
श्रीराम ज्ञवाली
मानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने र स्थानीय स्रोत-साधनले मात्र नियन्त्रण गर्न नसकिने आकस्मिक वा क्रमिक संकटपूर्ण अवस्था नै विपत्ति हो। विपत्ति आफैंमा एउटा ठूलो चुनौती हो, जसले विकासका कार्यहरूलाई वर्षौं पछाडि धकेलिदिन्छ। नेपाल जस्तो भौगोलिक रूपमा विविधता र जोखिमयुक्त देशका लागि विपत्ति व्यवस्थापन एक संवेदनशील र महत्त्वपूर्ण विषय हो।
विपत्तिलाई मुख्यतया दुई भागमा वर्गीकरण गर्न सकिन्छ।
प्राकृतिक विपत्ति र मानव–सिर्जित विपत्ति
प्रकृतिको चक्र, भौगोलिक बनावट र मौसमी परिवर्तनका कारण सिर्जना हुने विपत्तिहरू यस अन्तर्गत पर्दछन्। यिनलाई पूर्ण रूपमा रोक्न असम्भव प्रायः हुन्छ । भूकम्प पृथ्वीको भित्री प्लेटहरू हलचल हुँदा आउने कम्पन ।बाढी र पहिरो अत्यधिक वर्षाका कारण नदीनाला थुनिनु र भिरालो जमिन बगेर जानु ,लामो समयसम्म पानी नपर्दा कृषि र खानेपानीमा संकट खडेरी आउनु, हिमपहिरो र हिमताल विस्फोट हिमाली क्षेत्रमा तापक्रम वृद्धिका कारण हिमताल फुट्नु। आँधीबेहरी र चट्याङ वायुमण्डलीय असन्तुलनका कारण हुने आकस्मिक दुर्घटना।
मानव–सिर्जित विपत्ति मानिसको लापरवाही, गलत क्रियाकलाप, प्राविधिक त्रुटि र प्राकृतिक स्रोतको अत्यधिक दोहनका कारण सिर्जना हुने विपत्तिहरू यस अन्तर्गत पर्दछन्।
औद्योगिक दुर्घटना र ग्यास चुहावट :कारखानाहरूबाट विषाक्त ग्यास वा रसायन फैलिनु। आगलागी र डढेलो: वनजंगल वा मानव बस्तीमा लाग्ने आगो। महामारी : कोरोना, हैजा जस्ता संक्रामक रोगहरू तीव्र गतिमा फैलिनु। सडक तथा हवाई दुर्घटना: यातायातका साधनहरूको असन्तुलन वा प्राविधिक गल्तीले हुने ठूला दुर्घटना, युद्ध र आणविक संकट: मानव द्वेषका कारण हुने विनाश।
विपत्तिका बहुआयामिक असरहरू विपत्तिले समाजका हरेक क्षेत्रमा गहिरो र दीर्घकालीन प्रभाव छाड्छ: मानवीय क्षति: ठूलो संख्यामा मानिसहरूको मृत्यु हुनु, घाइते हुनु र अपाङ्गता हुनु।आर्थिक क्षति: घरपालुवा जनावर, बालीनाली, कलकारखाना र व्यक्तिगत सम्पत्तिको विनाश भई गरिबी बढ्नु।पूर्वाधारको विनाश: सडक, पुल, विद्यालय, अस्पताल र विद्युत गृहहरू भत्किएर सेवा अवरुद्ध हुनु।वातावरणीय सन्तुलनमा खलल: जैविक विविधताको नाश हुनु, पानीका मुहानहरू सुक्नु र भू-स्वरूप बिग्रिनु।
मनोवैज्ञानिक असर: आफन्त गुमाउँदा र सम्पत्ति नष्ट हुँदा पीडितहरूमा मानसिक तनाव र ‘पोस्ट-ट्रमाटिक स्ट्रेस’ देखिनु।
विपत्ति व्यवस्थापन र समाधानका उपायहरू :विपत्तिलाई पूर्ण रूपमा रोक्न नसकिए पनि वैज्ञानिक पद्धति, पूर्वतयारी र सामूहिक प्रयासद्वारा यसको जोखिमलाई न्यून गर्न सकिन्छ।
विपत्ति समाधानका उपायहरूलाई चक्रिय रूपमा तीन चरणमा विभाजन गरिन्छ।
