नेपाल र भारतबिच भएका ८ वटा समझदारी



काठमाडौँ
प्रधानमन्त्री बालेनको भारतको राजकीय भ्रमणका क्रममा नेपाल र भारतबिच आठ वटा महत्त्वपूर्ण क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री बालेनको उपस्थितिमा प्राविधिक, शैक्षिक, प्रशासनिक, स्वास्थ्य, सञ्चार तथा कृषि क्षेत्रको विकासमा समझदारी भएका हुन् ।

भ्रमणका क्रममा सुरक्षा संयन्त्रको आधुनिकीकरण र अपराध अनुसन्धानको क्षमता अभिवृद्धिलाई उच्च प्राथमिकतामा राख्दै दुई वटा छुट्टाछुट्टै शैक्षिक तथा तालिमसम्बन्धी समझदारी भएका छन् । जसअनुसार भारतको गुजरातस्थित गान्धीनगरमा रहेको राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय (नेसनल फरेन्सिक साइन्सेज युनिभर्सिटी) र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबिच शैक्षिक तथा अनुसन्धान सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
यस सहकार्यले नेपालको अपराध अनुसन्धान प्रणालीलाई वैज्ञानिक र प्रविधिमैत्री बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । त्यसैगरी सुरक्षा तथा प्रहरी प्रशिक्षणको क्षेत्रमा सहकार्य विस्तार गर्न भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय (आरआरयू) र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एनपीए)बिच पनि अर्को समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सार्वजनिक प्रशासनलाई थप प्रभावकारी र जनउत्तरदायी बनाउने उद्देश्यले निजामती सेवाको क्षमता विकासका लागि समेत महत्त्वपूर्ण सम्झौता भएको छ । भारत सरकारको प्रशासनिक सुधार तथा सार्वजनिक गुनासो विभागअन्तर्गतको राष्ट्रिय सुशासन केन्द्र र नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबिच नेपालका निजामती कर्मचारीहरूको क्षमता अभिवृद्धि तालिम कार्यक्रमसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
स्वास्थ्य क्षेत्रको सुदृढीकरण र परम्परागत चिकित्सा पद्धतिको प्रवर्द्धनका लागि पनि दुई देशबिच समझदारी कायम भएको छ । आधुनिक स्वास्थ्य तथा चिकित्साको क्षेत्रमा सहकार्य गर्न भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपाल सरकारको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबिच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
यस्तै, परम्परागत उपचार पद्धतिको संरक्षण, अनुसन्धान र प्रवर्द्धन गर्ने लक्ष्यका साथ आयुर्वेद र अन्य परम्परागत चिकित्सा प्रणालीको क्षेत्रमा सहकार्य गर्न नेपाल सरकार र भारत सरकारबिच अर्को समझदारी पत्रमा समेत हस्ताक्षर भएको छ ।

कृषि तथा ग्रामीण अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको पशु तथा मत्स्य क्षेत्रको उत्पादकत्व बढाउनसमेत दुई देश सहमत भएका छन् । पशुपालन र मत्स्यपालन विकासको क्षेत्रमा सहकार्य गर्न नेपाल सरकार र भारत सरकारबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
प्रविधि तथा सहरी पूर्वाधार विकासको क्षेत्रमा सहकार्य गर्न दुवै देशले अन्तरिक्ष प्रविधि र सहरी योजनामा साझेदारी गर्ने सहमति गरेका छन् । दक्षिण एसिया स्याटेलाइटको प्रभावकारी उपयोगका लागि स्याटेलाइट सञ्चार (स्याटकम) नेटवर्क स्थापना गर्ने विषयमा भारत सरकारको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालयबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
यस्तै, बढ्दो सहरीकरणका चुनौतीहरूलाई सम्बोधन गर्दै व्यवस्थित सहर निर्माण गर्न दिगो सहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्यका लागि नेपाल सरकार र भारत सरकारबिच छुट्टै समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

छुटाउनुभयो कि ?

नेपाल र भारतबिच भएका ८ वटा समझदारी

नेपाल र भारतबिच भएका ८ वटा समझदारी

काठमाडौँप्रधानमन्त्री बालेनको भारतको राजकीय भ्रमणका क्रममा नेपाल र भारतबिच आठ वटा महत्त्वपूर्ण क्षेत्रमा सहकार्य गर्नेसम्बन्ध...
महानिरीक्षक केसी अनुपस्थित भएपछि दानबहादुर कार्कीको रिटमा सुनुवाई हुन सकेन

महानिरीक्षक केसी अनुपस्थित भएपछि दानबहादुर कार्कीको रिटमा सुनुवाई हुन सकेन

काठमाडौँप्रहरी महानिरीक्षक डा. मनोज केसीले म्याद नबुझेका कारण दानबहादुर कार्कीले दिएको रिटमा अन्तरिम आदेश दिने कि नदिने भन्ने...
निजी क्षेत्रका साढे १६ हजार मेगावाट आयोजना अन्योलमा

निजी क्षेत्रका साढे १६ हजार मेगावाट आयोजना अन्योलमा

काठमाडौँसरकारले विद्युत् उत्पादन बढाउने लक्ष्यसहित सरकारी स्वामित्वका करिब एक हजार मेगावाट क्षमताका आयोजनाको विद्युत् खरिद–बि...
प्रधानमन्त्री बालेन र मोदीबीच आज वार्ता हुंदै, रेलसेवा उद्घाटनदेखि विभिन्न सम्झौताको तयारी

प्रधानमन्त्री बालेन र मोदीबीच आज वार्ता हुंदै, रेलसेवा उद्घाटनदेखि विभिन्न सम्झौताको तयारी

काठमाडौंप्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमण...