
बुटवल
चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिना (साउन–मंसिर) मा मात्रै कामको खोजीमा ३ लाख १७ हजार युवा विदेश गएका छन् । मंसिर महिनामा चालु आवमा सबैभन्दा धेरै ८४ हजार २२६ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
कार्तिकमा पनि ७० हजार ९९० र असोजमा ५३ हजार ५२५ जना कामको खोजीमा बिदेसिएका छन् । यसरी बिदेसिनेहरू स्वदेशमा रोजगारी नभएका मात्रै होइन, लामो समयदेखि व्यापार, व्यवसाय गरिरहेकाहरू पनि छन् । पछिल्ला दुई तीन वर्षको अवधिमा पसल बेचेर विदेश उड्नेहरू बढेको व्यवसायीहरू बताउँछन् ।प्रविधिको विकासले अन्य क्षेत्रका व्यवसायमा पनि ठुलो प्रभाव पारेको छ । सहजताले गर्दा घर वा कार्यालयमै बसेर अनलाइनमार्फत किनमेल गर्नेको सङ्ख्या पनि उत्तिकै छ ।
किनमेल मात्रै होइन, खानपानसमेत घर, कार्यालयमै मगाएर खाने चलन बढेको छ । यसले गर्दा परम्परागत रूपमा सटर भाडामा लिएर व्यवसाय गर्नेहरूलाई केही अप्ठ्यारो भएकै छ । मन्दी र प्रविधि दुवैको मारमा परेकाहरू पछिल्लो बिदेसिन थालेका छन् । पछिल्लो दुई वर्षमा व्यापार छोडेर विदेश जानेको सङ्ख्या ठुलो रहेको छ ।
पलायन भएका, भइरहेका र व्यापार गरिरहेका व्यवसायीहरूको भनाइ सरकारी तथ्यांकसँग पनि मेल खान्छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा गत वर्षको तुलनामा आयात जम्मा ३ प्रतिशतले बढी छ ।
केही वर्षअघिसम्म अघिल्लो वर्षको तुलनामा चालु वर्ष आयातको तथ्यांक कम्तीमा ६ प्रतिशतले बढी हुन्थ्यो । विभागका अनुसार यो आवको मंसिरसम्म ६ खर्ब ६१ अर्ब ४८ करोड ८६ लाख रुपैयाँको सामग्री आयात भएको छ । जबकि गत आव २०८०/८१ को यही अवधिमा ६ खर्ब ४२ अर्ब २० करोड ९० लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियो । बजार माग नभएकै कारण व्यवसायीको पलायन बढेको र मुख्य बजार तथा चोकमै सटरहरू खाली देखिन थालेका छन् ।
‘बैंकमा ६ खर्बभन्दा बढी पैसा हुँदा पनि लगानीकर्ताहरू नआउनु ठुलो निराशाको कारण हो । सरकारी खर्च हुन नसकेका कारण पनि निजी क्षेत्रको मनोबल कमजोर भएको छ।महँगी अकासिएको छ । सबै क्षेत्रमा छाएको निराशाले बजार चलायमान हुन सकेको छैन । आम्दानी नभएपछि उपभोक्ताले माग बढाउन सकेका छैनन् ।