सवारी चालक चेकजाँचलाई थप प्रभावकारी बनाउँदै, रुपन्देही प्रहरी



बिश्वास ढकाल
बुटवल 
सवारी दुर्घटनाको सङ्ख्या बढ्दै गएपछि रुपन्देही प्रहरीले सवारी चालक चेकजाँचलाई थप प्रभावकारी बनाउँदै नयाँ शैलीको अभियान सुरु गरेको छ ।

यसअघि मादक पदार्थ सेवन (मापसे) र लापरबाहीपूर्ण सवारी सञ्चालन (लापसे) मा केन्द्रित प्रहरी अहिले लागु औषध सेवन गरेर सवारी चलाउने चालकलाई समेत कारबाहीको दायरामा ल्याउन सक्रिय बनेको हो ।
विशेष गरी गाँजा सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्दै गएको निष्कर्षपछि प्रहरीले स्वास्थ्य परीक्षणसहितको छड्के चेकजाँच अभियान सुरु गरेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवल, वडा प्रहरी कार्यालय रामनगर, लागु औषध नियन्त्रण ब्युरो भैरहवा र ट्राफिक प्रहरीको संयुक्त टोलीले बुटवल–नारायणगढ सडक खण्डको गणेशनगर चोकमा गरेको छड्के चेकजाँचका क्रममा ८ जना चालक लागु औषध सेवन गरेर सवारी चलाएको अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार सार्वजनिक यातायातका बस, टिप्पर, कन्टेनर, हाईस तथा केही निजी सवारी साधनका चालकहरूको परीक्षण गरिएको थियो । २५ जना चालकको पिसाब परीक्षण गर्दा ८ जनामा लागु औषध सेवन पुष्टि भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए ।

उनका अनुसार बढ्दो सवारी चापसँगै दुर्घटनाको सङ्ख्या पनि वृद्धि भइरहेको छ । चालकहरू तीव्र गतिमा सवारी चलाउने, सडक लेनको सही प्रयोग नगर्ने तथा ट्राफिक नियमप्रति पर्याप्त सचेत नदेखिएकाले स्वास्थ्यकर्मीको टोलीसहित सडकमै पुगेर चेकजाँच अभियान सुरु गरिएको हो ।

“दैनिक रूपमा यस्तो परीक्षण हुँदैन, तर जुनसुकै समयमा छड्के चेकजाँच हुन सक्छ,” प्रहरी नायब उपरीक्षक श्रीवास्तवले भने, “लागु औषध सेवन गरेर सवारी चलाउनु सार्वजनिक सुरक्षामाथिको गम्भीर खेलबाड हो ।”

वडा प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी निरीक्षक ईश्वरदेव गिरीका अनुसार परीक्षणमा चार जना टिप्पर चालक, एक मालवाहक कन्टेनर चालक, एक बोलेरो जिप चालक, काठमाडौँ–भैरहवा रुटमा चल्ने एक हाईस चालक तथा बुटवल–नारायणगढ रुटमा चल्ने एक बस चालक लागु औषध सेवन गरेको अवस्थामा भेटिएका हुन् ।

लुम्बिनी प्रदेश प्रहरी अस्पतालको मेडिकल टोली र लागु औषध ब्युरोको सहकार्यमा गरिएको परीक्षणमा रुपन्देहीका विभिन्न स्थानबाट हालसम्म २७ जना चालक लागु औषध सेवन गरेर सवारी चलाएको अवस्थामा पक्राउ परिसकेको प्रहरीले जनाएको छ । पक्राउ परेका चालकविरुद्ध लागु औषध सेवनसम्बन्धी मुद्दा दर्ता गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ ।

सार्वजनिक सवारी चालकले मादक पदार्थ वा लागु औषध सेवन गरेर सवारी चलाउँदा यात्रुको ज्यान जोखिममा पर्ने भएकाले यस्ता गतिविधिविरुद्ध कडा कारबाही आवश्यक रहेको स्थानीयवासीको भनाइ छ । नागरिकहरूले सडक सुरक्षाका लागि प्रहरीको यस्तो अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् ।

छुटाउनुभयो कि ?

समग्र लुम्बिनीको विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको छः मुख्यमन्त्री आचार्य

समग्र लुम्बिनीको विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको छः मुख्यमन्त्री आचार्य

अर्घाखाँचीलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकारले योजनाबद्ध रूपम...
चीनद्वारा दुईवटा बेली पुल हस्तान्तरण

चीनद्वारा दुईवटा बेली पुल हस्तान्तरण

काठमाडौंचीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्र सरकारले बाढी प्रभावित क्षेत्रमा जडान गर्न नेपाललाई दुईवटा बेली पुलका लागि आवश्य...
पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई १५ दिनमा ३ अर्बभन्दा बढी घाटा

पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई १५ दिनमा ३ अर्बभन्दा बढी घाटा

काठमाडौँनेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ। भारतबाट पेट्रोल र डिजेलको खरिद मूल्य प्रतिलि...
बुटवलको रारा मसला उद्योग बन्द नगर्न उच्च अदालतको अन्तरिम आदेश

बुटवलको रारा मसला उद्योग बन्द नगर्न उच्च अदालतको अन्तरिम आदेश

बुटवलउच्च अदालत तुलसीपुर, बुटवल इजलासले बुटवलस्थित बुटवल रारा मसला उद्योग बन्द गराउने घरेलु तथा साना उद्योग कार्यालय रुपन्देह...