
बुटवल
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाज आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध ११५ रनमै समेटिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँ १९ ओभर ३ बलमा ११५ रन बनाउँदै अलआउट भयो ।
काठमाडौँलाई सस्तैमा समेट्न जनकपुरका आइकोनिक खेलाडी राहुल यादवले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए । राहुलले काठमाडौँका दुवै ओपनर साम हिजलेट र स्मित पटेलसहित कप्तान करण केसी तथा आदिल आलमलाई आउट गरे । सैफ हसनले २ विकेट लिँदा मोइन अली, कप्तान हरमीत सिंह र ललित राजवंशीले समान एक–एक विकेट लिए ।
ब्याटिङमा काठमाडौँका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । उनले २९ बलमा ४ चौका प्रहार गरे । काठमाडौँले खेलभर ठूलो साझेदारी बनाउन सकेन । ६ रन जोड्दा ओपनर साम हिजलेटलाई गुमाएको काठमाडौँले १९ रन हुँदा हरिशंकर शाहको विकेट गुमायो । साम १ र हरिशंकर ९ रनमा आउट भए ।
त्यसपछि पनि काठमाडौँले लगातार विकेट गुमाइरह्यो । रसिद खान १७, स्मित पटेल १३, सुमित महर्जन १०, कप्तान करण केसी ८ र जहानदाद खान ५ रनमा आउट भए । मोहम्मद आदिल आलम पहिलो बलमै एलबीडब्लूको सिकार बने । रिपोन मोन्डलले ९ रन बनाए भने शाहब आलम ४ रनमा अविजित रहे ।
काठमाडौँले टोलीमा अनुबन्ध गरेका अस्ट्रेलियाली खेलाडी डेविड वार्नर पहिलो खेलमा अनुपस्थित छन् । उनी आइतबार मात्रै नेपाल आइपुग्नेछन् । यस खेलमा काठमाडौँले टोलीमा अनुबन्धको औपचारिक घोषणा नगरेका रिपोन मोन्डल र जहानदाद खानलाई मैदान उतारेको छ ।
यता, जनकपुरले पनि यसअघि पहिलो खेल खेलेका जिम्मी निशमलाई यस खेलमा बेन्चमा राखेको छ ।