
काठमाडौं
२३ र २४ भदौको जेनजी आन्दोलनका कारण निजी क्षेत्रमा ठूलो क्षति भयो । केही उद्योग, व्यवसायमा भौतिक आक्रमण भयो । जसको क्षतिपूर्तिको दाबी बीमासहित अन्य माध्यमबाट भइरहेको छ ।
जेनजी आन्दोलनका बेला भौतिक र मानसिक रूपमा समेत आक्रमणमा परेको पर्यटन क्षेत्र भने अझै अन्योलमा छ । आन्दोलन लगत्तै नेपाललाई धेरै देशले घुमफिरका लागि खतराको सूचीमा राखेका थिए । सोहीकारण मुख्य सिजनमै सत्ता र सरकार परिवर्तन भएको एक महिना पूरा भइसकेको छ । तर, पर्यटन मन्त्रालयले अझै नेतृत्व पाएको छैन । अहिले यो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्कीसँगै छ ।
नेपाल पर्यटन बोर्ड सदस्य ऋषि भण्डारी यस्ता संकटको समयमा विगतका सरकारहरूले पर्यटन पुनरुत्थानमा केही चासो दिए पनि अहिलेको सरकारले पर्यटनलाई प्राथमिकतामा नराखेको बताउँछन् ।
पर्यटन बोर्डले तयार पारेको ‘टुरिज्म इन्साइट्स’ सार्वजनिक गर्न काठमाडौंमा आयोजित कार्यक्रममा सरोकारवालाले सरकारको यो बेवास्ता चिन्ताजनक रहेको बताए ।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)–नेपाल च्याप्टरका महासचिव समेत रहेका बोर्ड सदस्य नरेन्द्र भट्टले संकटका बेला दीर्घकालीन रणनीति निर्माण गरी पर्यटन क्षेत्रलाई कमजोर हुन नदिन पहल आवश्यक रहेको बताउँछन् ।
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी मुख्य नेतृत्व अभावमा नीतिगत निर्णय गर्न अप्ठेरो हुने बताउँछन् । बोर्डले आफ्नातर्फबाट रणनीति बनाउने काम गरिरहेको भन्दै यसमा मन्त्रालयमा नेतृत्व हुँदा समन्वयमा सहयोग पुग्ने उनको भनाइ छ ।
जेनजी आन्दोलनका बेला होटलहरू बढी लक्षित गरिए । बहुराष्ट्रिय चेन होटलहरू र आन्तरिक लगानीका होटलमा समेत आक्रमण भयो । होटल एसोसिएसन नेपाल (हान) ले गरेको प्रारम्भिक अध्ययनले होटल उद्योगमा मात्र २५ अर्ब रुपैयाँ हाराहारी क्षति भएको अनुमान छ ।
हान अध्यक्ष विनायक शाहले अहिले होटल क्षेत्र समस्यामा रहेको बताउँदै यसबाट बाहिर निस्कन सामूहिक प्रयासको आवश्यकता रहेको बताउँछन् ।
आन्दोलन र लगत्तै आएको भीषण वर्षा तथा बाढी पहिरोका कारण अहिले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नकारात्मक खबर फैलिएको छ । त्यसको नकारात्मक परिणाम पर्यटक आगमनमा स्पष्ट देखिन्छ । नेपालमा पदयात्रा प्रयोजनका लागि मुख्य पर्यटकीय सिजन सुरु भएको छ । तर, आगमन अघिल्लो वर्ष सन् २०२४ को तुलनामा घटेको देखिन्छ ।
पर्यटन बोर्डका अनुसार सेप्टेम्बर २०२५ मा ७८ हजार ७ सय ११ पर्यटकलाई मात्र नेपालले स्वागत गरेको छ । यो सन् २०२४ को यसै महिनाको तुलनामा १८.३ प्रतिशतको गिरावट हो । त्यस वर्ष सेप्टरम्बरमा ९६ हजार ३ सय २ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।
उता, पछिल्लो ९ महिना (जनवरी–सेप्टेम्बर) को तथ्यांक विश्लेषण गर्दा समेत पर्यटक आगमन खस्किएको देखिन्छ । सन् २०२५ को ९ महिनामा ८ लाख १५ हजार २ सय ७३ पर्यटक नेपाल भ्रमणमा आएका थिए । २०२४ को ९ महिनामा ८ लाख १६ हजार ६ सय ३३ पर्यटक नेपाल आएका थिए ।
वर्तमान सरकारले आफ्नो प्राथमिकता निर्वाचन रहेको स्पष्ट पारिसकेको छ । त्यसकारण पर्यटन सहित मन्त्रालय प्राथमिकतामा छैनन् । तर, यसले ठूलो रोजगारी र निजी लगानी रहेको पर्यटनमा भने अन्योल सिर्जना गरेको छ ।
पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा निजी क्षेत्रसँगको सहकार्यमा थप समन्वय आवश्यक रहेको बताउँछन् । साथै, सरोकारवालाले सरकारलाई पर्यटनको महत्त्वबारे थप प्रष्ट पार्नुपर्ने समेत उनको सुझाव छ ।
निजी क्षेत्रले भने नेपाललाई सुरक्षित गन्तव्यका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा प्रवद्र्धन गर्न, विदेशी इन्फ्लुएन्सर नेपालमा आमन्त्रण गर्न र सरकारसँग टास्कफोर्स गठन गरी संकट सामना गर्न सुझाव दिइरहेका छन् ।
पर्यटन बोर्डले विभिन्न सामाजिक सञ्जाल प्ल्याटफर्मबाट पर्यटकीय स्थल र चाडबाडको प्रत्यक्ष प्रसारण गर्दै आएको छ । बोर्डका सहप्रवक्ता सुधन सुवेदी नेपाल सुरक्षित छ भन्ने सन्देश स्वयं पर्यटककै मुखबाट प्रवाह होस् भन्ने उद्देश्यले यस्तो अभियान थालिएको बताउँछन् ।