
काठमाडौं
भारतीय विदेश सचिव विक्रम मिस्री बुधबार काठमाडौं ओर्लिँदा उनको आगमनले औपचारिक कूटनीतिक वृत्तमा मात्रै होइन, राजनीतिक वृत्तमा पनि एउटा रोचक चर्चा चलेको छ। परम्परागत कूटनीतिक पहिरन र सामान्य चस्मामा देखिने मिस्री यसपटक कालो चस्मा लगाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिए।
कालो चस्मा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को सार्वजनिक पहिचान बनिसकेको छ। काठमाडौं महानगरपालिकाको प्रमुख हुँदादेखि नै कालो चस्मामा देखिँदै आएका बालेन प्रधानमन्त्री बनेपछि पनि सार्वजनिक कार्यक्रमदेखि संसद् र अन्र्तराष्ट्रिय मञ्चसम्म यही शैलीमा प्रस्तुत भइरहेका छन्।
बालेनको यही ‘स्टाइल स्टेटमेन्ट’ स्थापित भएको काठमाडौंमा भारतका शीर्ष कूटनीतिज्ञ मिस्री पनि कालो चस्मामै देखिनुले उनको भ्रमणलाई एउटा फरक कोणबाट चर्चामा ल्याइएको छ। यद्यपि, मिस्रीले बालेनको शैलीलाई प्रभावित भएर वा कुनै सन्देश दिनकै लागि कालो चस्मा रोजेको भन्ने आधिकारिक आधार छैन।
तर, परराष्ट्र मामिलाका जानकारहरूले यसलाई पछिल्लो राजनीतिक परिवर्तनसँगै बदलिँदै गएको कूटनीतिक प्रस्तुतिको प्रतीकात्मक पक्षबाट पनि हेरेका छन्। तर, मिस्रीको भ्रमणको वास्तविक महत्त्व उनको पहिरनभन्दा पनि त्यसले बोकेको कूटनीतिक सन्देश र त्यस क्रममा हुने उच्चस्तरीय संवादमा केन्द्रित छ।
भारतका लागि पूर्वराजदूत शंकर शर्माका अनुसार मिस्री खासै कालो चस्मामा देखिने व्यक्ति हैनन्। उनी भन्छन्, ‘यो एउटा संयोग पनि हुन सक्छ। यद्यपि मैले मिस्रीजीलाई जानेसम्म उहाँ रेगुलर फ्रेममा देखिनुहुन्छ। कालो चस्मा खासै प्रयोग गर्नुहुन्थेन। अर्को के पनि हुन्छ भने कूटनीतिमा यत्तिको औपचारिकता हुने गर्छन्।’
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका मिस्रीले बुधबारै राजनीतिक तथा प्रशासनिक भेटघाट सुरु गरेका छन्। उनले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गर्नुका साथै परराष्ट्र सचिव राईसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गरेका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पनि उनको भेटवार्ता भएको छ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध पक्ष, आर्थिक तथा विकास साझेदारी र आगामी दिनमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। ऊर्जा, उड्डयन, व्यापार, खेलकुद र शिक्षालगायतका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा पनि विचार आदानप्रदान भएको थियो।
तर, मिस्रीको भ्रमणको मुख्य राजनीतिक उद्देश्य प्रधानमन्त्री बालेनको प्रस्तावित भारत भ्रमणको तयारी गर्नु हो। प्रधानमन्त्री बनेपछि बालेनको यो पहिलो द्विपक्षीय भारत भ्रमण हुनेछ। त्यसैले भ्रमणको मिति, कार्यसूची र नेपालले भारतसमक्ष उठाउने प्राथमिकताका विषय तय गर्न उनको भ्रमणलाई महत्त्वपूर्ण मानिएको छ।