
बुटवल
नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थनको पहिलो दिन शनिबारको बहसले अर्थतन्त्र उकास्नुनै प्रमुख आवश्यकता रहेको निश्कर्ष निकालेको छ।
आज देखि बुटवल उद्योग वाणीज्य संघको सभाहलमा ३ दिनसम्म सञ्चालन हुने सम्मेलनमा देशभरबाट विभिन्न जिल्लाका महासंघ प्रतिनिधि, केन्द्रीय नेताहरु, विभिन्न पत्रकार सम्बद्ध संघ-संगठनका अध्यक्षहरु, राष्ट्रिय स्तरका तथा मोफसलमा रहेका सञ्चार माध्यमहरुमा लामो समय अनुभवप्राप्त व्यक्तित्वहरुको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको छ।
जस अन्तर्गत पहिलो दिन शनिबार ३ वटा कार्यक्रम जसमा सञ्चार माध्यमका सञ्चालक संग सञ्चारमाध्यमका अवसर, चुनौती र समाधानका विषयमा वहस भएको छ।
त्यसैगरी स्थानीय सरकारका जनप्रतिनिधिसंग स्थानीय सरकारको भूमिका, थप प्रभावकारी वनाउन आवश्यक योजनासंगै स्थानीयस्तरका सञ्चारमाध्यमलाई व्यवसायीक रुपमा सहयोग गर्न कस्ता योजना आवस्यक भन्ने विषयमा वहस भएको थियो।
विभिन्न संघसंस्थाका अध्यक्षहरु संग उद्योग व्यवसाय प्रवद्र्धन गर्न केकस्ता योजनाहरू मार्फत् अगाडि वढ्ने भन्ने विषयमा वहस भएको थियो।

कार्यक्रमको पहिलो सत्रमा सञ्चारमाध्यमका सञ्चालक लुम्बिनी सामुदायिक टेलिभिजनका अध्यक्ष एजाज आलम, पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष तथा दैनिकपत्र दैनिकका सञ्चालक तथा सम्पादक डाक्टर वालकृष्ण चापागाईं,ग्वलोवल आवाज डटकमका सञ्चालक तथा प्रवन्ध सम्पादक गौतम भुसाल, रेडियो मुक्तिका स्टेशन म्यानेजर कल्पना तिवारी र समता टेलिभिजनका सञ्चालक कमल रायमाझीले सञ्चारमाध्यमका अवसर र चुनौतीका विषयमा आ-आफ्ना धारणा राखेका थिए।
कार्यक्रमको सहजीकरण पत्रकार कपिल ज्ञवालीले गरेका थिए।
बहसमा सञ्चार माध्यमका सञ्चालक तथा सम्पादकहरुले अहिले रुपन्देहीसंगै समग्र देशको अर्थतन्त्रमा गीरावट आएकोले विज्ञानको अभावले सञ्चारमाध्यम अझ वढि समस्यामा परेको वताएका थिए।
उनिहरुले उद्योग व्यवसाय संकटमा रहेकोले विज्ञापन पाउन नसकेको र सरकारले निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निति लिएसंगै अझ वढि संकट पैदा भएको वताएका हुन्।
रुपन्देहीको शन्दर्भमा कुराकानी गर्दै रुपन्देहीमा काठमाडौंमा जस्तो ठूलो उद्यम व्यवसाय नभएको कारण कम परिमाणका विज्ञापन हुने र १-२सञ्चार माध्यमलाई दिंदा अन्य सञ्चार माध्यमहरूले नकारात्मकता फैलाउने गरेको समेत उल्लेख गर्दै सञ्चारकर्मी समेत संयमित हुनु आवश्यक रहेको धारणा राखेका थिए।