विपत्ति पूर्वको चरण: यो चरण विपत्ति आउनु अगाडि गरिने तयारी हो, जुन सबैभन्दा बढी प्रभावकारी र कम खर्चिलो हुन्छ।जोखिम नक्साङ्कन : कुन क्षेत्र बाढी, पहिरो वा भूकम्पको उच्च जोखिममा छ, त्यसको पहिचान गरी जोखिमयुक्त ठाउँमा बस्ती बसाल्न रोक लगाउने।सुरक्षित र प्रतिरोधी निर्माण: भवन निर्माण आचारसंहिता को पूर्ण पालना गरी भूकम्पप्रतिरोधी संरचनाहरू मात्र बनाउने।
पूर्व-सूचना प्रणाली : मौसम पूर्वानुमान प्रविधिलाई आधुनिक बनाई बाढी वा आँधी आउनु अगावै नागरिकको मोबाइल वा साइरनमार्फत सूचना पुर्याउने।सामुदायिक चेतना र तालिम: विद्यालय र स्थानीय स्तरमा ‘मकट ड्रिल’ (कृत्रिम अभ्यास) गराउने, प्राथमिक उपचार र विपत्तिबाट बच्ने उपायहरू सिकाउने। इन्जिनियरिङ उपायहरू: नदी किनारमा तटबन्ध बाँध्ने, भिरालो जमिनमा वृक्षारोपण गर्ने र जैविक इन्जिनियरिङको प्रयोग गर्ने।
विपत्ति कार्यन्वयन चरण:विपत्ति आइलागेको तत्कालै जीवन जोगाउन गरिने प्रयासहरू यस अन्तर्गत पर्दछन्।
द्रुत खोजी र उद्धार : तालिमप्राप्त सुरक्षाकर्मी (सेना, प्रहरी) र स्थानीय स्वयम्सेवकहरूलाई तत्काल अत्याधुनिक उपकरणसहित परिचालन गर्ने।आकस्मिक स्वास्थ्य उपचार: घाइतेहरूको उपचारका लागि घटनास्थलमै ‘फिल्ड अस्पताल’ स्थापना गर्ने र एम्बुलेन्स सेवा प्रभावकारी बनाउने।तत्काल राहत वितरण: प्रभावितहरूलाई तत्काल बस्नका लागि पाल/टेन्ट, खानेपानी, तयारी खाना र कपडाहरूको व्यवस्था गर्ने।सञ्चार र समन्वय: सरकारी निकाय, रेडक्रस, गैरसरकारी संस्था र स्थानीय समुदायबीच बलियो नेटवर्क बनाई राहतमा हुने दोहोरोपन रोक्ने।
विपत्ति पश्चात्को चरण : यो चरण जनजीवनलाई पुरानै वा सोभन्दा राम्रो अवस्थामा फर्काउने दीर्घकालीन प्रक्रिया हो।सुरक्षित पुनर्स्थापना: घरबारविहीन भएका परिवारहरूलाई अस्थायी शिविरबाट सुरक्षित र स्थायी आवासमा स्थानान्तरण गर्ने। बिल्ड ब्याक बेटर : भत्किएका सडक, पुल र विद्यालयहरूलाई पहिलेभन्दा बलियो र विपत्ति थेग्न सक्ने गरी पुनः निर्माण गर्ने।आर्थिक पुनरुत्थान: पीडित परिवारलाई जीविकोपार्जनका लागि रोजगारी, सहुलियतपूर्ण ऋण, कृषि बीउबिजन र सीपमूलक तालिम प्रदान गर्ने।मनोवैज्ञानिक परामर्श: मानसिक आघातमा परेका बालबालिका र वृद्धवृद्धाहरूलाई विशेषज्ञहरूद्वारा काउन्सिलिङ सेवा दिने।
विपत्ति प्राकृतिक वा मानवीय कारणले हुने अकाट्य सत्य हो, तर यसबाट हुने क्षति मानिसको अज्ञानता र लापरवाहीको परिणाम हो। “विपत्ति बाजा बजाएर आउँदैन” तसर्थ, राज्यले विपत्ति व्यवस्थापनका लागि छुट्टै बलियो नीति र ‘आकस्मिक संकटकालीन कोष’ को व्यवस्था गर्नुपर्छ। हरेक नागरिकले वातावरणको संरक्षण गर्दै पूर्वतयारीलाई आफ्नो जीवनशैलीको हिस्सा बनाएमा मात्र विपत्तिको सामना सहज रूपमा गर्न सकिन्छ र एउटा सुरक्षित समाजको निर्माण सम्भव हुन्छ।