नेपालले न्युयोर्कमा आयोजना गर्‍यो ‘सगरमाथादेखि समुद्रसम्म -जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान’ कार्यक्रम



काठमाडौँ
जलवायु संकटको प्रभाव हिमालदेखि समुद्रसम्म जोडिएकाले यसको सामना गर्न सामूहिक र समन्वित प्रयास आवश्यक रहेको परराष्ट्रमन्त्री शिशिर खनालले बताएका छन् ।

संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालले आयोजना गरेको ‘सगरमाथादेखि समुद्रसम्म : जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान’ विषयक उच्चस्तरीय कार्यक्रममा उनले जलवायु प्रणालीले राजनीतिक सीमालाई नचिन्ने भएकाले साझा जोखिमलाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्ने बताए ।

भोटेकोसीमा आएको विनाशकारी बाढीपछि नेपालले आयोजना गरेको कार्यक्रममा नेपाल, संयुक्त राष्ट्रसंघ तथा विभिन्न मुलुकका उच्चस्तरीय प्रतिनिधिको सहभागिता थियो । कार्यक्रममा नेपालले भोटेकोसी बाढीसम्बन्धी छोटो भिडियोसमेत प्रस्तुत गरेको थियो । कार्यक्रमका सहआयोजकमा भुटान, माल्दिभ्स, न्युजिल्यान्ड, सामोआ र ताजिकिस्तान थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै खनालले हिमाल, नदी, समुद्र तथा तटीय र द्वीपीय क्षेत्र जलवायु परिवर्तनका दृष्टिले परस्पर जोडिएको पारिस्थितिक प्रणाली भएको बताए । ‘तपाईंहरूको साझेदारीले हिमाली, द्वीपीय र तटीय क्षेत्रका दृष्टिकोणलाई एउटै संवादमा ल्याएको छ,’ उनले भने ।

नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले गत २६ अगस्टमा लाङटाङ क्षेत्रमा चट्टान र हिमनदीको ठूलो हिस्सा खस्दा जनधन तथा महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेको बताए । उक्त घटनालाई आफूले ‘हिमालयन सुनामी’ का रूपमा वर्णन गरेको उल्लेख गर्दै उनले भने, ‘घाउहरू अझै ताजा छन् । यस्तो अवस्थामा यो विषयमा छलफल गर्नु उपयुक्त समय हो ।’

खनालले ‘सगरमाथादेखि समुद्रसम्म’ को अवधारणा जलवायु प्रणाली राजनीतिक सीमाभन्दा पर रहेको यथार्थमा आधारित रहेको बताए । सगरमाथा तथा हिमालय क्षेत्रलाई ध्रुवीय क्षेत्रबाहेक सबैभन्दा ठूलो हिम तथा हिउँ भण्डार रहेको ‘थर्ड पोल’ अर्थात् ‘तेस्रो ध्रुव’ का रूपमा व्याख्या गर्दै उनले यस क्षेत्रमा ६३ हजार ७ सयभन्दा बढी हिमनदी रहेको बताए ।
हिमनदीबाट निस्कने पानी नदी हुँदै पारिस्थितिक प्रणाली र समुदायलाई पोषण गर्दै समुद्रसम्म पुग्ने उल्लेख गर्दै उनले पछिल्ला तीन दशकमा नेपालले आफ्नो हिम क्षेत्रको करिब एकतिहाइ हिस्सा गुमाइसकेको बताए । हिमनदीको ह्रासले नदीको बहावमा परिवर्तन ल्याउँदै तल्लो तटीय क्षेत्रको जनजीवनमा असर पारिरहेको र द्वीपीय तथा तटीय मुलुकले समुद्री सतह वृद्धि, तटीय क्षय र विस्थापनको सामना गरिरहेको उनको भनाइ थियो ।

‘नक्सामा हेर्दा हिमाल र समुद्र एकअर्काबाट टाढा देखिन सक्छन्, तर प्रकृतिले हामीलाई त्यसको विपरीत कुरा बताउँछ,’ उनले भने ।

जलवायु संकट सम्बोधनका लागि खनालले पाँच प्रस्ताव अघि सारे । विज्ञान, नीति र लगानीले हिमाल, ताजा पानीका प्रणाली र महासागरबीचको पारिस्थितिक निरन्तरतालाई स्वीकार गर्नुपर्ने, जलवायु प्रक्रियामा हिमाललाई थप प्राथमिकता दिनुपर्ने र संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचनामा हिमाललाई व्यवस्थित रूपमा समावेश गर्नुपर्ने उनले बताए ।
त्यस्तै, विश्वको तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने लक्ष्य कायम राख्दै उत्सर्जन कटौतीलाई तीव्रता दिनुपर्ने उनको भनाइ थियो । प्रारम्भिक चेतावनी प्रणाली, उत्थानशील पूर्वाधार, पूर्वानुमानमा आधारित अग्रिम कार्य तथा वैज्ञानिक सहकार्यलाई सुदृढ गर्नुपर्ने उनले बताए ।

