
श्रीराम ज्ञवाली
नेपालीहरूको दोस्रो ठूलो र अत्यन्तै रमणीय चाड तिहार हो । यसलाई यमपञ्चक र दीपावलीका नामले पनि चिनिन्छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने यो पर्वले नेपाली समाजमा विशेष धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्व बोकेको छ । शरद ऋतुको आगमनसँगै खेतबारीमा धानका बाला झुल्न थालेका हुन्छन् । चारैतिर सयपत्री र मखमली फूलहरू ढकमक्क फुलेका हुन्छन् । यस्तो मनमोहक वातावरणमा भित्रिने तिहारले हरेक नेपालीको घरआँगनमा उमङ्ग र उत्साह छर्दछ ।
तिहारको पौराणिक तथा धार्मिक महत्त्व
तिहार पर्वको पछाडि विभिन्न पौराणिक कथाहरू जोडिएका छन् । मुख्यतया सूर्यका पुत्र यमराज र पुत्री यमुनाको कथा यस पर्वसँग सम्बन्धित छ । पौराणिक मान्यताअनुसार यमुनाले आफ्ना दाजु यमराजलाई कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन आफ्नो घरमा निम्तो दिएर विशेष पूजाआजा र सत्कार गरेकी थिइन् । बहिनीको स्नेह र आतिथ्यबाट प्रसन्न भएका यमराजले वरदान माग्न भन्दा यमुनाले हरेक वर्ष यी पाँच दिनमा आफ्नो घर आउनुपर्ने र यस अवधिमा दिदीबहिनीबाट पूजा ग्रहण गर्ने दाजुभाइको आयु, सुख र समृद्धि बढोस् भनी वरदान मागेकी थिइन् । यही विश्वासका साथ आजसम्म पनि यमपञ्चकको परम्परा चल्दै आएको छ । यसबाहेक, भगवान् रामचन्द्र १४ वर्षको वनवास पूरा गरी अयोध्या फर्किएको खुसीयालीमा अयोध्यावासीले दिपावली गरेको प्रसङ्ग पनि यस पर्वसँग जोडिएको छ ।
यमपञ्चकका पाँच दिन र तिनको विशेषता
तिहारको पाँच दिनलाई यमपञ्चक भनिन्छ । यी पाँच दिनमा मानव जीवनसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका पशुपक्षी, धनकी देवी लक्ष्मी र दाजुभाइको पूजा गरिन्छ ।
काग तिहार : यमपञ्चकको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार मनाइन्छ । कागलाई यमराजको दूत मानिन्छ । हाम्रो समाजमा कागले शुभ र अशुभ समाचार ल्याउने जनविश्वास रहिआएको छ । यस दिन बिहानै उठेर स्नान गरी कागलाई मीठा परिकारहरू खान दिएर पूजा गरिन्छ । यसो गर्नाले कागले यमराजसमक्ष शुभ सन्देश मात्र पुर्याउँछ भन्ने धार्मिक विश्वास छ ।
कुकुर तिहार : यमपञ्चकको दोस्रो दिन कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाइन्छ । कुकुरलाई यमराजको द्वारपाल तथा भैरवको वाहनका रूपमा पुजिन्छ । कुकुर एक इमान्दार र बफादार प्राणी हो । यसले घरको रखवाली गर्नुका साथै विपत्तिको पूर्वसूचनासमेत दिन्छ । कुकुर तिहारका दिन कुकुरलाई टीका र फूलको माला लगाइदिएर मीठो खानेकुरा खुवाइन्छ । आजभोलि सुरक्षा निकायमा कार्यरत कुकुरहरूको पनि विशेष पूजा गर्ने चलन बढेको छ ।
गाई तिहार र लक्ष्मी पूजा : तेस्रो दिन कार्तिक कृष्ण औँसीका दिन बिहान गाई तिहार र बेलुकी लक्ष्मी पूजा गरिन्छ । हिन्दू धर्ममा गाईलाई आमाको स्थान दिइएको छ र लक्ष्मीको रूप मानिन्छ । बिहान गाईको पूजा गरी माला लगाइदिने र मीठा परिकार खुवाउने गरिन्छ । बेलुकीपख घरआँगन सफासुग्घर पारेर लिपपोत गरिन्छ । झ्यालढोकामा सयपत्री फूलका माला झुन्ड्याइन्छ र दियो, मैनबत्ती तथा झिलिमिली बत्ती बालेर घर उज्यालो बनाइन्छ । सफा र उज्यालो घरमा धनकी देवी लक्ष्मीको बास हुन्छ भन्ने विश्वासका साथ विधिपूर्वक लक्ष्मी पूजा गरिन्छ ।
