
श्रीराम ज्ञवाली
समाजको ऐना र लोकतन्त्रको चौथो अङ्ग मानिने पत्रकारिता आज एक गम्भीर नैतिक सङ्कट र व्यावसायिक विचलनको मोडमा उभिएको छ। जुन पेसाको जन्म नै सत्यको अन्वेषण, विकृति विसङ्गतिको खवरदारी गर्नु,आवाजविहीनहरूको आवाज बन्नु, अग्रगामी विचार प्रवाह गर्नु, समाजको ऐना वन्नु र सत्ताको निरङ्कुशतामाथि प्रश्न उठाउनका लागि भएको थियो, आज त्यही पेसा कतिपय स्वार्थी तत्वहरूको कुकर्मका कारण बदनाम हुँदै गइरहेको छ। निष्ठा, इमानदारी र सत्यनिष्ठाको जगमा उभिएको असल पत्रकारिता र क्षणिक लाभ, पीत पत्रकारिता तथा ब्ल्याकमेलिङको दलदलमा फसेको विकृत पत्रकारिताबीचको द्वन्द्व आजको प्रमुख चिन्ताको विषय बनेको छ।
पत्रकारिताको मर्म र असल पत्रकारको भूमिका
पत्रकारिता केवल समाचार लेख्ने वा प्रसारण गर्ने प्राविधिक कार्य मात्र होइन, यो त समाजप्रतिको गहन उत्तरदायित्व र नैतिक धर्म हो। एक असल पत्रकार जहिले पनि सत्य र तथ्यको पक्षमा अडिग रहन्छ। ऊ न त कसैको डर र धम्कीबाट विचलित हुन्छ, न त कुनै आर्थिक प्रलोभनमा नै फस्छ। समाजमा लुकेर रहेका भ्रष्टाचार, अनियमितता, सामाजिक विभेद र अन्यायका विरुद्ध कलम चलाउनु नै असल पत्रकारको वास्तविक पहिचान हो।
सङ्कटको घडीमा, प्राकृतिक विपत्तिमा वा राजनीतिक अस्थिरताका बेला असल पत्रकारले आफ्नो ज्यानको समेत बाजी लगाएर नागरिकलाई सही सूचनाको हक प्रदान गर्दछ। उसले प्रस्तुत गर्ने प्रत्येक समाचारमा सन्तुलन, निष्पक्षता र विश्वसनीयता झल्किएको हुन्छ। यस्तो पत्रकारिताले समाजलाई सही दिशा दिन्छ, शासकहरूलाई जवाफदेही बनाउँछ र आम नागरिकमा सचेतना जगाउँछ।
पत्रकारितामा भित्रिएका कुकर्म र विकृतिहरू
दुर्भाग्यवश, पछिल्लो समय सूचना प्रविधिको तीव्र विकास र अनलाइन मिडियाको बाढीसँगै पत्रकारिताको आवरणमा अनेकौं कुकर्महरू मौलाउँदै गएका छन्। पत्रकारिताको न्यूनतम आचारसंहिता समेत नबुझेका र पेशागत मर्यादालाई तिलाञ्जली दिएका व्यक्तिहरूको प्रवेशले यो क्षेत्रलाई दूषित बनाएको छ।
पीत पत्रकारिता र सनसनीखेज प्रस्तुति:
आजभोलि कतिपय सञ्चारमाध्यमहरू सत्यतथ्य समाचारभन्दा पनि ‘भ्युज’, ‘लाइक’ र ‘क्लिक’ बटुल्ने होडमा लागेका छन्। भ्रामक शीर्षक राखेर पाठक र दर्शकलाई झुक्याउने, अर्धसत्य वा पूर्णतः असत्य कुरालाई अतिरञ्जित गरेर पस्कने प्रवृत्ति ह्वात्तै बढेको छ। यसले समाजमा भ्रम र उत्तेजना फैलाउने काम मात्र गरेको छ।ब्ल्याकमेलिङ र मोलमोलाई:
पत्रकारिताको सबैभन्दा घृणित कुकर्म भनेको समाचारको आडमा गरिने ब्ल्याकमेलिङ हो। कसैको व्यक्तिगत कमजोरी वा व्यावसायिक त्रुटिलाई हतियार बनाएर समाचार लेखिदिने धम्की दिने र त्यसको बदलामा मोटो रकम असुल्ने गिरोहहरू सक्रिय छन्। कतिपयले त विज्ञापन नदिएकै निहुँमा संस्था वा व्यक्तिविरुद्ध कपोलकल्पित समाचार छापेर चरित्रहत्या गर्ने गरेका छन्। यसले पत्रकारितालाई ‘असुली धन्दा’ मा परिणत गर्ने जोखिम बढाएको छ।
-दलीय भक्ति र चाकडीवाद:
स्वतन्त्र र निष्पक्ष हुनुपर्ने पत्रकारिता आज राजनीतिक दलहरूको भ्रातृ सङ्गठनजस्तो बन्न पुगेको छ। कतिपय पत्रकारहरू सत्यको वकालत गर्नुभन्दा पनि आफ्नो आस्था जोडिएको पार्टी वा नेताको गुणगान गाउन र विपक्षीको खेदो खन्न व्यस्त देखिन्छन्। जब पत्रकार नै राजनीतिक कार्यकर्ता बन्छ, तब त्यहाँ निष्पक्ष समाचारको अपेक्षा गर्नु व्यर्थ हुन्छ।
