
काठमाडौं
खगोलविद्हरूको एक टोलीले ‘लार्ज स्काई एरिया मल्टी-अब्जेक्ट फाइबर स्पेक्ट्रोस्कोपिक टेलिस्कोप’ (लामोस्ट) र ‘अपाचे पोइन्ट अब्जर्भेटरी ग्यालेक्टिक इभोल्युसन एक्सपेरिमेन्ट’ (अपोजी) बाट प्राप्त तथ्याङ्क अध्ययन गरी हालै एउटा रेड जायन्ट स्टारसँगै रहेको अदृश्य बाइनरी साथी पहिचान गरेका छन्।
उक्त साथी पिण्डलाई प्रत्यक्ष रूपमा दूरबिनबाट हेर्न नसकिए तापनि खगोलविद्हरूले रेड जायन्ट स्टारमा परेको त्यसको गुरुत्वाकर्षण प्रभाव भने स्पष्ट देख्न सक्छन्।
यो कुनै बिल्कुलै नौलो विषय भने होइन-गुरुत्वाकर्षण प्रभावका आधारमा अनुसन्धानकर्ताहरूले यस्ता अदृश्य साथी भएका बाइनरी प्रणालीहरू बारम्बार पत्ता लगाउने गर्छन्। यद्यपि, यो अदृश्य पिण्डको अनुमानित तौल र यस प्रणालीका अन्य विशेषताहरूले गर्दा यो केही अनौठो र अपवाद बन्न पुगेको छ।
‘साइन्स एड्भान्सेस’ पत्रिकामा प्रकाशित यस जोडीसम्बन्धी अनुसन्धानले यो अदृश्य साथी पिण्ड अत्यधिक भारी न्युट्रोन तारा हुनसक्ने सम्भावना औँल्याएको छ, जसले न्युट्रोन तारा कतिसम्म भारी हुन सक्छन् भन्ने हालसम्मको सीमालाई नै चुनौती दिइरहेको छ।