गोवर्धन पूजा, म्ह पूजा र नेपाल संवत् : चौथो दिन कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्धन पूजा गरिन्छ । कृषिप्रधान देश नेपालमा गोरुले खेत जोतेर अन्न उत्पादनमा पुर्याएको योगदानको कदर गर्दै यस दिन गोरुको पूजा गरिन्छ । साथै, गोबरको पर्वत बनाई गोवर्धन पूजा गर्ने चलन पनि छ । यसै दिन नेवार समुदायमा ‘म्ह पूजा’ अर्थात् आफ्नै शरीरको पूजा गर्ने विशेष परम्परा छ । आफ्नै आत्मालाई चिन्न र शरीरलाई स्वस्थ राख्न यो पूजा गरिन्छ । यसै दिनबाट राष्ट्रिय विभूति शंखधर साख्वाले प्रचलनमा ल्याएको नेपाल संवत्को नयाँ वर्ष पनि सुरु हुन्छ ।
भाइटीका : तिहारको अन्तिम तथा पाँचौँ दिन कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका मनाइन्छ । यो दिन दिदीबहिनी र दाजुभाइबीचको प्रेम, स्नेह र आत्मीयता साटासाट गर्ने दिन हो । दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र प्रगतिको कामना गर्दै सप्तरङ्गी टीका र कहिल्यै नओइलाउने मखमली तथा दुबोको माला लगाइदिन्छन् । यमराजको कालको मुखबाट दाजुभाइलाई बचाउन ओखर फोर्ने, तेलको धारा हाल्ने र दैलो छेक्ने विधि गरिन्छ । दाजुभाइले पनि दिदीबहिनीलाई दक्षिणा र उपहार दिएर सम्मान प्रकट गर्दछन् ।
सांस्कृतिक र सामाजिक पक्ष
तिहारको अर्को प्रमुख आकर्षण देउसी र भैलो हो । लक्ष्मी पूजाको दिन महिलाहरूले भैलो र गोवर्धन पूजाको दिन पुरुषहरूले देउसी खेल्ने परम्परा छ । साथीभाइ र टोलछिमेकका मानिसहरू जम्मा भएर मादल, बाँसुरी र खैँजडीको तालमा भट्याउँदै घरघरमा गएर आशीर्वाद दिने र नाचगान गर्ने गर्दछन् । यसले समाजमा एकता, भाइचारा र सामूहिक भावनाको विकास गराउँछ ।
यस पर्वमा सेलरोटी, फिनी, अर्सा, अनर्सा, झिलिङ्गा जस्ता परम्परागत परिकारहरू पकाइन्छन् । टाढाटाढा रहेका आफन्तहरू घर फर्कने र परिवारसँग बसेर रमाइलो गर्ने भएकाले तिहारले पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउँछ ।
तिहारको सन्देश र विकृतिहरू
तिहारले अँध्यारोमाथि उज्यालोको विजयको सन्देश दिन्छ । यसले मानव र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्दछ । काग, कुकुर, गाई र गोरुको पूजा गर्नुले प्रकृतिका हरेक जीवजन्तुको संरक्षण गर्नुपर्छ भन्ने वातावरणीय चेतना प्रदान गर्दछ ।
तर, पछिल्लो समय तिहार मनाउने क्रममा केही विकृतिहरू पनि भित्रिएका छन् । पटाका र आतिसबाजी पड्काउनाले ध्वनि र वायु प्रदूषण बढ्नुका साथै दुर्घटनाको जोखिम पनि निम्त्याएको छ । देउसीभैलोको नाममा चर्को स्वरमा आधुनिक गीत बजाउने, जबरजस्ती चन्दा असुल्ने र जुवातास खेल्ने जस्ता कार्यले पर्वको मौलिकतामा आँच पुर्याएको छ । यस्ता विकृतिहरूलाई हटाएर मौलिक संस्कृति जोगाउनु आजको आवश्यकता हो ।
तिहार केवल बत्ती बाल्ने र मीठो खाने पर्व मात्र होइन । यो त प्रकृतिप्रतिको सम्मान, पारिवारिक मिलन र सामाजिक सद्भावको अनुपम सङ्गम हो । भड्किलोपन र विकृतिलाई त्यागेर सभ्य, भव्य र सुरक्षित तरिकाले तिहार मनाउन सकेमा मात्र यस पर्वको वास्तविक गरिमा कायम रहन सक्छ । तिहारको उज्यालोले हाम्रो मनभित्रको अज्ञानताको अँध्यारो हटाई समाजमा शान्ति र समृद्धि छर्न सकोस् भन्ने नै यस पर्वको मुख्य सार हो ।