देशभर हुस्सु र कुहिरोले हवाई उडान प्रभावित


काठमाडौँ

बिहानीपख बाक्लो हुस्सु र कुहिरोले ‘भिजिबिलिटी’ कमजोर हुँदा मुलुकको हवाई उडान प्रभावित भएको छ । विशेष गरी तराई क्षेत्रका विमानस्थलमा हवाई उडान अवरुद्ध भइरहेको छ । 

पछिल्लो एक सातादेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुस्सु र कुहिरोले उडान प्रभावित भएको छ । गत बिहीबार थाइल्याण्डको बैंककबाट आएको थाइ एयर एसियाको विमान भैरहवा माथिको आकाशमा करिब एक घण्टा फन्को लगाउने ‘होल्ड’ भएका थिए  । केही दिनयता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कमजोर हुदाँ अन्तर्राष्ट्रिय उडान प्रभावित भइरहेका छन् । 

बिहानका लागि निर्धारित उडान ‘डिले’ हुने गरेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार बिहान हुस्सु र कुहिरोले भिजिबिलिटी कमजोर हुँदा उडान प्रभावित भइरहेको छ । बिहानका उडान डिले भइरहेका छन् । केही दिनयता बिहान ११ र १२ बजेपछि मात्रै आकाश राम्ररी खुलेर उडान तथा अवतरण भइरहेको उनले बताए ।
      
काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि केही दिनयता बिहान हुस्सु लाग्ने गरेकाले उडान सामान्य प्रभावित भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार जाडो समय भएकाले पनि बिहानको समय हुस्सु बढिरहेको छ । केहि दिनअघिदेखि बिहान समस्या रहे पनि मध्यान्ह आकाश खुल्दै जानेक्रम चलिरहेको छ । 

महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले बिहान हुस्सु र कतिपय स्थानमा कुहिरो लागेकाले भिजिबिलिटी कमजोर भइरहेको बताए । उनका अनुसार देशका पूर्वी र मध्य तराई क्षेत्रमा बाक्लो हुस्सु तथा कतिपय स्थानमा कुहिरो लाग्ने गरेकाले हवाई उडानमा समस्या भइरहेको छ । तुलनात्मक रुपमा पश्चिम तराईका विमानस्थलमा यो समस्या कम छ । बिहान चाँडै आकाश खुल्ने गरेको छ ।
      
मौसमविद् अधिकारीका अनुसार विश्वव्यापी मापदण्डअनुसार एक किलोमिटरभन्दा कम भिजिबिलिटी भएको अवस्थालाई कुहिरो भनिन्छ । एकदेखि पाँच किलोमिटरसम्मको पारदर्शितालाई हुस्सु भन्ने गरिएको छ । अहिले तराई क्षेत्रमा हुस्सु र कुहिरोले बढी समस्या भइरहेको छ । तराईका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ ।
      
“अहिले पहाडी र हिमाली क्षेत्रमा पारदर्शिता राम्रो देखिन्छ, नौदेखि १० किलोमिटर पारदर्शिता छ, तर तराईमा हुस्सु, कुहिरोले लाग्दा बढी समस्या देखिएको छ, तराईका धेरै स्थानहरुमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ”, मौसमविद् अधिकारीले भने । तत्कालै वर्षाको सम्भावना नरहेको र लामो समयदेखि वायुमण्डल प्रदूषण भएका कारण पनि हुस्सु र तुँवालो लाग्ने गरेको उनले उल्लेख गरे ।
      
पछिल्ला दिनमा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई सेवा कम्पनीले उडान प्रभावित बनिरहेको यात्रुलाई विभिन्न माध्यमबाट जानकारी गराइरहेका छन् । विराटनगर, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, नेपालगञ्ज, धनगढी, सुर्खेत, लुम्लिङ्टारलगायत विमानस्थलमा निर्धारित समयमा उडान हुन सकिरहेको छैन । काठमाडौँ बाहिरका विमानस्थल समयमै खुल्न नसक्दा काठमाडौँ विमानस्थलको उडान तालिकासमेत प्रभावित बनाएका छन्  ।
      
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार काठमाडौँको भिजुअल फ्लाइट रुल्स ९भिएफआर० उडानमा समस्या नरहे पनि अन्य विमानस्थलको उडान प्रभावित भइरहेको छ । भैरहवा र सिमरा विमानस्थलमा उडान भर्खरै खुलेको छ । आज बिहान झापाको चन्द्रगढी विमानस्थलबाहेक तराई क्षेत्रका सबैजसो विमानस्थल बन्द रहेको र अहिले भिजिबिलिटीमा सुधार आएपछि क्रमशः विराटनर, जनकपुर, सिमरा, भैरहवा विमानस्थल खुलेको प्रवक्ता शेर्पाले जानकारी दिए । 

उनका अनुसार सबैभन्दा ढिला खुलेका भैरहवा र सिमरा विमानस्थल हो । गौतमबुद्ध विमानस्थल आज मध्याह्न १२ः५० मा खुलेको छ । काठमाडौँ बाहिरका गन्तव्यमा उडान डिले भइरहेका छन् । विमानस्थल बिहान ढिला खुलेकाले उडानहरु डिले भइरहेका हुन् । “उडान नियमित भइरहकेका छन् तर निर्धारित समयमा हुनसकेका छैनन्”, प्रवक्ता शेर्पाले भने ।
      
काठमाडौँमा पनि बिहानीपख हुस्सु लाग्ने गरेकाले हवाई उडान सामान्य प्रभावित बनिरहेको छ । अहिले काठमाडौँको आकाशमा भिजिबिलिटी छ किलोमिटर छ । आज बिहान ६ देखि १० बजेसम्म न्यूनतम पारदर्शिता तीन हजार ५०५ सय मिटर रहेको थियो । बिहान ६ देखि १० बजेको समयमा हुस्सु थियो ।
      
देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाउँदै महाशाखाले कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

छुटाउनुभयो कि ?

विगतका कमजोरी सल्टाउन पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक– एमाले महासचिव पोखरेल

विगतका कमजोरी सल्टाउन पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक– एमाले महासचिव पोखरेल

बुटवलनेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक रहेको बताएका छन्। पार्टीभित्र आन्तरिक कमजोरी ...
एमबीएसको प्रश्नपत्र बाहिरिएको घटनामा त्रिविले गठन गर्यो छानबिन समिति

एमबीएसको प्रश्नपत्र बाहिरिएको घटनामा त्रिविले गठन गर्यो छानबिन समिति

काठमान्डौँ त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले एमबीएस प्रथम सत्रको प्रश्नपत्र बाहिरिएको घटनाबारे छानबिन गर्न समिति गठन गरेक...
लुम्बिनी प्रदेशमा कांग्रेसले सरकार छाड्यो, एमाले र नेकपाको सरकार बन्ने

लुम्बिनी प्रदेशमा कांग्रेसले सरकार छाड्यो, एमाले र नेकपाको सरकार बन्ने

बुटवलनेकपा एमाले र नेकपाबीच सत्ता साझेदारीको सहमतिपछि लुम्बिनी प्रदेशमा एमालेको सत्ता साझेदार दल कांग्रेसका मन्त्रीले राजीनाम...
सातै प्रदेशमा एमाले र नेकपाको सरकार बन्ने सहमतिपछि कांग्रेसको भनाई

सातै प्रदेशमा एमाले र नेकपाको सरकार बन्ने सहमतिपछि कांग्रेसको भनाई

कांग्रेसको भनाईकाठमाडौंनेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच पाँच वटा प्रदेशमा भागबन्डाका आधारमा र थप दुई प्रदे...