
काठमाडौँ
जेनजी गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि नयाँ अनुहारभन्दा पनि नेतृत्व गर्ने शैली, राजनीतिक संस्कार र दलभित्रको लोकतान्त्रिक अभ्यास परिवर्तन आवश्यक रहेको बताएका छन् ।
कान्तिपुर कन्क्लेभको दोस्रो दिन ‘गणतन्त्रको नयाँ आवाज’ सत्रमा उनीहरूले व्यक्तिकेन्द्रित राजनीतिले लोकतन्त्र कमजोर बनाएको निष्कर्ष निकाल्दै मूल्य, विधि र प्रक्रियामा आधारित राजनीतिक अभ्यासको खाँचो औंल्याएका हुन् ।
कान्तिपुरकर्मी दया दुदराज सहजकर्ता भएको सत्रका जेन–जी अभियन्ता रक्षा बम, माजिद अन्सारी, प्रदीप ज्ञवाली र अजय कुशवाहा वक्ता थिए ।
जेन–जी अभियन्ता बमले ‘नयाँ’ को अर्थ अनुहार वा व्यक्तिको प्रतिस्थापन नभई सोच, व्यवहार र नेतृत्व संस्कारको परिवर्तन भएको बताइन् । ‘हामीलाई एउटा केपी ओली फालेर अर्को ओली चाहिएको होइन,’ उनले भनिन्, ‘दलभित्र सुधार चाहिएको हो, दलको लोकतन्त्र बलियो भए मात्र देशको लोकतन्त्र बलियो हुन्छ ।’
उनका अनुसार लामो समयदेखि दलहरूभित्र केन्द्रीकृत शक्ति, असहिष्णु प्रवृत्ति र आलोचनाप्रति असहजता हाबी हुँदै आएको छ । यही कारणले युवा पुस्ता निराश भएर सडकमा उत्रन बाध्य भएको उनको भनाइ छ । ‘राजनीतिक संस्कार परिवर्तन गर्नुपर्ने बेला आइसकेको छ,’ उनले भनिन्, ‘हामीले हाम्रो उमेरअनुसार समयसापेक्ष परिवर्तनको माग गरेका थियौं ।’
चुनावमा उम्मेदवार बन्न विभिन्न दलबाट प्रस्ताव आएको विषयमाथि पनि उनलाई प्रश्न गरिएको थियो । उनले आफू संसद्भन्दा सडकलाई नजिक ठान्ने स्पष्ट पारिन् । ‘म अझै केही सिक्दै छु, राजनीति मेरो व्यक्तिगत कुरा हो,’ उनले भनिन्, ‘विभिन्न दलले राखेका प्रस्तावप्रति म कृतज्ञ छु, तर चुनाव नलड्ने मेरो सोच थियो ।’
उनले सडकलाई लोकतान्त्रिक मूल्य र मान्यता जोगाउने प्रभावकारी थलोका रूपमा व्याख्या गरिन् । ‘सडक मेरो नजिक छ । सडकले प्रश्न सधैं जीवित राख्छ,’ उनले भनिन्, ‘सडकमै रहेर प्रश्न गर्दा र पारदर्शिताको माग गर्दा त्यो अझ बलियो हुन्छ ।’
उनले नेताको भूमिकाबारे धारणा राख्दै भनिन्, ‘जनताका नेता हुन्छन्, मालिक हुँदैनन् । नेताले मालिक बन्नु हुँदैन । जनताको नेता भएर जाने हो भने उहाँहरू आफैं जनतामाझ जानुपर्छ, जनताले खोजेर होइन ।’ नेतृत्व जनताबाट टाढा हुँदा लोकतन्त्र कमजोर हुने उनले बताइन् ।
जेन–जी पुस्तामा राजनीतिक चेतना छैन भन्ने आरोपप्रति असहमति जनाउँदै रक्षाले नागरिकस्तरको राजनीतिक चेतना नै लोकतन्त्रको मेरुदण्ड भएको बताइन् । ‘जेन–जीहरू जुन मुद्दा बोकेर सडकमा उत्रिए, त्यो सानो राजनीतिक चेतनाले सम्भव हुँदैन,’ उनले भनिन्, ‘सुशासनका लागि, आफ्नो भविष्य आफ्नै देशमा देख्न सकौं भनेर उनीहरू आन्दोलनमा आएका हुन् ।’
उनका अनुसार सबै नागरिक राजनीतिज्ञ हुनुपर्छ भन्ने होइन, तर सचेत नागरिक हुनु लोकतन्त्रका लागि अनिवार्य छ । ‘सबैमा राजनीतिज्ञ जस्तो चेतना आवश्यक छैन,’ उनले भनिन्, ‘तर नागरिकस्तरको राजनीतिक चेतना जेन–जी पुस्तासँग छ, र त्यही चेतनाले गणतन्त्रलाई जोगाइराख्नेछ ।’
