
काठमाडौं
युक्रेनमा चार वर्षभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने नयाँ कूटनीतिक प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफबीच बुधबार भेटवार्ता भएको छ।
रूसको सेन्ट पिटर्सबर्गस्थित कन्स्टान्टिन दरबारमा भएको भेटवार्तामा युद्धविरामका नयाँ प्रस्ताव र अमेरिका, रूस तथा युक्रेनबीच त्रिपक्षीय वार्ता पुनः सुरू गर्ने विषयमा छलफल भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स र एसोसिएटेड प्रेस (एपी) ले जनाएका छन्।
विटकफले पुटिनसँगको भेटमा युक्रेन युद्ध अन्त्य गर्ने सम्भावित उपायसम्बन्धी दस्तावेज प्रस्तुत गरेका थिए।
उनले तीन देशका प्रतिनिधि सम्मिलित वार्ता पुनः सुरू गर्न प्रस्ताव गर्दै प्राविधिक टोलीमार्फत शान्ति सम्झौताको आधार तयार गर्न सकिने बताएका छन्।
पुटिनले पनि युद्ध अन्त्य गर्ने अमेरिकी प्रयासप्रति धन्यवाद व्यक्त गरेका छन्। यद्यपि भेटवार्ताबाट तत्काल युद्धविराम वा शान्ति सम्झौतामा सहमति जुटेको घोषणा भएको छैन।
विटकफले मंगलबार नर्वेको राजधानी ओस्लोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, नर्वे र फिनल्यान्डका नेताहरू तथा युरोपेली र नेटो प्रतिनिधिहरूसँग छलफल गरेका थिए।
अमेरिकी अधिकारीहरूका अनुसार उक्त छलफलमा युक्रेनको सुरक्षा सुनिश्चित गर्ने व्यवस्था, युद्धपछि पुनर्निर्माण तथा आर्थिक विकास र युरोपेली सुरक्षासम्बन्धी प्रस्तावमाथि महत्त्वपूर्ण प्रगति भएको छ।
फिनल्यान्डका राष्ट्रपति अलेक्जान्डर स्टबले पनि ओस्लो बैठकले शान्ति प्रयासमा वास्तविक प्रगति गरेको बताएका छन्।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्य गर्न तत्काल लडाइँ रोक्नु न्यूनतम आवश्यकता भएको बताएका छन्। तर रूसले पूर्वी युक्रेनको डोनेत्स्क क्षेत्रमाथि पूर्ण नियन्त्रण र युक्रेन नेटोमा सामेल नहुने सुनिश्चितता चाहेको छ।
यी विषयमा दुवै पक्षबीच गम्भीर मतभेद कायम रहेकाले शान्ति सम्झौताको सम्भावना अझै अनिश्चित छ।
पछिल्ला दिनमा ट्रम्प प्रशासन र युक्रेनबीचको सम्बन्ध समेत तनावपूर्ण बनेको छ। रूससँग अमेरिकी इन्धन सम्झौता भएपछि युक्रेनले अमेरिकी सैन्य तथा गुप्तचर सहयोग प्रभावित भएको गुनासो गरेको थियो।
जेलेन्स्कीले भने रूसबाट हुने क्षेप्यास्त्र आक्रमणसम्बन्धी पूर्वसूचना फेरि प्राप्त हुन थालेको बताएका छन्।
भेटवार्ताकै अवसरमा रूसले सन् २०२२ देखि हिरासतमा रहेका ७४ वर्षीय अमेरिकी नागरिक स्टिफन हबर्डलाई रिहा गरेको छ। यसलाई दुई देशबीच विश्वास बढाउने कदमका रूपमा हेरिएको छ।
तर कूटनीतिक प्रयास जारी रहेकै बेला बुधबार युक्रेनका विभिन्न स्थानमा रूसी आक्रमणबाट पाँच जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले जनाएका छन्।
रूसले सन् २०२२ फेब्रुअरी २४ मा युक्रेनमाथि पूर्ण स्तरको आक्रमण सुरू गरेको थियो। त्यसयता पटक पटक वार्ता भए पनि युद्ध अन्त्य गर्ने सम्झौता हुन सकेको छैन।
विटकफ र पुटिनबीचको यो नवौं प्रत्यक्ष भेट हो। नयाँ वार्ताले तीन देशका नेताहरूबीच प्रत्यक्ष छलफलको बाटो खोल्छ कि खोल्दैन भन्ने अझै स्पष्ट भएको छैन।