
गुल्मी
गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं. ८, तुराङको कालिका गाउँमा स्वास्थ्य शिविरमा बुधबार सम्पन्न भएको छ। कालिकागाउॅंमा सन्चालित शिविर मा शान्तिपुर आखा उपचार केन्द्र द्वारा आखा दांत, नागरिक आरोग्य केन्द्र शान्तिपुर द्वारा आयुर्वेद सम्वन्धि परामर्श र सामी कार्यक्रमका सहजकर्ता मार्फत मनोसामाजिक परामर्श सेवा समेत प्रदान गरिएको छ।शिविरबाट २८ जनाले आयुर्वेद सेवा, ५० जनाले आंखा उपचार सेवा र ८० जना नागरिकले स्वास्थ्य परामर्श सेवा लिएका छन् ।
आर्थिक वर्ष २०८३/८४ को कार्यक्रमअन्तर्गत गाउँपालिकाले चन्द्रकोट आधारभूत अस्पतालका मेडिकल अफिसरहरूको उपस्थितिमा गाउँपालिकाका स्वास्थ्य संस्थाहरूभन्दा केही टाढा रहेका, अलि दुर्गम तथा विकट क्षेत्रका साथै आदिवासी जनजाति लगायत विपन्न नागरिकहरूको बसोबास रहेका बस्तीहरू छनोट गरी स्वास्थ्य सेवामा नागरिकहरूको सहज पहुँच पुर्याउने उद्देश्यले अभियानका रूपमा यी शिविरहरू सञ्चालन गरिरहेको छ।

पालिकामा असोज १५ गते चन्द्रकोट गाउँपालिका वडा नं. ३ को गैडुङ, १६ गते वडा नं. ४ को डाँडाबन, १९ गते वडा नं. ५ को मगरगाउँ, २० गते वडा नं. ७ को बाँसदी र बुधबार वडा नं. ८ को तुराङस्थित कालिका गाउँमा स्थानीय नागरिकहरूको उत्साहजनक सहभागितामा स्वास्थ्य शिविरहरू सम्पन्न भएका छन्।
स्वास्थ्य संस्थासम्म पुग्न चेतनाको अभाव, भौगोलिक दूरी तथा सहज पहुँचको कमीका कारण आफ्नो रोग लुकाएर घरमै बस्न बाध्य वृद्धवृद्धा, आर्थिक रूपमा विपन्न नागरिक तथा अशक्त व्यक्तिहरूलाई यी शिविरहरूले निकै ठूलो फाइदा पुर्याएको स्थानीय नागरिकहरूले बताएका छन्।

चन्द्रकोट आधारभूत अस्पतालका एमबीबीएस चिकित्सकहरू डा. रोशनकुमार यादव, डा. अरुण गैरे , स्वास्थ्य शाखा प्रमुख प्रकाशचन्द्र शर्मा तथा स्वास्थ्यकर्मीहरूको उपस्थितिमा सञ्चालन भएका यी शिविरहरूले नागरिकहरूमा गाउँपालिकाले प्रदान गर्दै आएको स्वास्थ्य सेवालाई आम नागिरकको अझै नजिक पुप्याउने लक्ष्य रहेको चन्द्रकोट गाउॅंपालिकाका अध्यक्ष युवराज खत्री क्षत्रीले वताउनु भयो।
गाउॅंपालिकाले यसरी गाउॅमै डाक्टर ल्याएर शिविर संचालन गरेकोमा धेरै खुशी लागेको स्थानिय केशवराज सापकोटाले वताउनुभयो।
शिविरहरुमा सुगर प्रेसर र मनोसामाजिक समस्या भएका नसर्ने खालको विरामी हरुको संख्या वढी रहेको र केही मात्रामा मात्र भाईरल जन्य विमारी भेटिएको चन्द्रकोट आधारभुत अस्पतालका मेडिकल अफिसर अरुण गैरेको विश्लेषण रहेको छ ।
गाउँपालिकाको स्वास्थ्य सेवा नागरिकको घरदैलो नजिकै पुर्याउने उद्देश्यले सञ्चालन गरिएको यो अभियानले विशेषगरी स्वास्थ्य संस्थासम्म सहज पहुँच पुग्न नसकेका नागरिकहरूलाई प्रत्यक्ष लाभ पुर्याउँदै आएको छ।
यसगरी यहि असोज २२ गते विशुखर्कको धौलादिप,२३ गते दिव्रुंग दह र २४ गते हरेवा को खादिकोट मा सुक्ष्म स्वास्थ्य शिविर संचालन हुने स्वास्थ्य शाखा प्रमुख प्रकाश चन्द्र शर्माले जानकारी दिनुभयो ।