
बुटवल
मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङप्रेरित जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो जित दर्ता गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा जनकपुरले काठमाडौं गोर्खाजलाई आठ विकेटले पराजित गरेको हो। यसअघि पहिलो खेलमा जनकपुर कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो। काठमाडौंले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ।
काठमाडौंले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७।२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो। जनकपुरको जितमा मोइन अली र सैफ हसनले उत्कृष्ट ब्याटिङ गरे। उनीहरूले तेस्रो विकेटका लागि ७९ रनको अविजित साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए।
मोइनले ५१ बलमा तीन चौका र तीन छक्काको मद्दतमा अविजित ५८ रन बनाए। त्यस्तै, सैफले ३९ बलमा एक चौका र तीन छक्का प्रहार गर्दै अविजित ४० रन जोडे।
जनकपुरका ओपनर तृतराज दास पाँच रनमा क्याच आउट भए भने मयन यादव नौ रन बनाएर रनआउट भए। काठमाडौंका लागि रिपोन मण्डलले एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं गोर्खाज १९।३ ओभरमा ११५ रनमा समेटिएको थियो। जनकपुरका बलरहरूले नियमित अन्तरालमा विकेट लिएपछि काठमाडौं ठूलो योगफल बनाउन असफल भयो।
एनपीएलको पहिलो संस्करणमा पनि काठमाडौं जनकपुरविरुद्ध १०१ रनमै समेटिएको थियो। यसपटक पनि जनकपुरले काठमाडौंलाई कम योगफलमा रोक्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको छ।