दोस्रो सत्रमा स्थानीय जनप्रतिनिधिहरु र वरिष्ठ पत्रकार तथा समालोचक संग स्थानीय तह प्रभावकारी वनाउन र स्थानीय सञ्चारमाध्यमलाई शशक्त वनाउन आवस्यक योजनाका विषयमा वहस गरिएको थियो।
जसमा बुटवल उपमहानगरपालिका उपप्रमुख प्रमुख सावित्रा अर्याल, देवदह नगरपालिकाका नगर प्रमुख धुर्ब खरेल, वरिष्ठ पत्रकार डिआर घिमिरेले बहस गर्दै भए गरेका कामहरु र गर्ने योजनाहरुसंगै स्थानीय तहलाई प्रभावकारी बनाउने र स्थानीय सञ्चारमाध्यमलाई आर्थिक रुपमा सबल वनाउन आवस्यक योजनाका बारेमा छलफल भएको थियो भने कार्यक्रमको सहजीकरण पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष अस्मिना पाण्डेले गरेकी थिइन्।
तेस्रो चरणको कार्यक्रममा उद्योगी व्यवसायी संघ संस्थाका अध्यक्षहरु संग उद्यम, व्यवसाय, वाणिज्य क्षेत्रका समस्या र समाधानका विषयमा वहस गरिएको थियो।
बहसमा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि अर्याल, रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुली, रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकाल, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्य र उद्योग व्यापार संघका अध्यक्ष लेखनाथ पन्थीले समस्या र समाधानका विषयमा वहस गरेका थिए भने कार्यक्रमको सहजीकरण पत्रकार रेखा भुसालले गरेकी थिइन्।
बहसमा बोल्दै उद्योगी, व्यवसायीहरुले २०७२को भुकम्प,कोरोना महामारी, नेपालको राजनैतीक अस्थिरता र अहिले अमेरिका र इरानबीचको द्वन्द्वले रुपन्देही मात्र नभएर नेपालकै अर्थतन्त्र समस्यामा परेको वताएका थिए।
उनिहरुले दुई ठुला अर्थतन्त्र बलियो रहेका भारत र चीनको बजारसंग प्रतिस्पर्धा गर्न कठिनाइ भएको र सिमानामा भएको विकृति समेतका कारणले समस्यामा परेको वताएका थिए।
उद्योगी, व्यवसायी, जनप्रतिनिधि, पत्रकार र सरोकारवालाको उपस्थिति रहेको कार्यक्रम पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेको अध्यक्षता र सचिव सिपि खनालको सञ्चालनमा सम्पन्न भएको थियो।
सम्मेलनमा विभिन्न ९ वटा विषयमा समुहगत छलफल (प्यानल डिस्कसन) हुने छ । जस अन्तरगत दोस्रो दिन आईतबार ६ वटा विषयमा समुहगत छलफल गरिने छ। तेस्रो दिन सोमबार देशभरबाट सहभागी प्रतिनिधिहरु बीच प्रदेशगत रुपमा पत्रकारिताको विगत, वर्तमान र भविष्य बारे चुनौतिसहित अवसर बारेमा छलफल गरि निश्कर्ष निकालिने कार्यतालिका रहेको छ ।

सम्मेलनमा रुपन्देही बाहिरबाट एक सय जना बढी प्रतिनिधिहरु सहभागी भएका छन् भने जिल्लामा रहेका पत्रकार तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुसहित ३ सय बढीको सहभागिता रहेको उपाध्यक्ष विश्वास ढकालले जानकारी दिए ।
यसैगरी दोस्रो दिन आइतबार ‘लुम्बनीको पर्यटन: पर्यटक र पैसा कसरी भित्राउने ?’ भन्ने विषयमा छलफल गरिँदैछ । उक्त छलफलमा सरकारका प्रतिनिधि, पर्यटनविद, व्यवसायी तथा स्थानीय सरकारका प्रतिनिधिहरुसँग सहभागी हुँदै छन् । उक्त छलफललाई पत्रकार प्रदिप आचार्यले सहजिकरण गर्ने छन् । ‘आर्थिक संकटमा मिडिया, अबको बाटो ?’ भन्ने विषयमा राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यममा लामो समय व्यवस्थापन क्षेत्रमा रहेर काम गरेका प्रतिनिधिहरुसँग छलफल गरिँदै छ । उक्त छलफललाई महासंघ रुपन्देहीका कोषाध्यक्ष नरेश केसीले सहजीकरण गर्ने भएका छन् । यसैगरी ‘प्रश्नको घेरामा मिडिया, कसरी जिल्ने पाठक दर्शक र श्रोताको मन ?’ भन्ने विषयमा महासंघका पूर्व केन्द्रीय अध्यक्षसहित लामो समय अनुभव प्राप्त सम्पादक तथा सञ्चारकर्मीहरुसँग छलफल गरिँदै छ । उक्त छलफललाई पत्रकार अमृता मनमोलले सहजीकरण गर्ने कार्यतालिका रहेको छ ।
आइतबार नै हुने ‘परम्परातगत मिडियामाथि डिजिटल प्लेटफर्मको चुनौती’ विषयक समुहगत छलफललाई महासंघ रुपन्देहीका सचिव पत्रकार सीपी खनालले सहजीकरण गर्दै छन् भने ‘मिडिया नीति कस्तो हुनुपर्छ’ भन्ने विषयमा पत्रकार भवानी पाण्डेले सहजिकरण गर्ने छन् । विभिन्न राजनीतिक दल सम्बद्ध पत्रकार संघ-संगठनका केन्द्रीय अध्यक्षहरु सहभागी हुने ‘मिडियाकर्मी: वाचडग कि राजनीतिक खेलाडी ?’ विषयक छलफललाई पत्रकार दिपेन्द्र कुंवरले सहजिकरण गर्दै छन् ।
देशरभरबाट आएका प्रतिनिधिहरुलाई आवास तथा आवश्यक सम्पूर्ण व्यवस्था पत्रकार महासंघ रुपन्देहीले गरेको छ।
विभिन्न जिल्ला तथा सातै प्रदेशका महासंघ प्रतिनिधिहरु, केन्द्रीय पदाधिकारी तथा विभिन्न सञ्चार गृहका प्रतिनिधिहरु बीच छलफल हुने सम्मेलनको अन्तिम दिन सोमबार बुटवल घोषणापत्र जारी गर्दै कार्यक्रम समापन हुनेछ ।
सम्मेलनमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलको संयोजकत्वमा गठन गरिएको समितिले घोषणापत्र लेखन गर्नेछ ।