
काठमाडौँ
नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को उपाध्यक्षमा चयन भएको छ। कतारको राजधानी दोहामा आयोजित बैंकको ११औँ वार्षिक बैठकमा नेपाललाई आगामी वर्षका लागि उपाध्यक्ष पदमा चयन गरिएको हो।
नेपालका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले उक्त जिम्मेवारी ग्रहण गरेका छन्। नेपालसँगै आयरल्यान्ड पनि उपाध्यक्षमा चयन भएको जनाइएको छ।
बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपालजस्ता विकासशील देशको आर्थिक विकासका लागि पूर्वाधारमा लगानी बढाउनुपर्ने बताए। उनले सडक, विद्युत्, सञ्चार तथा सूचना प्रविधिका क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा जोड दिए। साथै, विकासशील देशको आवश्यकताअनुसार बैंकले सहुलियतपूर्ण ऋण उपलब्ध गराउनुपर्ने बताए।
वाग्लेले स्वदेशी तथा विदेशी निजी लगानी आकर्षित गर्न सहज हुने गरी वित्तीय सहयोग उपलब्ध गराउन पनि आग्रह गरे।
यसअघि अर्थमन्त्री वाग्लेले बैंककी अध्यक्ष जोउ जियायीसँग भेट गरी नेपालमा पूर्वाधार विकास, विपद्पछिको पुनर्निर्माण र सहुलियतपूर्ण वित्तीय सहयोग बढाउन आग्रह गरेका थिए