
काठमाडौं
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएसँगै पार्टीको आगामी नेतृत्वका लागि चुनावी प्रतिस्पर्धाको तस्वीर स्पष्ट भएको छ। सभापतिदेखि विभिन्न समावेशी समूहका सहमहामन्त्रीसम्मका पदमा नेताहरूले उम्मेदवारी दिएका छन्।
केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक नामावलीअनुसार सभापति पदमा तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ। सभापति पदमा गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गी दौडमा छन्। सभापतिका तीन उम्मेदवारमध्ये थापा पार्टीको वर्तमान नेतृत्वमा रहेका प्रमुख नेता हुन् भने राठौर र खड्गीले पनि सभापतिमा उम्मेदवारी दिएपछि शीर्ष पदको चुनाव त्रिपक्षीय बनेको छ।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मात्रै उम्मेदवारी परेको छ। महिला उपसभापतिमा पनि पुष्पा भुसाल एकल उम्मेदवार बनेकी छन्। यी दुबै जनाकाे पदमा अन्य उम्मेदवारी नरहेकाले उनिहरू निर्विराेध नै भएका छन् । अन्य उपसभापति पदमा भने प्रतिस्पर्धा निकै फराकिलो देखिएको छ।