नेपालमा १६८ प्रजातिका लामखुट्टे, रोगको जोखिम बढ्दै


लामखुट्टे सानो जीव हो, तर यसले निम्त्याउने स्वास्थ्य जोखिम निकै ठूलो छ। आज ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने नाराका साथ विश्व लामखुट्टे दिवस मनाइरहँदा नेपालमा लामखुट्टेबाट सर्ने रोगको जोखिम र त्यसको नियन्त्रणप्रति गम्भीर बन्नुपर्ने आवश्यकता झनै बढेको छ।
लामखुट्टेको टोकाइबाट औलो, डेङ्गु, चिकनगुनिया, कालाजार, हात्तीपाइले तथा जापानिज इन्सेफलाइटिसजस्ता रोग फैलिन्छन्। नेपालमा हालसम्म १६८ प्रजातिका लामखुट्टे पहिचान भइसकेका छन् भने गएको आर्थिक वर्षमा लामखुट्टे तथा कीटजन्य रोगबाट झण्डै १८ हजार ७१० जना प्रभावित भएको तथ्यांकले समस्या सामान्य नभएको स्पष्ट पार्छ।
अझ चिन्ताको विषय जलवायु परिवर्तनसँगै लामखुट्टेको बासस्थान र रोग फैलिने क्षेत्र विस्तार हुँदै जानु हो। कुनै समय गर्मी र तराईका क्षेत्रमा बढी देखिने लामखुट्टेबाट हुने रोग अहिले उच्च हिमाली तथा पहाडी क्षेत्रमा समेत जोखिमका रूपमा देखिन थालेका छन्। पछिल्लो समय कीटजन्य रोग ५६ जिल्लासम्म फैलिनुले आगामी दिनमा चुनौती अझ बढ्न सक्ने संकेत गरेको छ।
लामखुट्टे नियन्त्रण केवल स्वास्थ्य मन्त्रालय वा स्थानीय सरकारको जिम्मेवारी होइन। घरआँगनमा पानी जम्न नदिने, फोहोर व्यवस्थापन गर्ने, झुलको प्रयोग गर्ने र लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने जस्ता सामान्य सावधानीले पनि ठूलो जोखिम घटाउन सकिन्छ। तर नागरिकको प्रयास मात्र पर्याप्त हुँदैन। सरकारले नियमित अनुगमन, प्रभावकारी औषधि छर्काइ, रोग परीक्षण तथा उपचारको सहज व्यवस्था र जनचेतनामूलक अभियानलाई अझ प्रभावकारी बनाउनुपर्छ।
सातवटै प्रदेशमा कीटजन्य रोग नियन्त्रणका लागि प्रयोगशाला स्थापना हुनु सकारात्मक कदम हो। तर प्रयोगशाला स्थापना गरेर मात्र जिम्मेवारी पूरा हुँदैन। रोगको समयमै पहिचान, तथ्यांकको नियमित विश्लेषण, जोखिम क्षेत्रको पहिचान र त्यसअनुसार तत्काल रोकथामका कार्यक्रम सञ्चालन गर्न आवश्यक छ।
विश्व लामखुट्टे दिवस केवल एउटा दिवस मनाउने औपचारिकता बन्नु हुँदैन। यसले नागरिकलाई आफ्नो घर र समुदाय सफा राख्न प्रेरित गर्नुका साथै सरकारलाई कीटजन्य रोग नियन्त्रणका लागि दीर्घकालीन र प्रभावकारी नीति बनाउन झक्झक्याउनुपर्छ।
सानो टोकाइले ठूलो स्वास्थ्य संकट निम्त्याउन सक्छ। त्यसैले लामखुट्टेलाई सामान्य कीरा ठानेर बेवास्ता होइन, यसको जोखिमलाई समयमै बुझेर रोकथाममा सबैले हातेमालो गर्नु आजको आवश्यकता हो।

छुटाउनुभयो कि ?

मन्त्रिपरिषद्का पाँच निर्णय

मन्त्रिपरिषद्का पाँच निर्णय

काठमाडौँसरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब रु १...
स्वास्थ्य क्षेत्रका तीन ठूला संरचना पुनर्गठनको तयारी

स्वास्थ्य क्षेत्रका तीन ठूला संरचना पुनर्गठनको तयारी

काठमाडौंसरकारले स्वास्थ्य क्षेत्रका महत्वपूर्ण नियामक तथा सार्वजनिक स्वास्थ्य संरचनालाई पुनर्गठन गर्ने तयारी थालेको छ । रो...
सभापति गगन थापाले कस्तो ल्याउँदैछन् राजनीतिक प्रतिवेदन ?

सभापति गगन थापाले कस्तो ल्याउँदैछन् राजनीतिक प्रतिवेदन ?

काठमाडौँकांग्रेस सभापति गगन थापाले पार्टीलाई सत्ता, पद, गुट र पहुँचकेन्द्रित राजनीतिबाट नभई राजनीतिक, वैचारिक, सांगठनिक र आर्...
पहिलो पाइला नेपाल बुटवल द्वारा रक्तदान कार्यक्रम

पहिलो पाइला नेपाल बुटवल द्वारा रक्तदान कार्यक्रम

बुटवलयुवाको ऐक्यबद्धता, रक्तदानमा नयाँ पाइला’ भन्ने मूल उद्देश्यका साथ पहिलो पाइला नेपाल, बुटवल शाखाले विगतका वर्षहरूमा जस्तै...