राजमार्गका जोखिमयुक्त पहिरो तीन वर्षभित्र व्यवस्थापन गर्ने सरकारको योजना



काठमाडौँ
राजमार्गमा बर्सेनि दोहोरिने पहिरो र सडकको जीर्ण अवस्थाले यात्रुलाई सास्ती दिइरहेका बेला सरकारले आगामी आर्थिक वर्षमा सडक सुरक्षा र पहिरो व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ । सडक सुरक्षाका लागि मात्रै ३४ अर्ब १५ करोड रुपैयाँ छुट्याइएको बजेटमध्ये पहिरोको दिगो व्यवस्थापनका लागि मात्र ३ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

सरकारले भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र खानेपानी मन्त्रालयलाई मर्ज गरेर पूर्वाधार विकास मन्त्रालय बनाएको थियो । तीनै मन्त्रालय मर्ज भएपछि यही मन्त्रालयमा सबैभन्दा धेरै ३ खर्ब २ अर्ब ८३ करोड ५२ लाख रुपैयाँ बजेट परेको छ ।

राजमार्गका उच्च जोखिमयुक्त स्थानमा जलवायु अनुकूलित संरचना निर्माण गर्न भन्दै पहिरोका कारण राजमार्गमा हुने अवरोधलाई तत्काल हटाई सेवा सुरु गर्न र यसको दिगो व्यवस्थापनका लागि सरकारले बजेटमा प्राथमिकता दिएको हो ।
राजमार्गमा पहिरो खसेर धेरै समस्या हुन थालेपछि त्यसको दिगो व्यवस्थापनका लागि आगामी आर्थिक वर्षबाट छुट्टै शीर्षक राखेर बजेट विनियोजन गरिएको सडक विभागका महानिर्देशक विजय जैसीले बताए । ‘पहिला राजमार्ग स्तरोन्नति शीर्षकमा पहिरो व्यवस्थापनका लागि थोरैथोरै बजेट राख्ने गरिन्थ्यो,’ उनले भने, ‘त्यो बजेटले नपुग्ने भयो, मन्त्रीबाट यसैमा केन्द्रित गर्ने गरी कार्यक्रम बनाऔं र तीन वर्ष भित्र देशभरका राजमार्गमा दुःख दिइरहने पहिरोको दिगो व्यवस्थापन गर्ने भनेअनुअसार बजेटमा राखिएको हो ।’

छुट्याइएको बजेटबाट राजमार्गमा समस्याका रुपमा रहेका पहिरोहरुमा काम हुने उनको भनाइ छ । अहिले पहिरो पहिचान गर्ने काम भइरहेको छ । ‘३३ वटा सडक डिभिजन कार्यालयलाई त्यस क्षेत्रमा बढी दुःख दिने पहिरोको नाम छानेर पठाउन भनेका छौं,’ उनले भने, ‘पहिरोको समस्या धेरै राजमार्गमा छ ।’ अहिले समस्या दिइरहेका धेरै पहिरोको तीन वर्ष भित्र समाधान गरिसक्ने र काम आगामी आर्थिक वर्षबाटै सुरु हुने दाबी उनको छ । पहिरो जाने ठाउँ पहिचान गरेर त्यसको डिजाइन गरिनेछ । त्यसपछि ठेक्का आह्वान गरेर काम अघि बढाइने महानिर्देशक जैसीले बताए ।

पहिरो पहिचानको प्रारम्भिक सूची बनाउने काम भएको सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता श्यामबहादुर खड्काको भनाइ छ । ‘कुनकुन ठाउँमा पहिरोको समस्या छ, पहिचान गर्ने काम हुँदै छ, यसबारे कुनै निर्णय भइसकेको छैन,’ उनले भने, ‘डिभिजन सडक कार्यालयहरुबाट आएको सूची अनुसार सबैभन्दा बढी समस्या गरीरहेका एक–एक वटा पहिरो छानेर काम गर्छौ ।’
आउने बर्खामा कान्ति राजमार्ग, बीपी राजमार्ग, नागढुंगा–मुग्लिन सडक, नारायणगढ–बुटवल सडकको दाउन्ने खण्ड, कोशी, कर्णाली, कालीगण्डकी करिडोर, साँफे–मार्तडी सडक, भालुबाङ–प्युठान सडक, सुर्खेत–नेपालगन्ज सडक, मेची राजमार्ग, नारायणगढ–मुग्लिन सडक, गल्छी–त्रिशूली–स्याफ्रुबेंसी–रसुवागढी सडकको विभिन्न खण्डमा पहिरोको जोखिम बढी छ ।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा विस्तार भइरहेको नागढुंगा–मुग्लिन सडकअन्तर्गत पहिरो खस्ने जोखिम रहेका क्षेत्रहरुमा फुर्के खोला, झ्याप्ले खोला, १३ किमि, चारकिलो, नागढुंगा सुरुङको मुख, रातमाटे, शीतलबजार नजिक, मलिंगा, विशाल बजार नजिक, ज्यामिरेघाट, जवाङ खोला, मौवा खोला र घोप्टेभीर छन् । नागढुंगा–नौबिसे सडकअन्तर्गत झ्याप्ले खोलामा असोज ०८१ मा रोकिराखेका माइक्रो बस र यात्रु बस पहिरोले पुर्दा ३५ जनाको मृत्यु भएको थियो ।