सत्रमा सहभागी अन्य वक्ताले पनि जेन–जी आन्दोलन सत्ता कब्जाको प्रयास नभई संघीय लोकतान्त्रिक गणतन्त्रलाई व्यवहारमा बलियो बनाउने संघर्ष भएको बताए । उनीहरूले दलभित्रको आन्तरिक लोकतन्त्र, पारदर्शिता, समावेशिता र जवाफदेहिताबिना गणतन्त्र संस्थागत हुन नसक्ने निष्कर्ष निकाले ।
जेन–जी अभियन्ता माजिद अन्सारीले लोकतन्त्रलाई भुइँमान्छेको जीवनसँग नजोडेसम्म गणतन्त्र अर्थहीन हुने बताए । ‘मुकुलुङ र पाथीभरा पुगेर फोटो खिच्दैमा त्यहाँका जनताको सम्मान हुँदैन,’ उनले भने, ‘भुइँमान्छेलाई नसुन्ने र नगन्ने लोकतन्त्र काम लाग्दैन ।’
उनका अनुसार अहिलेको बहस ‘न्यु पिपुल’ भन्दा पनि ‘न्यु भ्यालु’ मा केन्द्रित हुनुपर्नेछ । ‘लोकतन्त्रलाई अंकगणितमा सीमित गरेर हेर्नु हुँदैन,’ उनले भने, ‘सत्ताले बहुसंख्यकको आवाज कसरी सुन्छ र अल्पसंख्यकको अधिकार कसरी जोगाउँछ, त्यो लोकतन्त्रको मापन हो ।’
अन्सारीले प्रमुख दलहरूमा महाधिवेशन, विशेष महाधिवेशन र एकता भए पनि लोकतन्त्र सुदृढ गर्ने काम नभएको टिप्पणी गरे । संविधानले दिएको अधिकार कानुनमार्फत कटौती गरिएको आरोप लगाउँदै उनले सूचना प्रविधि, प्रहरी र कर्मचारीसम्बन्धी विधेयकलाई पश्चगमनतर्फको प्रयास भएको आरोप लगाए ।
सिंहदरबार जलाउने घटनाप्रति असहमति जनाउँदै अन्सारीले दोषीमाथि कारबाही हुनुपर्ने बताए । ‘आन्दोलन आवश्यक छ,’ उनले भने, ‘तर त्यो लोकतान्त्रिक हुनुपर्छ ।’ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा जेन–जी अभियन्ता प्रदीप ज्ञवालीले नयाँ र पुरानाबीचको बहसलाई सतही रूपमा बुझ्न नहुने बताए । ‘नयाँ हुनु भनेको इतिहास मेट्नु होइन,’ उनले भने, ‘इतिहासका पानालाई सम्मान गर्दै नयाँ बाटो निर्देश गर्न सक्नु नै नयाँपन हो ।’
राजनीतिक अभ्यासको अनुभव सुनाउँदै उनले गाउँमा भोट किनबेचको यथार्थ चित्र प्रस्तुत गरे । आन्दोलनका मुद्दालाई संस्थागत गर्न पार्टी राजनीतिमा प्रवेश गरेको स्पष्ट पार्दै उनले भने, ‘फरक–फरक सरकार बनेर मुद्दा हराउने जोखिम हुन्छ । पार्टीभित्र बसेर मात्रै ती मुद्दा संस्थागत गर्न सकिन्छ ।’ आफूलाई आतंकवादी वा विदेशी दलालको आरोप लगाइने गरेको प्रसंग उठाउँदै उनले विगतका आन्दोलनकारीलाई पनि यस्तै आरोप लगाइएको स्मरण गराए ।
नेकपाबाट बारा–५ का उम्मेदवार अजय कुशवाहाले नयाँ र पुरानाको बहसभन्दा पनि आन्दोलन किन भयो भन्ने प्रश्नमा ध्यान दिनुपर्ने बताए । ‘अहिले सदनमा सरकार कसको बन्छ भन्ने चासो छ,’ उनले भने, ‘विकास कसरी हुन्छ भन्ने होइन ।’ आफू उम्मेदवार बनेको क्षेत्रमा आधारभूत विकाससमेत नभएको उल्लेख गर्दै उनले जनताको चाहना ठूलो सपना नभई सामान्य आवश्यकतासँग जोडिएको बताए । उनले भने ‘मानिसहरूलाई चिल्ला भाषण होइन, पानी, बाटो र शिक्षा चाहिएको छ,’ ।