रारा मसला उद्योगको प्रदूषणविरुद्ध स्थानीय आक्रोश, एक वर्षभित्र स्थानान्तरणको माग


बुटवल — बुटवल उपमहानगरपालिका–११ देवीनगरस्थित साँग्रिला पथमा सञ्चालित रारा मसला उद्योगबाट निस्कने धुलो, धुवाँ, मसलाको खार तथा ध्वनि र कम्पनका कारण स्वास्थ्यमा असर परेको भन्दै स्थानीय बासिन्दाले उद्योग स्थानान्तरणको माग गरेका छन्।
लामो समयदेखि उद्योगबाट हुने प्रदूषणका कारण समस्या भोग्दै आएको स्थानीयको गुनासो छ। पटक–पटक उद्योग सञ्चालकलाई समस्या समाधानका लागि आग्रह गरे पनि सुनुवाइ नभएपछि स्थानीयले बुटवल उपमहानगरपालिकाको न्यायिक समितिमा लिखित उजुरी दिएका थिए।
उजुरीपछि न्यायिक समितिले दुवै पक्षबीच छलफल गराउनुका साथै गत असार २६ गते उद्योगको स्थलगत अनुगमन गरेको थियो। तर, अनुगमन प्रभावकारी नभएको भन्दै स्थानीयले असन्तुष्टि जनाउँदै साउन २५ गते जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय, भैरहवामा ध्यानाकर्षणपत्र बुझाएका थिए।
त्यसपछि घरेलु तथा साना उद्योग कार्यालयको टोलीले साउन २८ गते उद्योगको स्थलगत अनुगमन गरेको हो। अनुगमनका क्रममा उद्योगका मेसिन सञ्चालन गरी ध्वनि, कम्पन तथा प्रदूषणको अवस्थाबारे प्रत्यक्ष निरीक्षण गरिएको थियो। अनुगमन टोलीसँग स्थानीयले उद्योगबाट निस्कने खार, धुलो, धुवाँ तथा ध्वनि प्रदूषणका कारण आफूहरूले भोग्दै आएको समस्याबारे गुनासो राखेका थिए।


अनुगमनपछि घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत लक्ष्मीप्रसाद दाहालले स्थानीयमा परेको असरलाई मध्यनजर गर्दै कानुनअनुसार आवश्यक प्रक्रिया पूरा गरी उद्योग स्थानान्तरण गर्नुपर्ने बताएका छन्।
स्थानीयले भने मानव स्वास्थ्यमा असर पर्ने अवस्था रहेकाले बढीमा एक वर्षभित्र उद्योग अन्यत्र स्थानान्तरण गर्नुपर्ने माग गरेका छन्।
यता उद्योग सञ्चालक कृष्णलाल भुसालले स्थानीयको गुनासोलाई सम्बोधन गर्न आफूले गुणस्तरीय मेसिन सञ्चालनमा ल्याएको र नयाँ मेसिनका कारण आवाज तथा कम्पन कम भएको दाबी गरेका छन्। उनले उद्योग स्थानान्तरण गर्न तत्काल सम्भव नभए पनि प्रदूषण नियन्त्रणका उपाय अपनाउँदै स्थानीयका माग क्रमशः सम्बोधन गर्ने बताएका छन्।
उद्योगी पक्षले बैंकबाट ठूलो ऋण लिएको कारण तत्काल उद्योग स्थानान्तरण गर्न नसकिने अडान राख्दै प्रदूषण नियन्त्रणका लागि आवश्यक उपाय अपनाउने प्रतिबद्धता जनाएको छ।
अनुगमनपछि घरेलु तथा साना उद्योग कार्यालयले दुवै पक्षबीच तत्काल छलफल गरी समस्या समाधानको पहल थालेको छ। कार्यालयले स्थानीयका तर्फबाट पाँच जना र उद्योगीका तर्फबाट पाँच जना प्रतिनिधिलाई छलफलका लागि बोलाएको छ।
अनुगमनका क्रममा उद्योगबाट निस्कने मसलाको खार तथा ध्वनि प्रदूषण नियन्त्रण गर्ने, खार, ध्वनि र भाइब्रेसन नियन्त्रण गरेर मात्र उद्योग सञ्चालन गर्ने, उद्योगको आईई प्रतिवेदन भए/नभएको यकिन गरी प्रतिलिपि कार्यालयमा बुझाउने, दुवै पक्षका पाँच/पाँच जना प्रतिनिधिबीच छलफल गर्ने तथा उद्योग सञ्चालनसम्बन्धी सम्पूर्ण कागजात कार्यालयमा उपलब्ध गराउनेलगायतका ६ बुँदे निर्णयमा दुवै पक्षले हस्ताक्षर गरेका छन्।
स्थानीयले भने तत्काल प्रदूषण नियन्त्रणसँगै दीर्घकालीन रूपमा उद्योग अन्यत्र स्थानान्तरण गर्नुपर्ने मागलाई मुख्य मुद्दाका रूपमा अघि सारेका छन्। कार्यालय र दुवै पक्षबीच हुने आगामी छलफलबाट समस्या समाधानको ठोस निकास निस्कने अपेक्षा गरिएको छ।

छुटाउनुभयो कि ?

युद्धले बदलेको दशकौँ पुरानो तेल व्यापार, होर्मुजको विकल्प खोज्दै खाडी देशहरू

युद्धले बदलेको दशकौँ पुरानो तेल व्यापार, होर्मुजको विकल्प खोज्दै खाडी देशहरू

काठमाडौंछ महिनाअघिसम्म खाडी देशहरूका लागि तेल बेच्न निकै सहज थियो। सबैभन्दा कम लागतमा तेल निकाल्ने होर्मुज स्ट्रेटको बाटो हुँ...
रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना अझै बेपत्ता

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना अझै बेपत्ता

रोल्पारोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ । पहिरोले घर तथ...
ईक्यान रुपन्देही र नियोपोलीस युनिभर्सिटी पाफोस साइप्रसबीच उच्च शिक्षाका अवसरबारे अन्तर्क्रिया

ईक्यान रुपन्देही र नियोपोलीस युनिभर्सिटी पाफोस साइप्रसबीच उच्च शिक्षाका अवसरबारे अन्तर्क्रिया

रुपन्देहीनेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देहीको आयोजना तथा नियोपोलीस युनिभर्सिटी पाफोस, साइप्रसको सहजीकरणमा साइप्रसमा...
रारा मसला उद्योगको प्रदूषणविरुद्ध स्थानीय आक्रोश, एक वर्षभित्र स्थानान्तरणको माग

रारा मसला उद्योगको प्रदूषणविरुद्ध स्थानीय आक्रोश, एक वर्षभित्र स्थानान्तरणको माग

बुटवल — बुटवल उपमहानगरपालिका–११ देवीनगरस्थित साँग्रिला पथमा सञ्चालित रारा मसला उद्योगबाट निस्कने धुलो, धुवाँ, मसलाको खार तथा ...