विकासशील मुलुकका लागि पर्याप्त, पूर्वानुमानयोग्य र सहज पहुँचयोग्य जलवायु वित्त, प्रविधि तथा क्षमता विकास आवश्यक रहेको उल्लेख गर्दै उनले हानि तथा क्षतिलाई सम्बोधन गर्ने कोषलाई पर्याप्त स्रोतसहित प्रभावकारी र पहुँचयोग्य बनाउनुपर्ने बताए । ‘जलवायु न्याय तब मूर्त हुन्छ, जब देशहरूले प्राप्त गर्ने सहयोगमा जिम्मेवारी, क्षमता र जोखिमको स्तर प्रतिबिम्बित हुन्छ,’ उनले भने ।

नेपालले जलवायु परिवर्तन न्यूनीकरण तथा वातावरण संरक्षणमा योगदान गरिरहेको उल्लेख गर्दै खनालले नेपालको करिब ४६ प्रतिशत भूभाग वनले ढाकेको, स्वच्छ जलविद्युत् र विद्युतीय यातायातको विस्तार भइरहेको बताए । समुदायको नेतृत्वमा हुने संरक्षण कार्य वातावरणीय व्यवस्थापनको महत्वपूर्ण आधार रहेको उनको भनाइ थियो ।
नेपालले सन् २०२५ मा जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यलाई केन्द्रमा राखेर पहिलो ‘सगरमाथा संवाद’ आयोजना गरेको स्मरण गर्दै उनले यसको दोस्रो संस्करणमा आगामी वर्ष अन्तर्राष्ट्रिय समुदायलाई स्वागत गर्न नेपाल इच्छुक रहेको बताए । ‘सगरमाथादेखि समुद्रसम्म’ लाई ज्ञान, साझेदारी र व्यावहारिक सहकार्यको मञ्चका रूपमा विकास गर्ने नेपालको परिकल्पना रहेको उनले बताए ।

‘हाम्रो हिमनदीबाट निस्कने पानीले आफ्नो यात्रा जारी राख्छ । त्यसैगरी, हामीले आज गर्ने निर्णयका परिणामहरू पनि आफ्नो यात्रा जारी राख्छन्,’ उनले भने ।

छुटाउनुभयो कि ?

काँग्रेस रुपन्देहीको क्षेत्रीय निर्वाचनको मिति फेरबदल

काँग्रेस रुपन्देहीको क्षेत्रीय निर्वाचनको मिति फेरबदल

बुटवलनेपाली काँग्रेसको १५ औं महाधिवेशनअन्तर्गत रुपन्देहीमा तय गरिएको निर्वाचन कार्यक्रम फेरबदल गरिएको छ । जिल्ला निर्वाचन समि...
देशभर मनसुनी र पश्चिमी वायु सक्रिय , कुन कुन प्रदेशमा हुनेछ अति भारी वर्षा ?

देशभर मनसुनी र पश्चिमी वायु सक्रिय , कुन कुन प्रदेशमा हुनेछ अति भारी वर्षा ?

काठमाडौँहाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बलियो न्...
नेपालले न्युयोर्कमा आयोजना गर्‍यो ‘सगरमाथादेखि समुद्रसम्म -जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान’ कार्यक्रम

नेपालले न्युयोर्कमा आयोजना गर्‍यो ‘सगरमाथादेखि समुद्रसम्म -जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान’ कार्यक्रम

काठमाडौँजलवायु संकटको प्रभाव हिमालदेखि समुद्रसम्म जोडिएकाले यसको सामना गर्न सामूहिक र समन्वित प्रयास आवश्यक रहेको परराष्ट्रमन...
निरन्तर वर्षाले जनजीवन प्रभावित, कहाँ के भइरहेको छ?

निरन्तर वर्षाले जनजीवन प्रभावित, कहाँ के भइरहेको छ?

काठमाडौँसुस्ताका २४ परिवारलाई होल्डिङ सेन्टरमा सारियो२४ घण्टादेखिको वर्षाका कारण नारायणी नदीको बाढी पसेर ७८ घर डुबान परेको सु...