
बुटवल
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले आइतबार आर्थिक वर्ष २०८१/०८२ को कार्यप्रगति राम्रो रहेको तथ्याङ्क पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ।
ट्राफिक कार्यालय बुटवलका कार्यालय प्रमुख तथा प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले आफु बुटवलमा आएकाे २ महिनामात्र भएकोले पूर्व कार्यालय प्रमुख श्यामबहादुर खत्रीलाई स्मरण गर्दै कार्यालयले आफ्नो कार्यालयलाई प्रभावकारी बनाई गत आर्थिक वर्षमा १ लाख७० हजार८० सवारी र सवारीचालकलाई कारबाही गरेको बताए । साथै विभिन्न ट्राफिक नियम उल्लङ्घन गरी चलाइएका सवारीबाट १७ करोड ८३ लाख ८३ हजार ४ सय १९ जरिवाना बापत वार्षिक रकम संकलन गरेको जानकारी गराए।
उनका अनुसार कार्यालयले १५हजार५ सय १७ वटा ट्राफिक सचेतनामूलक कार्यक्रम गरी ८ लाख३५ हजार ७सय८९ जनालाई प्रशिक्षित गरेको छ। ट्राफिक कार्यालय बुटबलले सवारी साधनको निःशुल्क मेकानिकल चेकजाँच ,चालकलाई निःशुल्क स्वास्थ्य तथा आँखा चेकजाँच गरेको छ। प्रदेशभरमा ७ स्थानमा जेब्राक्रस निर्माण, ट्राफिक लाइट जडान ,सडकमा रेखाङ्कन ,सूचनामूलक बोर्डहरू राखेको छ। कार्यालयले ट्राफिक नियम अनुसार चलेका सवारीचालकहरुलाई सम्मान गरेको छ । सार्वजनिक सुनवाई, दुई तीन मिनेट कार्यक्रम मार्फत चालकलाई प्रशिक्षण सँगै स्थानीय एफएम रेडियोबाट सचेतना कार्यक्रम प्रसारण गरेको छ।
ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउनेहरु ,नक्कली नम्बर प्लेट राख्नेहरु ,नक्कली चालक अनुमति पत्र लिएर चलाउनेहरु ,अवद्र व्यवहार गर्नेहरु लगायतलाई कारबाही गरेको छ। बेवारिसी अवस्थाका सवारी साधनलाई भन्सार कार्यालय पठाएको छ। सवारी क्षमताभन्दा बढी आफू खुसी सिट राख्नेलाई कारबाही गरेको छ।
५६ वटा नम्बर प्लेट र बिलबुक बिनाका इलेक्ट्रिक स्कुटरहरू नियन्त्रणमा लिएको छ। ओभरलोडका सवारीलाई कारबाही गरेको छ। रूपन्देहीको भैरवामा ट्राफिक कार्यालय रहेको तर उक्त जग्गा कार्यालयकाे नाममा नरहेको जग्गालाई ट्राफिक कार्यालयको नाममा नामसारी गर्न सफल भएको छ। डिजिटल चलान मार्फत राजस्व संकलन गरेको छ। ट्राफिक कार्यालय बुटबलको पहलमा २४ घण्टे पुर्जी सुरुवात गरी देशभर एकरूपता ल्याउन सफल भएको छ। बाँकेमा इलेक्ट्रोनिक हाजिर सिस्टम लागु गरेको छ। ट्राफिक प्रहरीलाई तनाव व्यवस्थापन सम्बन्धी प्रशिक्षण प्रदान गरेको छ। कपिलवस्तु ट्राफिक कार्यालयमा फ्री इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ।
विभिन्न स्थानीय निकायहरूको समन्वयमा प्रदेशका आठ स्थानमा ट्राफिक लाइट जडान गरेको छ। कार्यालयले बुटवल र कपिलवस्तु लगायतका स्थानमा छाडा चौपायालाई नियन्त्रण गरी गौशालामा हस्तान्तरण गरेको छ भने पशु खाद्य सामग्री हस्तान्तरण गरेको छ। कार्यालयले केही व्यक्तिका हराएका सवारी साधन र अन्य सामानहरु फेला पारी फेला पारी हस्तान्तरण गरेको छ।
मातहतका कार्यालय र स्थानीय निकायहरूबाट ट्राफिक बोर्ड ,ट्राफिक डिभाइडर, ट्राफिककोण म्याजिक लाइट, नो पार्किङ बोर्ड ,रिफ्लेक्टर स्टिकर रोल ,सडकमा अव्यवस्थित पार्किङ गरेका सवारी साधनका लागि लकहरू ,कम्प्युटर, प्रिन्टर ,एसी ,इन्भर्टर लगायतका सामग्री प्राप्त गरेको छ।
सवारीचालक, सवारी धनी, यात्रु, पैदल यात्रु लगायत सरोकारवाला संयमित रहेमा सडक दुर्घटना न्यूनीकरण हुने कार्यालय प्रमुख तथा प्रहरी उपरीक्षक मित्रबन्धु शर्मा तथा प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मधुसुदन न्यौपानेको भनाइ रहेको छ ।