
काठमाडौं
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण नेपाल–भारत सम्बन्धलाई गुणात्मक ढंगले अघि बढाउँदै दीर्घकालीन राष्ट्रिय हितका एजेन्डा प्रभावकारी रूपमा प्रस्तुत गर्ने अवसर हो।
भ्रमणमा व्यापार घाटा न्यूनीकरण, भारतीय लगानी आकर्षण, नेपाली कृषिजन्य वस्तुको निकासी अवरोध हटाउने, नयाँ हवाईमार्ग र जलविद्युत् व्यापारका विषयलाई प्राथमिकता दिनुपर्छ।
सीमा विवाद, पञ्चेश्वर आयोजना, ईपीजी प्रतिवेदन तथा विपद् जोखिम न्यूनीकरण संयन्त्रजस्ता जटिल विषयमा राजनीतिक तहको संवाद र निरन्तर कूटनीतिक पहल आवश्यक छ।
नेपालले सबै किसिमका समस्या समाधानका लागि कूटनीतिक संवादलाई जोड दिँदै आएको छ । प्रधानमन्त्रीको भ्रमण त्यस्तै अवसर हो । यद्यपि, लामो समयदेखि विवादित विषय तत्कालै नटुंगिन सक्छन् । तर, त्यस्ता विषयमा आफ्ना सरोकार राख्नबाट भने पन्छिनु हुँदैन । कूटनीतिमा आफ्नो एजेन्डाको निरन्तरता महत्त्वपूर्ण हुन्छ ।
६–७ मंसिरमा हुने भ्रमणपछि प्रधानमन्त्री वालेन्द्र शाहले भारतसँग कस्तो सम्बन्ध राख्न चाहन्छन्, कस्ता साझा मुद्दामा सहकार्य गर्न चाहन्छन् र कस्ता संयन्त्रमा भर पर्छन् भनेर ठम्याउन सहज हुनेछ । राजनीतिमा लामो विरासत नभएको र उदय प्रक्रिया पनि भिन्न भएका कारण प्रधानमन्त्री शाहसँग भारतसँगको सम्बन्धलाई गुणात्मक ढंगले अघि बढाउने अवसर छ । साथै, दुई देशबीचमा समस्या र असमझदारीलाई पनि रचनात्मक ढंगले न्यूनीकरण गर्दै लैजाने अवसर पनि छ । यसर्थ, भारत भ्रमणका क्रममा दुई प्रधानमन्त्रीले नेपालको दीर्घकालीन हित हुने एजेन्डालाई प्रभावकारी रूपमा प्रस्तुत गर्दै दुई पक्षीय सहमति र सहकार्य अभिवृद्धि गर्नेछन् भन्ने अपेक्षा गर्नु वाञ्छनीय हुनेछ ।