
बुटवल
रुपन्देहीको तिलोत्तमा–५ मणिग्रामस्थित मेला मैदानमा ८ औँ तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको छैटौं दिन शनिबार दर्शकको उल्लेख्य सहभागिता रहेको छ।
महोत्सवमा स्वदेशी उत्पादनलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन यस्तो मेला अत्यन्त उपयोगी रहन्छन्। नगरभित्र रहेका साना तथा ठूला सबै उद्योगी–व्यवसायीले महोत्सवलाई अवसरको रूपमा उपयोग गर्ने र महोत्सवले केवल व्यापारिक गतिविधिकै लागि मात्र नभएर, स्थानीय समुदायलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपमा उकास्न ठूलो योगदान पुर्याउने अपेक्षा छ।
स्थानीय कलाकारलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने मौका मिल्ने छ। स्थानीय उद्यमी–व्यवसायीको व्यवसायिक उन्नतिमा महोत्सवले ठूलो भूमिका खेल्ने विश्वास छ।
तिलोत्तमा क्षेत्रमा स्थायी प्रकृतिको मेला स्थल निर्माणको आवश्यकता पहिल्यैदेखि उठ्दै आएको उल्लेख गर्दै अब नगरपालिकाले यो विषयमा प्राथमिकताका साथ पहल गर्नुपर्ने आवश्यकता रहेको तिलोत्तमा वासीको भनाई छ।
महोत्सवको आयोजक तिलोत्तमा उद्योग व्यापार संगठनका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक प्रेम जीएमले स्थायी मेला स्थल नभएकाले हरेक वर्ष व्यवस्थापनमा चुनौती हुने गरेको बताए। उनले संगठन साना उद्योगी–व्यवसायीलाई समेत साथमा लिएर मेला आयोजना गर्दै आएको बताउँदै नगरपालिकाले स्थायी संरचना निर्माणलाई प्राथमिकता दिनुपर्ने धारणा रहेको वताएका छन्।
उनले मेला सफल पार्न सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको धारणा राखे।

महोत्सवलाई आकर्षक बनाउने उद्देश्यले विभिन्न कलात्मक तथा सांस्कृतिक संरचनाहरू निर्माण गरिएको छ। लन्डन ब्रिजको नमूना गेट, जलपरी (मरमेड) संरचना, कश्मिर भ्याली, आईफिल टावर, वाल उद्यानलगायतका आकर्षक डिजाईनहरूले दर्शकलाई नयाँ अनुभूति गराउने अपेक्षा गरिएको छ। मेलास्थलमा फोटो स्पट बनाइएकोले युवायुवतीका लागि पनि आकर्षण बढेको आयोजकको भनाइ छ।
यसपटक महोत्सवमा तीन सय स्टलहरू सहभागी छन्। स्टलहरूमा कृषि प्रविधिको प्रदर्शन, आधुनिक उपकरण, पर्यटन प्रवद्र्धन सामग्री, गार्मेन्ट उत्पादन, महिला उद्यमीका घरायसी उत्पादन तथा स्थानीय हस्तकलादेखि नवप्रविधिसम्मका वस्तुहरू प्रदर्शनी तथा बिक्री गरिएको छ। कृषि, उद्योग, पर्यटनसँगै साना तथा मध्यम उद्यमीलाई वृहत्तर बजार मज्जाले पाउन मद्दत गर्ने अपेक्षासहित स्टल संरचना व्यवस्थित गरिएको आयोजकहरू बताउँछन्।
महोत्सवमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू पनि समावेश गरिएको छ। राष्ट्रिय कलाकार, स्थानीय कलाकारहरु संगै सोनी डान्स ग्रुपका प्रस्तुतिहरुमा दैनिक रूपमा विभिन्न सांस्कृतिक प्रस्तुति, नृत्य प्रतियोगिता तथा स्थानिय कलाकारहरूको कार्यक्रमले महोत्सवलाई अझै रमाइलो बनाइरहेको छ।
८ औँ तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०८२ पुस १ गतेसम्म चल्नेछ। आयोजकका अनुसार यस वर्ष करिब दुई लाखभन्दा बढी दर्शक मेला अवलोकन गर्ने अनुमान गरिएको छ। महोत्सवले स्थानीय उत्पादन, पर्यटन प्रवद्र्धन र सांस्कृतिक पहिचानलाई अझ ताजा रूपमा प्रस्तुत गर्दै तिलोत्तमालाई औद्योगिक तथा व्यावसायिक केन्द्रका रूपमा स्थापित गर्न योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।