
गुल्मी, धुर्कोट — धुर्कोट गाउँपालिका क्षेत्रको बर्बोट–काफलपानी–निन्दुला–किमुखर्क–वाग्ला जोड्ने महत्वपूर्ण ग्रामीण सडक खण्ड पहिरोका कारण केही समयका लागि पूर्ण रूपमा अवरुद्ध भएको थियो। निरन्तर वर्षाले विभिन्न स्थानमा ठूला पहिरो खस्दा आवागमन ठप्प भएको हो।
तर हाल स्थानीय तह, प्रहरी र सरोकारवाला निकायको सहकार्यमा पहिरो हटाइ पुनः सडक सञ्चालनमा ल्याइएको नगर प्रहरी प्रमुख भुवन बस्नेतले जानकारी दिनुभयो। उहाँका अनुसार पहिरो पन्छाउने कार्यमा सक्रिय सहभागिता जनाउने सबै पक्षलाई धन्यवाद व्यक्त गरिएको छ।
सडक सञ्चालनमा आएपछि स्थानीयवासीलाई आवतजावतमा सहजता मिलेको छ। प्रमुख बस्नेतले बर्खायाममा थप सतर्कता अपनाउन आग्रह गर्दै सडक प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गर्नुभएको छ।
उक्त सडक खण्डले धुर्कोट गाउँपालिकाका विभिन्न वडालाई आपसमा जोड्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसको पुनः सञ्चालनले सर्वसाधारणको दैनिक जीवनलाई सहज बनाएको छ।
