्रमण टोलीमा छन् ।

त्यस्तै उड३डयन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका रितेशराज पन्त र अर्का एक कर्मचारी, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी, निगम कार्यकारी अध्यक्ष युवराज अधिकारी, नायव महाप्रबन्धक जनकराज कालाखेती, बजार व्यवस्थापन विभागका निर्देशक टंकनिधि दाहाल पनि भ्रमण टोलीमा छन् । वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तलाई पनि भ्रमण टोलीमा राखिएको निगम स्रोतले जनाएको छ ।

निगमकै वरिष्ठ क्याप्टेन विजय लामालाई प्रभावशाली व्यक्ति भनेर टोलीमा राखिएको छ ।

विभिन्न सात वटा ट्राभल एजेन्सीका प्रतिनिधिलाई पनि भ्रमण टोलीमा राखिएको छ । तिनमा ओशो वर्ल्ड ट्राभल, हार्भेस्ट मुन ट्राभल, सेभेन स्टार इन्टरनेसनल ट्राभल, रस्बिता इन्टरनेसनल ट्राभल, सुमेघ टुर्स एन्ड ट्राभल्स प्रालि, सी लिंक ट्राभल्स, बोन ट्राभल्स एन्ड टुर्स छन् । त्यस्तै कार्गाे व्यवसायी संघका तर्फबाट एक जना र ग्लोबल डिस्ट्रिब्युसन सिस्टमबाट तीन जना पनि भ्रमण टोलीमा पारिएको छ ।

कलाकारका रूपमा सुरेश अधिकारी र दीपक लिम्बुलाई भ्रमण टोलीमा राखिएको छ भने एभिन्युज टेलिभिजनका सञ्चालक भाष्करराज राजकर्णिकार सहित तीन जना पत्रकार पनि टोलीमा परेका छन् । यसबाहेक ८ जनालाई सांस्कृतिक कार्यक्रममा नाच प्रदर्शन गर्ने भनेर लैजान लागिएको छ ।

निगमले अहिले प्रवर्द्धनात्मक उडान गरे पनि ग्वान्झाउमा नियमित उडानको भने टुंगो लागेको छैन । नियमित उडान कहिले र कसरी हुने टुंगो नलाग्दै तडकभडक साथ पहिलो उडान गर्न लागिएको हो ।

निगमले ठूलो भ्रमण टोली प्रस्ताव गरेकोमा त्यो घटाउन मन्त्रालयले निर्देशन दिएको मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले बताए ।

‘मन्त्रालयबाट पनि धेरै जना जाने गरी सूची बनेको थियो । तर, सचिवज्यू, अन्य सहसचिवज्यूहरू जानुहुन्न,’ उनले भने, ‘मन्त्रालयले नीतिगत समन्वय गरिदिनुपर्ने भएकाले एक जना जानैपर्ने अवस्था रहेकाले म मात्रै जान लागेको छु ।’

अन्य क्षेत्रबाट प्रतिनिधित्व गर्ने भ्रमण टोलीको संख्या पनि घटाउन मन्त्रालयले निर्देशन दिएको तर त्यसलाई निगमले कसरी घटाएको भन्नेबारे चाहिँ जानकारी नभएको उनले बताए ।

‘नेपाल वायुसेवा निगमले ग्वान्झाउ उडान गर्नै चाहेको थिएन, मन्त्रालयकै पहलमा त्यो काम भएको हो,’ उनले भने ।

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...