
काठमाडौँ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनमा आफ्नो रिपब्लिकन पार्टीले बेहोरेको पराजयमा इरान युद्धको भूमिका रहेको स्वीकार गरेका छन् ।
रिपब्लिकन पार्टीले अमेरिकी संसद्का दुवै सदन गुमाएपछि पहिलोपटक सार्वजनिक रूपमा बोलेका ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको टिप्पणीलाई ‘धेरै हदसम्म सत्य’ भनेकाे बीबीसीले बताएकाे छ ।
भान्सले इरान युद्धका कारण रिपब्लिकन पार्टीले निर्वाचनमा ठूलो क्षति बेहोरेको बताएका थिए । ट्रम्पले भने युद्धका कारण इन्धनको मूल्य बढ्नु नै पराजयको प्रमुख कारण रहेको बताए ।
दोस्रो कार्यकालको प्राथमिकतामध्ये एक रहेको ह्वाइट हाउसको नयाँ बलरुम निर्माणस्थलबाट ट्रम्पले बिहीबार सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले निर्वाचन परिणामबारे केही बोलेनन् । तर, त्यसपछि पत्रकारहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले निर्वाचन र सरकारका आगामी कामबारे धारणा राखे ।
रक्षामन्त्री पीट हेगसेथलाई पदबाट हटाउने कुनै योजना नरहेको पनि ट्रम्पले स्पष्ट पारे । हेगसेथले ‘निकै राम्रो काम’ गरिरहेको उनको भनाइ थियो ।
डेमोक्र्याटहरूसँग सहकार्य गर्न आफू तयार रहेको उनले बताए । तर, उनीहरूले अवरोध सिर्जना गर्ने खालको भूमिका खेल्न नहुने उनको सर्त थियो । डेमोक्र्याटहरूले ल्याउने विधेयक रोक्ने अधिकार भने आफूसँग सुरक्षित रहेको उनले उल्लेख गरे ।