
बुटवल
रूपन्देही उद्योग संघ र लुम्बिनी प्रदेशका सचिव स्तरीय टोलीबीच प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम सम्बन्धी अन्तरक्रिया भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष पराजुलीले उद्योगको आवश्यकता र बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्न प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिमकार्यक्रमलाई उद्योगसँग अझ प्रभावकारी रूपमा जोड्नुपर्नेमा जोड दिए। उनले उद्योग क्षेत्रमा आवश्यक सीप र जनशक्तिको पहिचान गरी सोहीअनुसार तालिम सञ्चालन गर्न सके युवालाई रोजगारीसँग जोड्न सहज हुने बताए।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले प्रदेशको आर्थिक विकास, रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्न दक्ष जनशक्तिको महत्वपूर्ण भूमिका रहने बताउँदै टिभेटकार्यक्रमलाई परिणाममुखी बनाउन सरकार, उद्योग र तालिम प्रदायक संस्थाबीच सहकार्य आवश्यक रहेको धारणा राखे । उनले उद्योगको वास्तविक आवश्यकता बुझेर तालिमका कार्यक्रम सञ्चालन गर्न सके सीप सिकेका युवालाई रोजगारी तथा स्वरोजगारसँग जोड्न सकिने बताए।
सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशका प्रदेश सचिव सुशीला अर्यालले टिभेटक्षेत्रलाई समयअनुकूल र रोजगारमुखी बनाउनुपर्नेमा जोड दिँदै निजी क्षेत्र तथा उद्योगसँगको सहकार्यलाई थप मजबुत बनाउनुपर्ने बताईन् । उनले तालिममा मात्र सीमित नभई तालिमपछि रोजगारी, उद्यमशीलता र सीपको प्रयोग सुनिश्चित गर्ने वातावरण निर्माण गर्नुपर्ने धारणा व्यक्त गरिन्।
त्यस्तै, सामाजिक विकास मन्त्रालयका उपसचिव हरिकला सारुले प्रदेशमा सञ्चालन भइरहेका सीप विकास तथा प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिमकार्यक्रमको प्रभावकारिता बढाउन सरोकारवाला निकायबीच निरन्तर समन्वय र अनुभव आदानप्रदान आवश्यक रहेको बताईन्।
कार्यक्रममा रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्ले, प्रथम उपाध्यक्ष हरिबहादुर खत्री, कोषाध्यक्ष विशाल बेलबासे, सचिव अशोक कुँवर, सहकोषाध्यक्ष राजु घिमिरे तथा कार्यसमिति सदस्यहरू र उद्योगीको सहभागिता रहेको थियो।
त्यसैगरी, इन्स्योर परियोजना लुम्बिनी प्रदेशका प्रबन्धक अम्बिका प्रसाद तिमिल्सिना र लुम्बिनी प्रदेश टिभेटकोर्डिनेटर नेपालुराम चौधरी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीले प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिमक्षेत्र, उद्योगको आवश्यकता, सीप विकास तथा रोजगारसँग जोडिएका विषयमा प्रस्तुतीकरण गरेका थिए। प्रस्तुतीकरणमा उद्योगको मागअनुसार सीपयुक्त जनशक्ति उत्पादन, तालिमको प्रभावकारिता तथा उद्योग–तालिम प्रदायकबीचको सहकार्यका विषयमा जानकारी प्रस्तुत गरिएको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले सीप विकासलाई उद्योगको आवश्यकता र रोजगारीसँग प्रत्यक्ष जोड्नुपर्ने, युवालाई बजारको मागअनुसार व्यावहारिक सीप प्रदान गर्नुपर्ने तथा प्रदेश सरकार, उद्योग र सम्बन्धित संस्थाबीच सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा साझा धारणा व्यक्त गरेका थिए।
कार्यक्रमले लुम्बिनी प्रदेशमा टिभेटकार्यक्रमलाई उद्योगको आवश्यकता, सीप विकास र रोजगारीसँग जोड्दै अघि बढाउन थप सहकार्य र समन्वयको आधार तयार गरेको आयोजकले जनाएको छ।