
बुटवल
प्रतिनिधि सभा निर्वाचन हुन ६२ दिन बाँकी छ। निर्वाचनको मिति नजिकिदै गर्दा निर्वाचन कार्यालयहरु अस्थायी मतदाताको सूची तयार गर्ने, जनशक्ति व्यवस्थापन र सामग्री व्यवस्थापनतर्फ जुटेका छन्।
जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार अहिले दलहरुले निर्वाचनसँग सम्बन्धित सामग्रीहरु लैजाने र निर्वाचनबारे जानकारी लिने गरिरहेका छन्।
निर्वाचन कार्यालय रुपन्देहीकी प्रमुख कल्पना अर्याल भन्छिन्-‘हामी निर्वाचन आयोगको तालिकाअनुसार नै काम गरिरहेका छौं, अहिले हामीले जिल्लाभर कति जनशक्ति चाहिन्छ र कसरी व्यवस्थापन गर्ने भन्ने काम गरिरहेका छौं, छिटै नै निर्वाचनका लागि जनशक्ति व्यवस्थापन हुन्छ र अरु कामहरु पनि अघि बढ्छन्।’
उनले जिल्लाभरका सरकारी कार्यालयबाट निर्वाचनमा खटिनसक्ने कर्मचारीहरुको सूची तयार भइरहेको र निर्वाचन क्षेत्रहरुमा पनि तयारीको काम अगाडि बढेको बताइन्।
रुपन्देहीमा ६ लाख ७२ हजार ५२३ जना मतदाता छन्। जसमध्ये ३ लाख ४६ हजार २०३ जना पुरूष मतदाता र ३ लाख २६ हजार ३११ जना महिला मतदाता हुन्। रूपन्देहीमा २०९ वटा मतदानस्थल र ७३२ वटा मतदान केन्द्र तोकिएका छन्।