
बुटवल
नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उपाधिका लागि आज शनिबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच निर्णायक प्रतिस्पर्धा हुँदैछ। दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिदै छन्।
फाइनलअघि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल र सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले आफ्नो टोलीको तयारी, रणनीति र चुनौतीबारे धारणा राखेका थिए।
लुम्बिनी पछिल्ला खेलमा हासिल गरेको सफलतालाई निरन्तरता दिने योजनामा छ भने सुदूरपश्चिम विपक्षीको बलियो बलिङ आक्रमण सामना गर्दै उपाधि आफ्नो पक्षमा पार्ने दाउमा छ।
यी दुई टोलीबीचको फाइनल प्रतिस्पर्धा कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा अपराह्न ५ः०० बजेदेखि सुरु हुनेछ । लुम्बिनी लगातार दोस्रोपटक उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेको हो । उसले गत संस्करणमा सुदूरपश्चिमलाई हराएर उपाधि जितेको थियो ।
सुदूरपश्चिम पहिलोपटक उपाधि जित्ने योजनामा छ । उसले पहिलो संस्करणमा जनकपुर बोल्ट्स र गत संस्करणको फाइनलमा लुम्बिनीसँग पराजय व्यहोरेको थियो ।
हालसम्म एनपिएलमा लुम्बिनी र सुदूरपश्चिमबीच पाँच खेलमा भेट भएको छ । जसमा लुम्बिनीले तीन र सुदूरपश्चिमले दुई खेलमा जित निकालेको छ ।