
बुटवल
जीवराज आश्रितकाे ८३ औं जन्मजयन्तीका अवसरमा “जीवराज आश्रितको वैचारिक आलाेक”( जीवनी,व्यक्तित्व र कृतित्व) पुस्तक एक समाराेहबीच साेमवार बुटवलमा लाेकार्पण सम्पन्न भयाे ।
पुस्तक लाेकार्पण गर्दै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् प्रदेशसभा सदस्य माननीय लिला गिरीले जीवराज आश्रित अनुशासित र पार्टीप्रति बफादार नेता हुनुहुन्थ्यो । गीरीले उहाँकाे जीवनी,व्यक्तित्व र कृतित्वका बारेमा जीवराज आश्रित स्मृति प्रतिष्ठानकाे अनुराेधमा डा.मुरारि पराजुलीले लेख्नु भएकाे पुस्तक पठनीय,सङ्ग्रहणीय रहेकाे उल्लेख गरे ।
उनले सबै जनजनका बीच पुस्तक पुराएर आश्रितलाई सबैकाबीच पुराउनु आजकाे आवश्यकता रहेकाे समेत उनले बताए ।
प्रतिष्ठानका संस्थापक अध्यक्ष एवम् राष्ट्रियसभाका पूर्व सदस्य देवेन्द्र घिमिरेले पुस्तक प्रकाशन कठिन खाेजमूलक कार्य भएकाे हुँदा उक्त जटिलतालाई चिर्दै पुस्तक प्रकाशन हुनु प्रशंसनीय रहेकाे बताए । जीवराज आश्रित कम्युनिस्ट नेता र साेहीअनुसारकाे जीवनशैली अपनाउनु भएकाे नेता हुनुहुन्थ्याे भन्ने कुरामा उनकाे जाेड थियाे ।
डा.मुरारि पराजुलीद्वारा लिखित उक्त पुस्तकमाथि साहित्यकार ऋषिराम भुसाल र रामचन्द्र श्रेष्ठले गहिराे आलोचनात्मक समीक्षा गरेका थिए । पुस्तकमा जीवराजकाे जीवनी,ब्यक्तित्व र कृतित्वलाई मिहिन तरिकाले प्रस्तुत गरिएकाे छ । साथै समीक्षकद्वयले समकालीन राजनीतिसँग जीवराजलाई जाेडेर व्याख्या,विश्लेषण आवश्यक रहेकाे ओैल्याए ।
उक्त पुस्तक लाेकार्पण कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य जानकी न्यौपाने, बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल, पुस्तक लेखक डा.मुरारि पराजुली,जीवराजका छोरा डा.सागर न्याैपाने ,नेकपा एमाले जिल्ला अध्यक्ष यज्ञराज गैरेले पुस्तक वर्तमान समयकाे खाँचाे रहेकाे उल्लेख गरेका थिए।
प्रतिष्ठानले “जिउँदाे जीवराज” डकुमेन्ट्री निर्माण र जीवराजकाे जीवनग्रन्थ प्रकाशन गरिसकेकाे छ । साथै जीवराज मिनी सङ्ग्रहालय समेत निर्माण भईसकेकाे छ ।
कार्यक्रम,जीवराज आश्रित स्मृति प्रतिष्ठानका अध्यक्ष युवराज घिमिरेकाे अध्यक्षता , उपाध्यक्ष कल्पना थापाको स्वागत तथा प्रतिष्ठानकी महासचिव विष्णु केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।