निजी मिडियामाथि बालेन सरकारको प्रहार


बुटवल 
सरकारी निकायको सूचना-विज्ञापन सरकार मातहतका सञ्चार माध्यमबाट मात्रै दिनुपर्ने भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार मातहतका निकायलाई निर्देशन पठाएपछि सञ्चार तथा विज्ञापन क्षेत्र तरङ्गित बनेको छ ।

सरोकारवालहरूले सङ्घीय प्रणाली र सञ्चार क्षेत्रप्रति सरकारको दृष्टिकोणलाई लिएर सामाजिक सञ्जालमा प्रश्न उठाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सचिव स्तरीय निर्णयको हवाला दिएर बुधबार सङ्घीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेशका मुख्यमन्त्री कार्यालय तथा सबै स्थानीय तहलाई एकैपटक पत्र पठाएको हो । यसलाई निजी सञ्चारमाध्यममाथि प्रत्यक्ष प्रहारका रूपमा व्याख्या गरिएको छ ।

सरकारको यो कदमसँगै सार्वजनिक सूचना प्रकाशनबाट प्राप्त हुने आम्दानीमा निर्भर रहेका सयौँ निजी पत्रपत्रिका तथा छापा माध्यमहरू प्रभावित हुने भएका छन् । विशेष गरी जिल्ला स्तरमा सञ्चालनमा रहेका साना तथा मध्यम मिडियाका लागि यो निर्णय अस्तित्वकै सङ्कट निम्त्याउने भन्दै चिन्ता व्यक्त गरिएको छ ।

नेपाल पत्रकार महासङ्घले तत्कालै विज्ञप्ति जारी गर्दै निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ । महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा यसलाई “मिडियामाथिको आर्थिक नाकाबन्दी” को संज्ञा दिएको छ । विज्ञप्तिमा भनिएको छ, “सरकारले सूचना प्रकाशनको अवसर एकै सरकारी संस्थामा केन्द्रित गर्नु प्रेस स्वतन्त्रताको मर्म विपरीत छ र यसले प्रतिस्पर्धात्मक मिडिया वातावरणलाई कमजोर बनाउँछ ।”

महासङ्घका अनुसार, सार्वजनिक सूचना प्रकाशनको अधिकार सबै सञ्चार माध्यमले समान रूपमा पाउनुपर्छ । यसरी एउटा माध्यमलाई प्राथमिकता दिनु संविधानले सुनिश्चित गरेको समान अवसरको सिद्धान्त विपरीत हुने महासङ्घको ठहर छ ।

त्यस्तै, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल लगायतका पेसागत सङ्गठनहरूले पनि संयुक्त रूपमा विरोध जनाएका छन् । उनीहरूले यो निर्णयले मिडियाको बहुदलवादमाथि आघात पु¥याउने र सरकारी सूचना प्रवाहलाई एकपक्षीय बनाउने चेतावनी दिएका छन् ।

सञ्चार सम्बद्ध संस्थाहरूले पनि विज्ञप्ति जारी गर्दै विरोध जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, “सरकारले आफ्नै स्वामित्वको सञ्चार माध्यमलाई मात्रै प्राथमिकता दिनु निष्पक्ष सूचना प्रवाहको सिद्धान्त विपरीत हो । यसले सरकारप्रति आलोचनात्मक आवाजलाई कमजोर पार्ने र प्रेसलाई नियन्त्रण गर्ने दीर्घकालीन उद्देश्य झल्काउँछ ।”

निजी मिडिया सञ्चालकहरूका अनुसार सार्वजनिक खरीदसम्बन्धी सूचना प्रकाशनबाट आउने राजस्व उनीहरूको सञ्चालनको महत्त्वपूर्ण आधार हो । यो स्रोत बन्द हुँदा धेरै सञ्चार गृहहरू बन्द हुने अवस्थामा पुग्ने उनीहरूको चेतावनी छ । “यो निर्णयले साना पत्रिका र स्थानीय मिडियालाई प्रत्यक्ष असर पार्छ । उनीहरूका लागि यो जीवन–मरणको प्रश्न बन्न सक्छ,” एक प्रकाशकले भने ।

यता, सरकारी पक्षले भने निर्णयलाई ‘व्यवस्थित सूचना व्यवस्थापन’ को प्रयासका रूपमा व्याख्या गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक अधिकारीका अनुसार सरकारी सूचना एकीकृत रूपमा प्रकाशन गर्दा पारदर्शिता र पहुँच बढ्ने विश्वास गरिएको छ । “गोरखापत्र देशव्यापी पहुँच भएको माध्यम हो, त्यसैले सूचना प्रभावकारी रूपमा नागरिकसम्म पुग्ने अपेक्षा गरिएको हो,” ती अधिकारीले भने ।

तर सञ्चार विज्ञहरू भने यस तर्कसँग सहमत छैनन् । उनीहरूका अनुसार सूचना प्रवाहको विविधता नै लोकतन्त्रको मूल आधार हो । एकै माध्यममा सीमित गर्दा सूचनाको पहुँच सीमित हुनसक्ने र प्रतिस्पर्धात्मक वातावरण कमजोर हुने खतरा रहन्छ ।

मिडिया विश्लेषकहरू भन्छन्, यो निर्णयले सरकारी विज्ञापन वितरण नीतिमा पनि दीर्घकालीन प्रभाव पार्न सक्छ । यसअघि पनि सरकारी विज्ञापन वितरणमा पारदर्शिता र समानताको प्रश्न उठ्दै आएको सन्दर्भमा नयाँ निर्णयले विवाद थप चर्काउने सङ्केत देखिएको छ ।

सञ्चार क्षेत्रका सरोकारवालाहरूले सरकारसँग संवादमार्फत समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले निर्णय कार्यान्वयन अघि सरोकारवालासँग पर्याप्त छलफल नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

समग्रमा, सरकारी सूचना गोरखापत्रमै सीमित गर्ने निर्णयले प्रेस स्वतन्त्रता, मिडिया विविधता र आर्थिक स्थायित्वका सवालमा गम्भीर बहस जन्माएको छ । सरकार र सञ्चार क्षेत्रबिचको यो तनावले आगामी दिनमा कस्तो मोड लिन्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ ।
यसैबिच, सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष अर्जुन गिरीले सरकारको निर्णयप्रति कडा आपत्ति जनाएका छन् । उनले सरकारको यो कदम ‘पुरातन र सङ्कुचित सोचको उपज’ भएको टिप्पणी गर्दै यसलाई लोकतन्त्र र सङ्घीयताको आधारभूत मर्ममाथिको प्रहारका रूपमा व्याख्या गरेका छन् ।

उनका अनुसार आधुनिक र लोकतान्त्रिक समाजमा सूचना तथा विज्ञापन प्रवाह खुला र प्रतिस्पर्धी हुनुपर्नेमा सरकारले ‘सिन्डिकेट’ शैली अपनाएको छ । “लोकतन्त्र प्राप्तिका लागि पत्रपत्रिका, रेडियो र टेलिभिजनले खेलेको भूमिकालाई अवमूल्यन गर्दै ल्याइएको यो नीति प्रति उत्पादक हुन्छ,” उनले भने ।

गिरीले सञ्चार क्षेत्र पहिले नै नाजुक अवस्थामा रहेको उल्लेख गर्दै राज्यले अभिभावकत्व लिनुपर्नेमा झन् अप्ठ्यारोमा पार्ने काम गरेको आरोप लगाए । विशेष गरी स्थानीय तह र प्रदेशसँगको साझेदारीमा सञ्चालित सामुदायिक रेडियोहरू यस निर्णयबाट प्रत्यक्ष मारमा परेको उनको भनाइ छ ।

“स्थानीय सरकारसँग समन्वय गर्दै सुशासन र पारदर्शिताका लागि खबरदारी गरिरहेका रेडियोहरूको प्रवर्द्धनमा यो निर्णयले तगारो हालेको छ,” उनले भने, “मिडियाको दायरा खुम्च्याउने यो प्रयासले नागरिकको सुसूचित हुने अधिकारमा समेत बाधा पु¥याउँछ ।”

उनले संविधानले सञ्चार अधिकार स्थानीय र प्रदेश तहसम्म प्रत्यायोजन गरेको स्मरण गराउँदै प्रधानमन्त्री कार्यालयको निर्देशनले सङ्घीयताको मर्मलाई ठाडो चुनौती दिएको बताए । “केन्द्रको यही ‘स्पिरिट’ समातेर प्रदेश सरकारले समेत मिडियामैत्री बजेट कटौती गर्न थालेका छन्,” उनले भने, “लुम्बिनी प्रदेशको पछिल्लो छलफलले पनि यही सङ्केत दिएको छ, जसले सङ्घीयताको स्वायत्ततामाथि प्रश्न उठाएको छ ।”

गिरीले सरकारलाई चेतावनी दिँदै भने, “यो विभेदकारी नीति नसच्याइए सञ्चार क्षेत्रले स्वीकार गर्दैन, सशक्त आन्दोलनमा उत्रिन्छ ।”

छुटाउनुभयो कि ?

उद्यमीहरुलाई व्यवसायीक योजना तयारी तथा ऋण प्रक्रिया सम्बन्धी सहजिकरण कार्यशाला

उद्यमीहरुलाई व्यवसायीक योजना तयारी तथा ऋण प्रक्रिया सम्बन्धी सहजिकरण कार्यशाला

बुटवलरुपन्देही उद्योग संघको सहजिकरणमा घरेलु तथा साना उद्योग कार्यालय, सिद्धार्थनगर रुपन्देहीको आयोजनामा बुटवलमा एक दिने उद्यम...
राहदानी लिन आउन कतारस्थित नेपाली दूतावासको आग्रह

राहदानी लिन आउन कतारस्थित नेपाली दूतावासको आग्रह

काठमाडौंकतार स्थित नेपाली राजदूतावासले राहदानी नवीकरणका लागी आवेदन दिएका सेवाग्राही मध्ये संलग्न सूचीमा नाम समावेश भएका आवेदक...
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई गरिदिन पत्राचार

गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई गरिदिन पत्राचार

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गणतन्त्र दिवस समारोहमा पनि सम्बोधन नगर्ने भएका छन् । यही जेठ १५ गते हुने गणतन्त...
साफ महिला च्याम्पियनसिप आजदेखि, नेपालले पहिलो खेल भुटानसँग खेल्दै

साफ महिला च्याम्पियनसिप आजदेखि, नेपालले पहिलो खेल भुटानसँग खेल्दै

काठमाडौँदक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने महिला च्याम्पियनसिप आजदेखि शुरु हुदैछ ।प्रतियोगिताको पहिलो खेलमा ...