सरकारले आगामी वर्षदेखि काठमाडौं उपत्यका लागायतका प्रमुख सहरी सडकको नियमित मर्मत सम्भार गर्ने उद्देश्यका साथ धुलो र खाल्टाखुल्टी मुक्त बनाउने भन्दै ठूलो रकमको व्यवस्था गरेको छ । सडकको राष्ट्रव्यापी मर्मत सम्भार अभियानका रुपमा सञ्चालन गर्न भन्दै २८ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको हो । बजेटमा राखिएको मध्ये यो सबैभन्दा राम्रो कार्यक्रम भएको पूर्व सचिव केशवकुमार शर्माले बताए ।

उक्त पूरै बजेट सडक विभाग अन्तर्गत हो होइन भन्ने यकिन भइनसकेको विभागका प्रवक्ता खड्काले बताए । ‘राष्ट्रिय राजमार्गको मर्मत सम्भारलागि १० अर्ब बजेट माग्दा अघिपछि ४ अर्ब रुपैयाँ मात्र विनियोजन हुने गर्थ्यो,’ उनले भने, ‘आगामी बजेटमा अघिपछि विनियोजन हुने बजेटको तुलनामा दोब्बर बढी बजेट आएको छ ।’

विभागले प्रत्येक वर्ष मर्मतसम्भारको योजना बनाएअनुसार बजेट विनियोजन भएको र यसबाट ८० वटा राजमार्गका खाल्डाखुल्डी टाल्ने र मर्मत सम्भारको काम हुने उनको भनाइ छ ।

त्यस्तै, आगामी आर्थिक वर्षको बजेटमा प्रमुख सडक तथा चोकहरुमा ट्राफिक संकेत, चोक सुधार, सडक रेखांकन, क्र्यास ब्यारिएर र डिभाइडर जडान तथा मर्मतलाई निरन्तरता दिई सडक सुरक्षाका लागि २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसले छिटोछरितो, आरामदायी यात्रा र दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने सडक विभागको भनाइ छ।

छुटाउनुभयो कि ?

लुम्बिनी प्रदेश प्रहरीले गर्यो बार्षिक कार्य प्रगति सार्वजनिक- संसाधनको बृद्धिले घटना अभिलेखिकरणमा टेवा

लुम्बिनी प्रदेश प्रहरीले गर्यो बार्षिक कार्य प्रगति सार्वजनिक- संसाधनको बृद्धिले घटना अभिलेखिकरणमा टेवा

बुटवललुम्बिनी प्रदेश प्रहरीले सार्वजनिक गरेको बार्षिक कार्य प्रगतिमा संसाधनको बृद्धिले सडकमा हुने घटना, दुर्घटनाको अभिलेख राख...
कक्षाकोठाबाट संसदीय मूलधारसम्म कान्ति मावि- ‘मिनी संसद’, बहस र अनुशासनमा उब्जियो नयाँ प्रश्न

कक्षाकोठाबाट संसदीय मूलधारसम्म कान्ति मावि- ‘मिनी संसद’, बहस र अनुशासनमा उब्जियो नयाँ प्रश्न

बुटवलसंसदीय राजनीतिमा पछिल्लो समय बढ्दै गएको अमर्यादित व्यवहार र गतिविधिका माझ बुटवलस्थित कान्ति माध्यमिक विद्यालयको सभाहलमा ...
विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

काठमाडौँमेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। सर्ला...
निर्माणाधीन सिद्धबाबा सुरूङमार्ग- ७० प्रतिशत काम सकियो, तिन महिना भित्र सञ्चालनमा ल्याउने तयारी

निर्माणाधीन सिद्धबाबा सुरूङमार्ग- ७० प्रतिशत काम सकियो, तिन महिना भित्र सञ्चालनमा ल्याउने तयारी

बुटवलनिर्माणाधीन सिद्धबाबा सुरूङ मार्गको काम ७० प्रतिशत सम्पन्न भएको छ । आयोजनाले दिएको जानकारी अनुसार सुरूङ मार्गको वित्तीय ...