विद्युत्‌मा भ्याट छुट सीमा बढाउने तयारी, १ सय ५० युनिटसम्म पुर्‍याउने प्रस्ताव



काठमाडौं
सरकारले उपभोक्तालाई विद्युत् महसुलमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने विद्यमान ५० युनिटको सीमा बढाउने तयारी गरेको छ ।

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट मार्फत ५० युनिटभन्दा माथि विद्युत् खपत गर्ने उपभोक्ताका लागि ५ प्रतिशत भ्याट लगाउने घोषणा गरेको थियो, जसलाई अहिले बढाएर १ सय ५० युनिट बनाउने तयारी गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यसका लागि तयारी गरिरहेको जनाएको छ ।
यसअघि विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा विद्युत् महसुल पुनरावलोकन समिति गठन गरिएको थियो । उपभोक्तालाई कर बढेको अवस्थामा विद्युत महसुल मार्फत राहत दिन सकिन्छ कि भनेर पुनरावलोकन तयारी गरिएको थियो ।
तर, भ्याट नलाग्ने विद्युत् युनिट नै बढाएर १ सय ५० पुर्‍याउने गृहकार्यले चाहिँ गति लिएको मन्त्रालय स्रोतले जनाएको छ । त्यसका लागि अर्थ मन्त्रालयसँग समेत अनौपचारिक छलफल प्रक्रिया अघि बढेको ऊर्जा मन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालय स्रोतले पनि विद्युत्मा भ्याट लाग्ने सीमा ५० युनिटबाट वृद्धि गरेर १ सय ५० युनिट पुर्‍याउनेबारे गृहकार्य भइरहेको पुष्टि गरेको छ ।

‘विद्युत् महसुल पुनरावलोकनका विषयमा पनि छलफल भइरहेको छ, त्यो ऊर्जा मन्त्रालयतर्फको कुरा भयो, घरायसी उपभोगमा १ सय ५० युनिटसम्म भ्याट नउठाउने विषयमा प्रारम्भिक छलफल अर्थ मन्त्रालयमा पनि भइरहेको छ,’ अर्थ स्रोतले भन्यो ।
भ्याट लाग्ने विद्युत् खपत सीमा बढाउने बारे नेपाल विद्युत् प्राधिकरण र मन्त्रालयले आन्तरिक रूपमा अध्ययन गरेका थिए । १ सय र १ सय ५० युनिटसम्मको खपतमा भ्याट छुट दिँदा कति राजस्व कम हुन्छ भन्ने विषयमा अध्ययन गरेको हो ।

‘उपभोक्तालाई सस्तो बिजुली उपलब्ध गराउँदा खपत बढ्ने र यसले अन्तत: अर्थतन्त्रलाई नै फाइदा पुग्छ भन्ने हाम्रो बुझाइ हो,’ शाहीले भने, ‘५० युनिटभन्दा माथि भ्याट लाग्ने स्ल्याब बढाउने गरी समन्वय भइरहेको छ ।’

बजेट वक्तव्य अनुसार १ साउनदेखि खपत हुने विद्युत्मा भ्याट लाग्ने व्यवस्था गरेको थियो । तर, प्राधिकरणले असार महिनाकै खपतमा समेत ५ प्रतिशत भ्याट जोडेर बिल पठाउन थालेपछि चौतर्फी विरोध सुरु भएको थियो । विरोधपछि प्राधिकरणले साउनको खपतमा भदौदेखि मात्रै भ्याट लाग्ने प्रष्ट पारेको थियो ।

१५० युनिटसम्म छुट दिँदा २ अर्ब २ करोड राजस्व घट्ने

ऊर्जा मन्त्रालयले गरेको प्रारम्भिक अध्ययन अनुसार घरेलु उपभोक्तालाई भ्याट छुट दिने सीमा बढ्दै जाँदा राजस्व उल्लेख्य घट्ने देखिएको छ ।

तथ्यांक अनुसार ५० युनिटसम्म खपत गर्ने घरेलु उपभोक्तालाई भ्याट नलगाउँदा वार्षिक करिब १२ अर्ब ४२ करोड ६५ लाख रुपैयाँ भ्याट संकलन हुने अनुमान छ । तर, यही छुटको सीमा १ सय युनिट पुर्‍याउँदा वार्षिक संकलन ११ अर्ब ८१ करोड ५६ लाखमा झर्ने देखिएको छ ।

त्यसलाई समेत बढाएर १ सय ५० युनिटसम्म छुट दिइए वार्षिक भ्याट संकलन १० अर्ब २२ करोड ३९ लाखमा सीमित हुने देखिएको हो ।

यसअनुसार ५० युनिटको तुलनामा १ सय युनिटसम्म छुट दिँदा वार्षिक करिब ६१ करोड रुपैयाँ भ्याट राजस्व घट्ने छ भने १ सय ५० युनिटसम्म छुट विस्तार गर्दा करिब २ अर्ब २ करोड राजस्व गुम्ने अनुमान गरिएको छ ।

तथ्यांक अनुसार नेपालभरि कुल ५३ लाख ८ हजार ५ सय ६१ घरेलु उपभोक्ता छन् । ५० युनिटसम्मको खपतमा भ्याट छुट पाउँदा ३४ लाख ५४ हजार १ सय २ उपभोक्ता भ्याटमुक्त भएका छन् भने १८ लाख ५४ हजार ४ सय ५९ उपभोक्ताले ५ प्रतिशत भ्याट तिर्नुपर्ने हुन्छ ।

भ्याट छुटको सीमा १ सय युनिट पुर्‍याउँदा भ्याटमुक्त हुने उपभोक्ता संख्या बढेर ४३ लाख १५ हजार ८ यस ५३ पुग्ने छ भने कर तिर्ने उपभोक्ता ९ लाख ९२ हजार ७ सय ८ मा झर्ने छ ।

त्यस्तै १ सय ५० युनिटसम्म छुट दिइए ४६ लाख ९२ हजार २ सय ७९ उपभोक्ता भ्याटमुक्त हुनेछन् भने कर तिर्ने उपभोक्ता ६ लाख १६ हजार २ सय ८२ मात्र रहनेछन् ।

मासिक भ्याट संकलन पनि छुटको सीमा बढ्दै जाँदा घट्ने देखिएको छ । ५० युनिटसम्म छुट हुँदा मासिक कुल भ्याट संकलन करिब ८९ करोड ८४ लाख रुपैयाँ हुने अनुमान छ । यो रकम १ सय युनिटसम्म छुट दिँदा ८७ करोड ३० लाख र १ सय ५० युनिटसम्म छुट दिँदा ८५ करोड २० लाखमा झर्ने देखिन्छ ।

घरेलु उपभोक्ता बाहेक थ्री फेज, डिमान्ड र टीओडी वर्गका उपभोक्ताबाट उठ्ने १३ प्रतिशत भ्याट भने सबै परिदृश्यमा समान रहने उल्लेख गरिएको छ ।

त्यसैले भ्याट छुट सीमा परिवर्तनबाट मुख्य असर घरेलु उपभोक्ताबाट उठ्ने ५ प्रतिशत भ्याटमा पर्ने देखिएको हो ।

छुटाउनुभयो कि ?

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा...
चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

काठमाडौंत्रिपुरेश्वरमा सोमबार बिहान यात्रुवाहक बसका एकजना चालक अर्जुन दोङले आत्मदाह गरी ज्यान गुमाएको घटनाको निष्पक्ष छानबिन ...
राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

काठमाडौंप्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन ला...
कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौहाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून ...