निर्वाचनका लागि ४४ दिन बाँकी: प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारी आज


काठमाडौँ
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १सय६५ निर्वाचन क्षेत्रमा मंगलबार हुने मनोनयनका लागि सोमबार बेलुकीसम्म नेकपाले १सय६५, एमालेले १सय६३ र कांग्रेसले ५० उम्मेदवारको टुंगो लगाएका छन् ।

कांग्रेसमा शेरबहादुर देउवाले चुनाव नलड्ने घोषणा गरिसकेका छन् भने उनका पक्षधरका नेताहरु र शेखर कोइराला पक्षका उम्मेदवारसहित छनोट गर्नुपर्ने भएकाले ढिलाइ भएको हो, बाँकी उम्मेदवारको मंगलबार बिहानसम्म टुंगो लाग्ने नेताहरूको भनाइ छ । यस्तै रास्वपाले ९२ निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट गरेको छ । राप्रपाले नयाँ र पुराना अनुहारलाई मिलाएर टिकट वितरण गरेको छ ।

एमालेले दाङ–१ र काठमाडौं–४ बाहेक सबै क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको हो । यस पटक कांग्रेस र नेकपाले नयाँ र युवालाई प्राथमिकतामा राखेर टिकट वितरण गरेको जनाएका छन् । एमालेमा पनि यसअघि अवसर नपाएका धेरै नयाँ अनुहारलाई अघि सारिएको छ । यद्यपि फरक मत राख्नेलाई टिकटमा वञ्चित गरिएको भन्दै केही नेताले असन्तुष्टि जनाएका छन् ।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार देशभर एकैसाथ मनोनयन प्रक्रिया सुरु हुने भएपछि राजनीतिक दलका शीर्ष नेता तथा उम्मेदवार आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन् । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह पनि उम्मेदवारी दिन आइतबार काठमाडौंबाट जनकपुर हुँदै सोमबार राति झापा पुगेका छन् ।
नेकपा संयोजक पुष्पकमल दाहाल उम्मेदवारी दर्ता गर्न रुकुम पूर्व पुगेका छन् । ओली र शाहले एउटै निर्वाचन क्षेत्र झापा–५ बाट मनोनयन गर्दै छन् । झापा एमालेको परम्परागत बलियो आधार क्षेत्र मानिन्छ । पार्टीका स्थानीय नेता तथा कार्यकर्ता अध्यक्ष ओलीको मनोनयनलाई भव्य बनाउने तयारीमा जुटेका छन् । त्यसैगरी वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित रास्वपाले समेत शाहको उपस्थितिलाई विशेष बनाउने तयारी गरेको छ । झापा–५ मा हुन लागेको ओली र शाहबीचको चुनावी भिडन्तले देशकै ध्यान खिचेको छ ।
पार्टीभित्र विद्रोह गरेर नेतृत्वमा आएका कांग्रेस सभापति गगन थापाकै हस्ताक्षरबाट पूर्वसभापति शेरबहादुर देउवाले भने चुनाव नलड्ने घोषणा गरेका छन् । देउवाका प्रमुख सचिव भानु देउवाले सोमबार राती देउवा निर्वाचनमा उम्मेदवार नहुने जानकारी दिएका हुन् । ‘नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वार नहुने जानकारी गराउँछु’, उनले भनेका छन् ।

विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले वैधानिकता दिएको विरोधमा पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले आइतबार अदालतमा रिट दायर गरेपछि विवाद थप बढेको छ । देउवापक्षीय एक नेताका अनुसार सहमतिअनुसार टिकट वितरण गर्न अदालतमा दायर गरिएको रिट फिर्ता हुनुपर्ने सर्त सभापति थापा पक्षका नेताले अघि सारेका छन् । सबै कुरा मिलिसकेपछि त्यसमा नमिल्ने कुरै भएन भनेर संस्थापनपक्षीय नेताहरूले सहमतिमै टिकट वितरण हुनुपर्ने माग गरेका छन् ।

पूर्वकार्यवाहक सभापति खड्काले अदालतमा मुद्दा दायर गरेको कारण देखाएर नैतिकताका आधारमा चुनाव नलड्ने घोषणा गरेका छन् । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई वैधानिकता दिएको विरोधमा मुद्दा लड्ने र अर्कोतर्फ टिकटको भागबन्डामा सहभागी हुने काम भएकामा अन्य नेताहरूप्रति पूर्वकार्यवाहक सभापति खड्काले असन्तुष्टि जनाएका छन् ।

एक नेताका अनुसार खड्काले सुरुमा अदालतमा रिट लिएर जानुको साटो केन्द्रीय कार्यसमिति मर्ज गरेर टिकट वितरणमा सहमति खोज्ने दिशामा जानुपर्ने धारणा राखेका थिए । ‘तर केही पूर्वपदाधिकारीकै जोडबलमा मुद्दा मामिलामा जानुपरेको र अर्कोतर्फ टिकटमा भागबन्डा खोज्ने काम पनि उनै नेताहरूबाट भएको भन्दै खड्काले असन्तुष्टि जनाएका छन्,’ ती नेताले भने ।

देउवा पक्षबाट नेताद्वय बालकृष्ण खाण र रमेश लेखक, शेखर कोइराला पक्षबाट नेता मीनेन्द्र रिजाल, संस्थापन पक्षबाट प्रवक्ता देवराज चालिसे र केन्द्रीय सदस्य मधु आचार्य सोमबार बिहान वार्तामा सहभागी थिए । उनीहरूबीच औपचारिक रूपमा भागबन्डा गर्दा नराम्रो सन्देश जाने भएकाले २०७९ मा चुनाव जितेका केही अपवादबाहेकलाई प्राथमिकता दिने, मुद्दा मामिलामा परेका र विवादास्पदलाई नदिने, जनस्तरमा राम्रो छवि भएका, योग्य र क्षमतावान् व्यक्तिलाई उम्मेदवार बनाउने मापदण्ड बनाउने समझदारी भएको थियो ।

त्यसपछि संस्थापन पक्ष र शेखर कोइराला समूहबीच छलफल गरेर टिकट पाउनुपर्ने व्यक्तिको नामावलीसहित सूची संस्थापन पक्षलाई बुझाइएको थियो । सोमबारसम्ममा विजयकुमार गच्छेदार, ज्ञानेन्द्रबहादुर कार्की, शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशशरण महत, रमेश लेखक, एनपी साउद, गोविन्द पोखरेललगायतका देउवा तथा कोइरालापक्षीय नेताहरूले टिकट पाएका छन् ।
सहमतिमा टिकट वितरण गर्नुपर्ने भएपछि अघिल्लो दिन निर्णय भएका कतिपय हिमाली र उच्च पहाडी जिल्लाका टिकटमा समेत फेरबदल गर्नुपरेको थियो । हिमाली जिल्लाका कतिपय नेताले नाम नभरी सभापतिको हस्ताक्षर भएको टिकट मात्र लिएर गएका थिए ।

‘अन्तिम समयसम्म परिस्थिति के हुन्छ, कसलाई दिनुपर्ने हुन्छ भनेर खाली टिकट ल्याइएको हो,’ हिमाली जिल्लाका एक कांग्रेस नेताले भने । कांग्रेस महामन्त्री गुरुराज घिमिरेले रातभर छलफल गरेर मंगलबार बिहानसम्ममा सबै उम्मेदवारको टुंगो लगाइने बताए । उनका अनुसार हिमाली जिल्ला, उच्च पहाडी र टाढाका जिल्लालाई प्राथमिकतामा राखेर वितरण भएको छ । विशेष महाधिवेशनपछि चयन भएको सभापति थापाको नेतृत्वले यस पटक युवा र नयाँलाई प्राथमिकतामा राखेको छ ।

छुटाउनुभयो कि ?

अध्यादेश: राजनीतिक नियुक्ति खारेजीको बाटो खुल्यो

अध्यादेश: राजनीतिक नियुक्ति खारेजीको बाटो खुल्यो

काठमाडौँरामचन्द्र पौडेलले जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’सँगै विभिन्न सरका...
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौंनेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक स...
अस्पताललाई भरोसा र पुर्ण सेवा योग्य वनाउने योजना छ ,साथ दिनुहोस् : मेसु डा. गौतम

अस्पताललाई भरोसा र पुर्ण सेवा योग्य वनाउने योजना छ ,साथ दिनुहोस् : मेसु डा. गौतम

बुटवललुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विष्णु गौतमले अस्पताललाई सवै नागरिकले भरोसा गर्न सक्ने र...
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाण्डौ - आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सूचना तथा सञ्चार प्रविधिको विकास तथा ...