-चरित्रहत्या र गोपनीयताको हनन:
कसैको निजी जीवनमा अनावश्यक चियोचर्चो गर्ने, अदालतले दोषी ठहर नगर्दै मिडिया ट्रायलमार्फत कसैलाई अपराधी करार गरिदिने प्रवृत्तिले व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको हनन गरेको छ। पीडितको संवेदनशीलतालाई ख्याल नगरी भिडियो खिच्ने र सामाजिक सञ्जालमा भाइरल बनाउने होडले पत्रकारिताको मानवीय पक्षलाई नै समाप्त पारिदिएको छ।असल पत्रकारमाथि परेको मारपत्रकारिताभित्र मौलाएको यो कुकर्मको प्रत्यक्ष मार वर्षौंदेखि इमानदारीपूर्वक कलम चलाउँदै आएका असल पत्रकारहरूलाई परेको छ। समाजमा केही भ्रष्ट र अनैतिक व्यक्तिहरूको कर्तुतका कारण आम मानिसले समग्र पत्रकार जगत्लाई नै शङ्काको दृष्टिले हेर्न थालेका छन्। ‘पत्रकार भनेका त पैसा खाने र ब्ल्याकमेल गर्ने हुन्’ भन्ने गलत भाष्य निर्माण हुन थाल्नु अत्यन्तै दुःखद पक्ष हो।अर्कोतर्फ, आर्थिक रूपमा आत्मनिर्भर हुन नसकेका साना मिडिया र श्रमजीवी पत्रकारहरू झन् ठूलो चपेटामा छन्। एकातिर मालिकहरूले समयमा पारिश्रमिक नदिने समस्या छ भने अर्कोतिर गलत बाटोबाट अकुत सम्पत्ति कमाउने तथाकथित पत्रकारहरूको रवाफ देख्दा इमानदार पत्रकारहरूलाई आफ्नो पेसामा टिकिरहन नै कठिन भइरहेको छ। सत्य लेख्दा धम्की आउने, विज्ञापन रोकिने र असुरक्षा बढ्ने अवस्थाले असल पत्रकारिता खुम्चिँदै गएको छ।
शुद्धीकरणको आवश्यकता र आगामी बाटो
पत्रकारितालाई यो कुकर्मको चपेटाबाट बाहिर निकाल्न अब ढिला गर्नु हुँदैन। यसका लागि राज्य, सञ्चार गृह, पत्रकार महासङ्घ र स्वयम् पत्रकारहरू गम्भीर बन्नु आवश्यक छ।
-आचारसंहिताको कडाइका साथ पालना: प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घ जस्ता नियामक निकायहरूले पत्रकार आचारसंहिता उल्लङ्घन गर्ने जोकोहीलाई कडा कारबाही गर्नुपर्छ। पत्रकारको परिचयपत्र बोकेर ठगी र ब्ल्याकमेलिङ गर्नेहरूलाई कानुनी दायरामा ल्याउनुपर्छ।
व्यावसायिक सुरक्षा र पारिश्रमिक: पत्रकारहरूलाई आर्थिक प्रलोभनबाट टाढा राख्न श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन गर्दै उनीहरूको न्यूनतम पारिश्रमिक र पेसागत सुरक्षाको ग्यारेन्टी गरिनुपर्छ।
-डिजिटल साक्षरता र नियमन: अनलाइन मिडिया र युट्युब च्यानलहरूलाई व्यवस्थित गर्न स्पष्ट मापदण्ड बनाई दर्ता र नवीकरण प्रक्रियालाई कडाइ गरिनुपर्छ। पत्रकारिता र व्यक्तिगत सामग्री सिर्जना बीचको भिन्नता स्पष्ट पारिनुपर्छ।
-पाठक र दर्शकको सचेतना: आम नागरिक पनि कस्ता समाचार पत्याउने र कस्तालाई बहिष्कार गर्ने भन्ने विषयमा सचेत हुनुपर्छ। भ्रामक र चरित्रहत्या गर्ने सामग्रीलाई प्रोत्साहन नदिई विश्वसनीय पत्रकारिताको समर्थन गर्नुपर्छ।
पत्रकारिता समाजको विश्वासमा टिकेको पेसा हो। यदि यो विश्वास गुम्यो भने पत्रकारिताको अस्तित्व नै समाप्त हुन्छ। आज पत्रकारिता कुकर्मको चपेटामा परेको पक्कै हो, तर यसको अर्थ सबै पत्रकार खराब छन् भन्ने होइन। आज पनि समाजमा यस्ता थुप्रै असल पत्रकारहरू छन्, जो अभाव र दबाबका बीच पनि सत्यको दियो बालिरहेका छन्।
कुकर्म गर्नेहरूलाई किनारा लगाउँदै असल पत्रकारहरूको संरक्षण र सम्मान गर्न सके मात्र पत्रकारिताले आफ्नो गुमेको साख पुनः प्राप्त गर्न सक्छ। अन्ततः, सत्यको विजय निश्चित छ र स्वच्छ पत्रकारिताले नै समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्न सक्छ।