
श्रीराम ज्ञवाली
विभिन्न कालखण्डमा देशका लागि योगदान गर्ने क्रममा सहादत प्राप्त गरेका शहीदको योगदानको कदरस्वरुप नेपालमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउने गरिएको छ । शहीद दिवसका दिन सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।
नागरिकको अधिकार प्राप्ति र राजनीतिक परिवर्तनका लागि भएका विभिन्न आन्दोलन तथा गतिविधिमा आफ्नो ज्यानको बाजी लगाएका शहीदको सपना साकार पार्न र उनीहरुको माग पूरा गर्न नसके पनि शहीद सप्ताह तथा शहीद दिवसमा गरिने विभिन्न कार्यक्रमको क्रममा शहीदहरुलाई सम्झने गरिएको छ । शहीदको बलिदान र त्यागबाट नै हामीले विभिन्न उपलब्धि हासिल गरेको यथार्थलाई मुलुकका राजनीतिक दल तथा नेतृत्वकर्ताले बुझ्न नसक्दा शहीदको योगदानको अवमूल्यन भइरहेको छ ।
निरंकुश राणा शासन बिरोधी गतिविधि गरेका कारण जीवन उत्सर्ग गरेका धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ र दशरथ चन्दको सम्झनामा हरेक वर्ष शहीद सप्ताह र दिवस मनाउन थालिएको हो । २००७ सालपछि भएका विभिन्न आन्दोलन तथा घटनामा हजारौँ नेपालीले सहादत प्राप्त गरेर शहीद बन्नुपरेको छ ।

देशको स्वाधीनता र स्वतन्त्रताका लागि नेपाल–अंग्रेज युद्धको मैदानमा वीरगति प्राप्त गरेका वीर योद्धादेखि पछिल्लो जेनजी आन्दोलनमा ज्यान गुमाएकासम्म हजारौँ शहीद बनेका छन् । राणा शासनको बिरोधमा आवाज उठाएको भन्दै राणा शासकहरुले राज्यविरुद्ध विद्रोह गरेको अभियोगमा पक्राउ गरेर विसं १९३३ मा झुन्ड्याएर मृत्युदण्ड दिइएको लखन थापालाई देशको पहिलो शहीद मानिएको छ । विसं १९९७ सालको प्रजातान्त्रिक आन्दोलनमा सहादत प्राप्त गर्ने चार महान् व्यक्तिहरुको योगदानको स्मरण र शहीदप्रति उच्च सम्मान प्रदान गर्ने उद्देश्यले शहीद दिवस मनाउन थालेको पाइन्छ ।
देशलाई बाह्य शक्तिबाट बचाउन, मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र ल्याउन र नागरिकका हक अधिकार स्थापित गराउन आन्दोलन एवम् संघर्षको मोर्चामा सहभागी भई आफ्नो प्राण त्याग गरेका वीर, वीराङ्गना नै शहीद हुन् । शहीद सप्ताह र दिवसको अवसरमा हुने विभिन्न कार्यक्रममा देशको शासन सत्ता र नीति निर्माण तहमा रहेकाहरुले शहीदहरुको योगदानको स्मरण गर्दै उनीहरुको सपना पूरा गर्ने बाचा गरे पनि व्यवहारमा शहीदको सम्मान हुन सकेको छैन । ज्ञातअज्ञात शहीदहरुप्रति सभक्ति श्रद्धाभाव प्रकट गर्न अग्रसरता देखाउने गरेको भए पनि उनीहरुका सपना पूरा गर्न भने उदासिन बन्ने परिपाटीले शहीदको योगदानसमेत ओझेलमा परिरहेको छ । पछिल्लो समय विभिन्न घटनामा ज्यान गुमाएकालाई समेत शहीद घोषणा गर्ने,गराउने परिपाटीले वास्तविक शहीदको अपमान भइरहेको छ ।
शहीदको बलिदानबाट प्राप्त भएको प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संघीयताले आम नागरिक र शहीद परिवारलाई के दियो ? विचारणीय छ । शहीदका सपना किन पूरा हुन सकेको छैन ? यस्ता कुरामा देशको शासन सत्तामा हालीमुहाली गरिरहेकाहरुले चिन्तन मनन गर्ने जाँगर देखाउँदैनन् । सबै प्रकारका राजनीतिक परिवर्तनको अभ्यास भइसक्दा पनि शहीदको सपना साकार पार्नेतर्फ ठोस र परिणामुखी काम हुन नसक्नुलाई विडम्बना मान्नुपर्छ ।
वर्षेनी मनाईने शहीद दिवस पनि शहीदको स्मरणमा मात्र सीमित बन्दा शहीदको सपना र परिवारको अपेक्षा पूरा हुन नसकेको हो । राजनीतिक नेतृत्व र सरोकारवालाले शहीदको सपना र योगदानलाई भुल्दै जाने र शहीदको सपना पूरा गर्ने दिशामा गम्भीर तथा इमानदार नबन्ने हो भने शहीदको सम्मान हुन सक्दैन ।