
काठमाडौं
१३ वर्ष उमेर पुगेकाले बालबालिकाले जागिर (हलुका काम) खान पाउने भएका छन् । यस निम्ति बालश्रम (निषेध तथा नियमित गर्ने) ऐन २०५६ मा संशोधन गरिँदै छ ।
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले प्रतिनिधिसभामा दर्ता गरेको बालश्रम (निषेध तथा नियमित गर्ने) ऐन संशोधन विधेयकको दफा ३ मा यस्तो व्यवस्था प्रस्तावित छ ।
‘कसैले पनि १५ वर्ष उमेर पूरा नगरेका बालबालिकालाई बाल विकाससँग सम्बन्धित काममा बाहेक अन्य काममा लगाउनु हुँदैन,’ दफा ३ को उपदफा १ मा छ ।
यहाँ स्पष्टीकरण खण्ड राखिएको छ । स्पष्टीकरणमा भनिएको छ, ‘यस उपदफाको प्रयोजनको लागि ‘बालबिकाससँग सम्बन्धित काम’ भन्नाले बालबालिकाको शारीरिक वृद्धि र विकासका साथै मानसिक, बौद्धिक, संवेगात्मक, शैक्षिक र सामाजिक विकाससँग सम्बन्धित काम सम्झनु पर्छ ।’
उपदफा २ मा १३ वर्ष पुगेकाले बालबालिकाले हलुका काम गर्न पाउने व्यवस्था प्रस्तावित छ ।
‘उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि १३ वर्ष उमेर पूरा भएका बालबालिकालाई निजको शैक्षिक क्रियाकलाप तथा विकासमा असर नपर्ने गरी बालबालिका स्वयं र निजको बाबु, आमा वा संरक्षकको सहमति लिई विद्यालय समय अघि, पछि वा बिदाको समयमा अनुसूची–१ बमोजिमका हलुका किसिमका काममा लगाउन सकिने छ ।’
अनुसूची–१ मा १३ वर्ष पुगेकाले गर्न पाउने हलुका किसिमका कामको विवरण छ ।
हलुका किसिमका कामहरूलाई पाँच भागमा वर्गीकरण गरिएको छ ।
(क) कृषि तथा पशुपालनसम्बन्धी काम
· करेसाबारीमा बिउ छर्ने, बिरुवा रोप्ने, सिँचाइ र हल्का गोडमेल गर्ने
· फूल टिप्ने र फूलबारी सम्भार गर्ने
· फलफूल टिप्ने (हात पुग्ने उचाइसम्म)
· पशुलाई घाँसपात र दाना खुवाउने, दूध दुहुन सहयोग गर्ने तथा चराउने
· अन्नवालीको रेखदेख गर्ने र सिंचाइ गर्ने
(ख) घरायसी काम
· घर बढार्ने र सरसफाइ गर्ने
· हलुका भाँडा माझ्ने र भान्सामा सहयोग गर्ने (हल्का)
· साना भाइबहिनीको रेखदेख र स्याहार गर्ने
· बासिङ मेसिनबाट लुगा धुने
· बजारबाट हलुका तौलका सामान ल्याउने
· सामान्य कुटानी, पिसानीसम्बन्धी कार्य गर्ने
· बाबु–आमा अभिभावकले लाए–अह्राएका सामान्य घरायसी काम
(ग) हस्तकला तथा सिपसम्बन्धी काम
· उनी धागो कात्ने र बुन्ने
· हातले टोकरी बुन्ने
· हातले माटाको भाँडा बनाउने
· हातले साधारण सिलाइ गर्ने तथा टाँक लगाउने
· माला बुन्ने तथा सामान्य सजावट गर्ने
(घ) व्यापारिक तथा कार्यालयसम्बन्धी काम
· पसलमा सामान मिलाउने र सामान्य सरसफाइ गर्ने
· कागजात फाइलिङ गर्ने र ओसारपसार गर्ने
· सामान बिक्री वितरण गर्ने
· बिल काट्ने तथा हिसाब राख्ने
· पुस्तकालय वा कार्यालयमा सहयोगी काम
· टेलिफोन उठाउने, आगन्तुकलाई जानकारी दिने लगायतका स्वागत (रिसेप्सन) सम्बन्धी कार्य)
(ङ) सामुदायिक तथा सामाजिक काम
· सार्वजनिक बगैंचा एवं विद्यालय परिसर सरसफाइ
· पुस्तकालयमा पुस्तक व्यवस्थापन
· साना बालबालिकाहरूलाई ट्युसन पढाउने वा साक्षरता अभियानमा सहयोग गर्ने
· धार्मिक/सांस्कृतिक कार्यक्रम, विद्यालयका नाटक वा सुरक्षित सञ्चार माध्यमका कार्यक्रमहरूमा सहभागिता
यी पाँच प्रकृतिका काम १३ वर्ष उमेर पूरा भएकालाई लगाउन सकिन्छ । तर बालबालिका स्वयं र निजको बाबु, आमा वा संरक्षकको सहमति अनिवार्य लिनुपर्छ । साथै, विद्यालय समय अघि, पछि वा बिदाको समयमा मात्रै काममा लगाउन पाइन्छ ।
कसैले पनि बालबालिकालाई निजको शारीरिक वा मानसिक स्वास्थ्य, सुरक्षा, नैतिकता र शैक्षिक क्रियाकलाप तथा विकासमा नकारात्मक असर पर्ने गरी भने काममा लगाउनु हुँदैन ।
बालश्रम (निषेध तथा नियमित गर्ने) ऐन २०५६ ले हल्का काम गर्न पाउने न्यूनतम उमेर १४ वर्ष राखेको थियो । अहिले प्रस्तावित विधेयकले यसलाई १३ वर्षमा वर्षमा झारेको हो ।